नुवाकोट सरोकार समाजको समन्वय समिति गठन

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७७, बिहीबार १४:३९
Logo of trishuli prawaha

विदूर, नुवाकोट सरोकार समाजको विदुर नगर समन्वय समिति गठन भएको छ । नुवाकोटका पूराना वामपन्थी नेता एवं बुद्धिजीवी शिव मिश्रको अध्यक्षतामा भएको भेलाले शिक्षाविद् रामहरी रिमाल संयोजक र युवा सहकारीकर्मी एवं सामाजिक अभियन्ता रमेश श्रेष्ठ सचिव रहेको १९ सदस्यीय विदुर समन्वय समिति र शिव मिश्र, बिनोद श्रेष्ठ, कृष्णदाश श्रेष्ठसहितको ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

      समाजले गत स्थानीय निर्वाचनको दौरानमा नुवाकोटको ऐतिहासिक पक्षलाई उजागर गर्दै विकास समृद्धिका लागि राजनितिक एजेण्डा बोक्दै अगाडी बढेकोमा पछि प्रदेश तथा संघीय निर्वाचनपछि नुवाकोटलाई प्रदेश राजधानी बनाउनुपर्ने पक्षलाई तथ्यका आधारमा विचार विमर्श गर्दै वृत्तचित्र समेत निर्माण गरी प्रदेश तथा संघीय सांसद्लाई यो मुद्दामा सहभागी बनाउन सफल भएका थियो । वर्तमानमा पनि नुवाकोट जिल्लाका स्वास्थ्य, शिक्षा र पर्यावरणलगायतका सवाललाई मुद्दाका रुपमा सरोकार समाजले उठाई रहेको छ । नुवाकोट जिल्लाबाट काठमाडौँलगायत देश तथा विदेशका विभिन्न स्थानमा छरिएर विभिन्न पेशा ब्यवसायसँग आवद्ध तथा क्षेत्र र विषयगत दक्षता हासिल गरेका ब्यक्तिबीच आपसी हित, सहयोग, भातृत्व र मैत्रिपूर्ण भावनाको अभिवृद्धि गर्नुका साथै जिल्लाको पुर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकासप्रति सरोकार राख्दै साँस्कृतिक एवं प्राकृतिक स्रोतको संरक्षण सम्र्वद्धन र सुशासन कायम गरी विद्यमान राजनैतिक संकिर्णताबाट माथि उठेर ’हाम्रो नुवाकोट, राम्रो नुवाकोट’ को अभियानसहित सम्वृद्धि नुवाकोटको साझा लक्ष्य पूरा गर्ने उद्देश्यले समाज गठन भएको जानकारी नुवाकोट सरोकार समाजका अध्यक्ष रामशरण प्याकुरेलले दिनुभएको थियो । २०७२ को भूकम्पले नुवाकोटका अधिकांश साँस्कृतिक धरोहर ध्वस्त भए पश्चात् विदुर नगरपालिका अन्तर्गत नुवाकोट महामण्डलका केही जागरुक युवाको छलफल यस्ता धरोहरको कसरी छिटो भन्दा छिटो पुनः निर्माण गर्ने भन्ने उद्देश्यले अनौपचारिक मञ्चको रुपमा नुवाकोट सरोकार समाजको स्थापना भएको थियो ।

      समाजले आगामी दिनमा विभिन्न सरोकारका विषयमा वार्ता, सम्वाद र छलफलका माध्यमबाट सरोकारवाला निकायलाई गम्भीर र जिम्मेवारीबोधका लागि सहजीकरण गरेर नुवाकोटको एक बौद्धिक समाजको रुपमा स्थापित हुने सोच राखेको छ ।  बट्टारमा ४० जना भन्दा बढी विषयविज्ञ एवं विभिन्न क्षेत्रमा क्रियाशील अगुवाले आ-आफ्ना सुझाव तथा विचार ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा समाजका उपाध्यक्ष रामलाल श्रेष्ठले नुवाकोटको आर्थिक सम्पन्नता र सम्वृद्धिका लागि सर्वप्रथम पूर्वाधार विशेष गरी सडक÷बाटोको विकास हुनुपर्ने विचार ब्यक्त गर्दै नुवाकोट देशकै राजधानी काठमाडांैदेखि दुई घण्टाको दुरीमा रहेर पनि विकासमा पछि परेको विषयमा चिन्ता र चासो राख्नुभएको थियो । उहाँले विगतदेखि हालसम्म कुनै पनि संघ–संस्था÷मञ्च÷समाज गठन हुँदा कुनै न कुनै राजनैतिक दलको समुह विशेष वा वादबाट अलग रहन नसकेको परम्परालाई बदल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । विकासको कार्यमा राज्यकोषको लगानीमा ब्यक्तिगत र पार्टीगत जस लिन होडबाजी चल्ने गरेको र राजनैतिक संकिर्णता र आपसी प्रतिशोधका कारणले हुन सक्ने विकासका कार्य समेत पछाडी परिरहेकोले त्यस्ता पक्षलाई सम्बोधन गर्न समाज लागिरहने उहाँले बताउनु भयो । काठमाडौंमा बढ्दै गएको अत्याधिक जनघनत्वका कारण काठमाडौंका उद्योग कल-कारखानालाई नुवाकोट भित्र्याउन पहल गर्नुपर्ने धारणा उद्योगपति एवं सरोकार समाजका कार्यकारीणी सदस्य बिनोद श्रेष्ठले राख्नुहुँदै नयाँ काठमाडौं नुवाकोटमा भन्ने अभियान थाल्नुपर्ने तर्क पेश गर्नुभयो ।