सरकारविरुद्ध काङ्ग्रेसको विरोध प्रदर्शन

  • त्रिशूली प्रवाह
  • २ पुष २०७७, बिहीबार १४:५७

बट्टार,  नेकपा नेतृत्वमा रहेको केन्द्रीय सरकारको बेथितिलगायतको विरोधमा प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले मंगलबार नुवाकोटसहित देशभर नै शक्ति प्रदर्शन गरेको छ ।

      नेकपा सरकार बनेपछि काङ्ग्रेस नेतृत्वमा नुवाकोटमा ठूलो जनसभा मंगलबार भएको छ । बट्टारमा भएको काङ्ग्रेसको विरोध सभामा दुई हजारभन्दा बढी नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको थियो । अन्य जिल्लामा पनि उल्लेख सङ्ख्यामा कार्यकर्ता, समर्थक तथा शुभेच्छुक उतारेर शक्ति प्रदर्शन गरेको काङ्ग्रेसले नुवाकोटको १२वटै पालिकाबाट कार्यकर्ता उतारेको थियो । केन्द्रबाट नै पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई खटाएर विरोध प्रदर्शन गरेको काङ्ग्रेसलले नुवाकोटको लागि केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले सम्बोधन गरेका थिए । सो सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भण्डारीले कम्युनिस्ट नेतृत्वको सरकारले कोरोना रोगको महामारीको समयमा पनि भ्रष्टाचार गरेको आरोप लगाएका छन् । स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेर सरकारले त्यसपछि निरन्तर अत्याचार गरेको कारण सचेत गराउन शक्ति प्रदर्शन गर्न बाध्य भएको उनले बताएका थिए । सो कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले काङ्ग्रेसले आजसम्म रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आउनुलाई सरकारले कमजोरीको रूपमा लिएर जनइच्छाविपरीत काम नगर्न खबरदारी गरे ।

      नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीको सभापतित्वमा भएको कार्यक्रममा नुवाकोटका पूर्वसभापति धु्रव अधिकारी, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसी, काङ्ग्रेस जिल्ला उपसभापति लक्ष्मण थापा, काङ्ग्रेस जिल्ला सचिवद्वय सुरेन्द्रराज अधिकारी र शिव दाहाल, महासमिति सदस्य रमेशकुमार महत, महिला नेतृ बिन्दा अर्याललगायतले बोलेका थिए । सो कार्यक्रममा सभापति केसीले सरकारको जनविरोधी र सर्वसत्तावादी चरित्रको विरुद्धमा सडकमा उत्रिनुपरेको बताएका थिए । कोणसभा सुरु हुनुपूर्व विदुरबाट नेता-कार्यकर्ताको विरोध ¥याली बट्टारसम्म सरकारको विरुद्ध नारा जुलुस गर्दै पुगेको थियो । सहभागी भएका करिब दुई हजारले सरकारविरुद्ध नाराबाजी गरेका थिए । नेपाली काङ्ग्रेसले सर्वसत्तावाद, कुशासन, बेथिति, भ्रष्टाचार, दमन, कोरोना अव्यवस्था र अन्यायविरुद्ध शक्ति प्रदर्शनको रूपमा सबै जिल्लामा विरोध ¥यालीसहित कोणसभा गरेको संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठले बताइन् ।