शुभप्रभात सहकारीको सेयरपुँजी एक करोड ६७ लाख ९७ हजार

  • त्रिशूली प्रवाह
  • २ पुष २०७७, बिहीबार १५:०३
Logo of trishuli prawaha

विदुर, शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लि. विदुर नगरपालिका-२ इन्द्रचोक नुवाकोटको १३औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । दुई हजार पाँच सय सेयरपुँजीबाट ०५४ सालमा स्थापना भएको सहकारीको १३औँ वार्षिक साधारणसभासम्म आइपुग्दा एक करोड ६७ लाख ९७ हजार ६ सय सेयरपुँजी रहेको छ । सहकारीमा सात सय ६९ महिला र एक हजार दुई सय ७२ पुरुष गरी दुई हजार ४१ सेयर सदस्य रहेका छन् ।

      सहकारीका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार सहकारीले गत आ.व. ०७६/७७ मा १७ करोड ३३ लाख ५० हजार ६ सय ३४ बचत सङ्कलन गरेको थियो । सो वर्ष सहकारीले १४ करोड ६७ लाख ६४ हजार आठ सय ७४ कर्जा प्रवाह गरेर ६ करोड २५ लाख २५ हजार दुई सय ४८ ऋण असुली गरेको थियो । अध्यक्ष श्रेष्ठले आगामी दिनमा कर्जा असुलीलाई तीव्रता दिइने बताए । साधारणसभामा कोषाध्यक्ष रामराजा श्रेष्ठले आ.व. ०७६/७७ को लेखापरीक्षण प्रतिवेदन र आ.व. ०७७/०७८ को अनुमानित आय-व्यय विवरण र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारीले गत आ.व. मा सम्पूर्ण खर्च कटाई ३१ लाख ६८ हजार सात सय ९५ नाफा गरेको थियो । सहकारीले भवन निर्माण गर्न विदुर नगरपालिका-२ भुटोल बजारमा पाँच आना २ पैसा १ दाम क्षेत्रफल जग्गा खरदि गरेको छ । ०६९ साउनमा सहकारी विभागबाट स्वीकृत गराई जिल्लाभरि सहकारीको कार्य क्षेत्र कायम भएको छ । कोरोना जोखिमलाई मध्यनजर गरेर सहकारीले स्वास्थ्य मापदण्ड पालना गरेर भिडभाड नगरी सेयर सदस्यलाई आलोपालो प्रक्रियाबाट गत बिहीबारदेखि शनिबारसम्म साधारणसभा सम्पन्न गरेको सचिव श्यामनारायण डङ्गोलले जानकारी दिए ।