पूर्वाधार विकास कार्यक्रम अन्र्तगत ४ करोडको २९ योजना छनोट

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७७, बिहीबार १४:३४
Logo of trishuli prawaha

विदुर, नुवाकोट क्षेत्र नं.२ को लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत २९ वटा योजना छनोटमा परेका छन् । प्रतिनिधीसभा सदस्य नारायणप्रसाद खतिवडाको संयोजकत्वमा गत हप्ता सम्पन्न बैठकले सानाठूला गरी २९ वटा योजना छनोट गरेको छ । नेपाल सरकारले संघीय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रभित्र योजना सञ्चालन गर्नका लागि ४ करोड बजेट ब्यवस्थापन गरेको छ ।

       शिक्षा, स्वास्थ्य र पर्यटनलगायत क्षेत्र समेटिने गरी चार करोडको बजेटका लागि योजना छनोट गरिएको सांसद खतिवडाले बताए । उनकाअनुसार विदुर नगरपालिका वडा नं.-९ को जिल्ला अस्पताल त्रिशूलीका लागि कोभिड-१९ परीक्षण उपकरण खरिद तथा प्रयोगशाला स्थापनाका लागि ८७ लाख ४० हजार, विदुर वडा नं.-१ मा रहेको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय पूर्वाधार निर्माणका लागि १० लाख, विदुर नगरपालिका वडा नं.-४ मा रहेको जिल्ला खेलकुद मैदान बट्टारमा शौचालय निर्माणका लागि आठ लाख, विदुर नगरपालिका वडा नं.-४ मा कराँते भवन निर्माणका लागि १० लाख र विदुर नगरपालिका वडा नं.-१० मा रहेको गौंडा खानेपानी ब्यवस्थापनका लागि पाँच लाखको योजना छनोट गरिएको छ । त्यसैगरी, उक्त कोषबाट कालिखोला मुहान संरक्षणका लागि दुई लाख, विदुर वडा नं.–३ मा रहेको पोखरे फाँटमा सिंचाईका लागि पाँच लाख, विदुर वडा नं.-६ को चैनपुर सामुदायिक भवनको लागि आठ लाख, विदुर वडा नं.-५ को पिपलटार र विदुर वडा नं.-१३ को रिसङ्ग माने आम्थाङ माझगाउँका लागि फुटसल खेल प्रशिक्षणस्थल निर्माणको लागि पाँच÷पाँच लाखको योजना छनोट गरिएको छ । त्यसैगरी, विदुर वडा नं.–११ मा दुई लाख र वडा नं.८ मा पाँच लाख गरी कुल १० लाखको सामुदायिक भवन निर्माण योजना छनोट गरिएको सांसद खतिवडाले जानकारी दिए ।

      सांसद कोषबाट विदुर वडा नं.-४ मा कराँते भवन निर्माणका लागि १० लाख र अन्य वडामा सातवटा योजनाका लागि १ करोड ५८ लाख ४० हजार बजेट विनियोजन गरिएको छ । त्यसैगरी, बेलकोटगढी नगरपालिका वडा नं.-२ को बोक्से कात्तिके, विरेन्द्र मा.वि. सडक स्तरोन्नतीका लागि १० लाख, वडा नं.–६ मा बञ्चरे, कृष्णमन्दिर सडक र मालिका दियाले सडक स्तरोन्नतीका लागि १५ लाख, वडा नं.-११ मा अमारे, डेउडी र मजुवा सडक स्तरोन्नतीका लागि १० लाख, वडा नं.-८ र ९ मा जनसेवा बराबोट सडक स्तरोन्नती र साँधी खोला भट्टथोक खमारे सिंचाईका लागि १० लाख गरी बेलकोटगढी नगरपालिकामा ५५ लाख बजेट विनियोजन गरिएको छ । किस्पाङ गाउँपालिका वडा नं.-१ को गान्द्राङ सिंचाई र गाेंगा भञ्ज्याङ सोलार प्लान्ट निर्माणका लागि १० लाख, किस्पाङ वडा नं.–५ को सुकौरो खोलादेखि स्कुल हुँदै अँधेरीखोलासम्मको सिंढी बाटो र ठण्डा खानेपानीका लागि १० लाख, किस्पाङ-३ को घट्टेखोलादेखि डिस्युँखोला गोरेटो बाटो र किर्नेबगर आर्वा ग्रामिण सडक स्तरोन्नतीका लागि १० लाख, किस्पाङ–२ को ताजी सामुदायिक स्वास्थ्य भवन निर्माण्मस्थल जाने बाटो निर्माण र कोलथापे गोगने मोटरबाटो स्तरोन्नतीका लागि १५ लाख, किस्पाङ–५ को मनकामना स्वास्थ्यचौकी मानेगाउँ गोरेटोका लागि १० लाख गरी किस्पाङलाई ५५ लाखको योजना छनोट गरिएको छ ।

      उक्त कोषबाट म्यागङ गाउँपालिका वडा नं.-१ को आल्जङ खेलमैदान र आल्जाङ कौशिञ्चेत सडक निर्माणका लागि १० लाख, म्यागङ-२ को गर्वाङदेखि सरस्वती मा.वि.गोरेटो सिँढीका लागि पाँच लाख र धनसिंह प्रतिष्ठान पूर्वाधारका निर्माणका लागि १० लाख, म्यागङ-३ को दुर्सापाङ गोदोङ्ब्रो हुँदै तल्लो कुँवा जोड्ने सडक स्तरोन्नतीका लागि पाँच लाख र चिउरी भञ्ज्याङ लामडाँडा बाटोको लागि १० लाख, म्यागङ-४ को बलङ्ग्राङ टोल खेलमैदान र पार्चेतखोला सत्यदेवी सडक स्तरोन्नतीका लागि १० लाख, म्यागङ-६ को गुम्बाडाँडा गोरेटो निर्माण र कलेटी गोरेटो निर्माण र कलेटी गोरेटो मर्मतका लागि १० लाख र भैडेरी, मैवल र फलाटे खेलमैदान निर्माणका लागि १३ लाख, म्यागङ-५ को नागीनिस्थान खेलमैदान र पुरानो स्कुल टकसार मन्दिरका लागि १० लाख गरी म्यागङको लागि कुल ८३ लाखको योजना छनोट गरिएको छ । सांसद कोषबाट तारकेश्वर गाउँपालिका वडा नं.-४ को मुलबाटो विक टोल र सरस्वती मा.वि.ढोड सडक स्तरोन्नतीका लागि १० लाख, तारकेश्वर-२ र ३ मा तारूका खानेपानीका लागि १५ लाख, तारकेश्वर १, ५ र ६ मा फर्सिकोट चालिसे, सिरानटोल लर्केप मोटरबाटो स्तरोन्नती, भुँडीखोप खेलमैदान, फ्युचर क्लब र रातोडाँडा गुम्बाका लागि १८ लाख तथा प्रशासनिक खर्च जिल्ला समन्वय समितिका लागि ३ लाख ६० हजार गरी चार करोडको योजना छनोट गरिएको सांसद खतिवडाले जानकारी दिनुभएको छ ।