एकिकृत बस्तीको शिलान्यास

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७७, बिहीबार १४:३६
Logo of trishuli prawaha

विदुर, विदुर नगरपालिका वडा नम्बर-२ मा भारतीय राजदुताबासको सहयोगमा युनोप्स् परियोजनामार्फत भुमिहिन १४ परिवारको लागि एकिकृत बस्तीको शिलान्यास भएको छ ।

     जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले एकिकृत आबासको शिलान्यास गर्दै जिल्लाभित्र रहेका सबै भुमिहिनलाई सम्बोधन गर्दै जाने बताउनु भयो । विदुर नगरपालिका वडा नम्बर-१, २ र ९ का १४ परिवार भुमिहिनको लागि वडा नम्बर २ मा निजि आबास निर्माण शुरुवात भएको छ । नगरपालिका वडा नम्बर-२ मा निर्माण भईरहेको सम्पदा बस्तीकै मापदण्ड अनुरुप निजी आबास निर्माणको लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जग्गा खरिद गर्न रकम उपलब्ध गराएको हो । प्रति परिवार २ लाख रुपैयाँको दरले साँढे ३ रोपनी जग्गा खरिद गरी आबास निर्माण प्रक्रिया शुरु भएको छ । भारतीय दुताबासका काउन्सिलरको उपस्थिती रहेको आबास निर्माणको शिलान्यास कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले तोकिएकै समयमा निजी आबास निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न आग्रह गर्नुभयो । भुमिहिनलाई एकै स्थानमा राखेर उनीहरुको बाँकी आवश्यकतालाई स्थानीय तहले सम्बोधन गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनु भएको छ ।

      भूकम्प गएको लामो समयसम्म आबास बिहिन भएर बस्दै आएका नागरिकलाई दाताको खोजी गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकेको मापदण्ड अनुसारनै घर निर्माण गर्दे आएको छ । नगर क्षेत्रमा अझै धेरै जना भुमिहिन रहे तापनि लाभग्राहीको सूचिमा समावेंश भएको तर उनीहरुले आबास निर्माण गर्ने स्थान नभएकालाई पुनःनिर्माण प्राधिकरणमार्फत जग्गा खरिदको लागि थप २ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । प्राप्त रकमबाट नागरिकले जग्गा खरिद गरेपछि युनोप्स्को सामाजिक प्राविधिक सहयोग कार्यक्रम अन्तर्गत आबास निर्माण शुरु गरेको हो ।