जिससको साढे एकानब्बे लाख फ्रिज

  • त्रिशूली प्रवाह
  • २ पुष २०७७, बिहीबार १५:२१
Logo of trishuli prawaha

विदुर,  जिल्ला समन्वय समिति नुवाकोटले गत आ.व. ०७६/७७ मा प्रदेश तथा स्थानीय सरकारबाट प्राप्त बजेट खर्च गर्न नसक्दा ९१ लाख ५५ हजार ६ सय ४२ रुपैयाँ फ्रिज भएको छ ।

      जिल्ला समन्वय समितिमा गत आ.व.मा स्थानीय निकाय निःसर्त चालू अनुदानमा विनियोजित एक करोड २३ लाख ४६ हजारमध्ये ८६ लाख ८३ हजार सात सय पाँच मात्र खर्च भएको थियो । उक्त शीर्षकमा आएको बजेट ३६ लाख ६२ हजार दुई सय ९४ फ्रिज भएको छ । बागमती प्रदेशबाट प्राप्त ५० लाखमध्ये समन्वयले चार लाख ९३ हजार तीन सय ८१ मात्र खर्च भएको थियो । उक्त शीर्षकको ४५ लाख ६ हजार ६ सय १९ रुपैयाँ गत आ.व.मा फ्रिज भएको छ । जिल्ला समन्वयलाई कार्य सञ्चालनको खातामा गत आ.व.मा प्राप्त १६ करोड ७४ लाख २९ हजार एक सय २९ बजेटमध्ये तीन करोड १२ लाख ४४ हजार आठ सय ४१ खर्च भई १३ करोड ६१ लाख ८४ हजार दुई सय ८८ कोषमा मौज्दात रहेको जानकारी कार्यालयले दिएको छ ।

      त्यसैगरी जिल्ला समन्वयलाई प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि १० लाख ८० हजारमध्ये दुई लाख ८९ हजार सात सय खर्च भई सात लाख ९० हजार तीन सय फ्रिज भएको थियो । समन्वयलाई स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा प्राप्त १० लाख ८० हजार बजेटमध्ये १० लाख १२ हजार तीन सय ७१ खर्च भई ६७ हजार ६ सय २९ फ्रिज भएको छ । समन्वयलाई गत आ.व.मा गरिबसँग विश्वेश्वर कार्यक्रममा दुई लाख ९९ हजार बजेटमध्ये एक लाख ७० हजार दुई सय मात्र खर्च गर्न सकेको थियो । उक्त कार्यक्रमको एक लाख २८ हजार बजेट फ्रिज भएको जानकारी जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले सभामा प्रस्तुत गरेका थिए ।

       जिल्ला समन्वय कार्यालयले गत आ.व.मा १४ लाख २३ हजार दुई सय १८ राजस्व सङ्कलन गर्न सफल भएको थियो । समन्वय समितिले गत हप्ता गरेको चौथो जिल्ला सभामा समन्वय प्रमुख तामाङले गत आ.व.को यथार्थ आय-व्यय विवरणमा उक्त बजेट रकम फ्रिज भएको सार्वजनिक गरेका हुन् । सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त बजेट प्राविधिक जनशक्तिको अभावमा खर्च गर्न नसक्दा फ्रिज भएको बताए ।