काफलगेडी सहकारीको बैसठ्ठी लाख ब्याज आम्दानी

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७७, बिहीबार १०:५९

कोलोनी, नुवाकोट जिल्लाको विदुर नगरपालिका-९ कोलोनीमा रहेको काफलगेडी बचत तथा ऋण सहकारी संस्था आ.व.०७६/७७ मा लगानीबाट ६२ लाख २४ हजार नौ सय ६८ ब्याज आम्दानी गर्न सफल भएको छ ।

     सहकारीले कोरोनाको महामारी रोकथाम र नियन्त्रणमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको आधारमा फरक-फरक मिति र स्थानमा कम सेयर सदस्यको उपस्थितिमा पुस ४ गते शनिबारदेखि पुस ११ शुक्रबारसम्म १३औँ साधारणसभा सञ्चालन गरिरहेको छ । साधारणसभाको पहिलो दिन सहकारीकोे भवन शिलान्यास भएको छ । गत आ.व.मा ३८ लाख ४८ हजारमा कार्यालय भवन निर्माण गर्न विनपा-९ डिहीबजारको मुख्य सडकमा जग्गा खरिद गरेको थियो । साधारणसभामा अध्यक्ष हरिकृष्ण श्रेष्ठले प्रस्तुत गरेको वित्तीय विवरणअनुसार आ.व. ०७६/७७ मा सहकारीले पाँच करोड १८ लाख सात सय ९९ निक्षेप सङ्कलन र गत आ.व. ०७५/७६ को बाँकी नगद ७७ लाख चार सय २० गरी नौ करोड २५ लाख २९ हजार निक्षेप कारोबार गर्दा पाँच करोड नौ लाख ११ हजार तीन सय पाँच रुपैयाँ बचत फिर्ता गरेको थियो । सहकारीले आ.व. ०७६÷७७ मा चार करोड १६ लाख ६६ हजार सात सय ९५ रुपैयाँ कुल बचत गर्न सफल भएको छ । सहकारीको कुल ऋण गत आ.व. मा ६ करोड ३५ लाख ७० हजार ७० रुपैयाँमध्ये दुई करोड ६ लाख १२ हजार ९४ रुपैयाँ ऋण असुली रहेको छ । सहकारीको सेयरपुँजी आ.व. ०७६/७७ मा एक करोड ४४ लाख ९७ हजार रुपैयाँ पुगेको छ । सहकारीले गत आ.व.मा संस्थाको विविध कारोबारबाट खुद ब्याज आम्दानी ७० लाख ९७ हजार आठ सय ४७ र ब्याज खर्च ३३ लाख ५५ हजार दुई सय ४८ रुपैयाँ भएको थियो । सहकारीले बैंक तथा वित्तीय संस्थाबाट चार लाख ९६ हजार सात सय ९० ब्याज आम्दानी तथा विविध शीर्षकबाट तीन लाख ७६ हजार ८९ र ऋण लगानीबाट ६२ लाख २४ हजार नौ सय ६८ गरी ७० लाख ९७ हजार आठ सय ४७ रुपैयाँ आम्दानी गरेको उपाध्यक्ष शिवराम श्रेष्ठले जानकारी दिए ।

      सहकारीको आम्दानीमध्येबाट बचतकर्तालाई ३३ लाख ५६ हजार दुई सय ४८ ब्याज भुक्तानी तथा कर्मचारी तलबमा १० लाख ८२ हजार पाँच सय ६८ र प्रशासनिक खर्चमा १९ लाख ८९ हजार ६ सय ७६ रुपैयाँ खर्च भएको छ । सहकारीमा ६ सय ५० पुरुष, चार सय महिला र १० वटा संस्था गरी एक हजार ६० सेयर सदस्य रहेका छन् । सहकारीले गत आ.व. मा ३८ लाख ४८ हजारमा कार्यालय भवन निर्माण गर्न विनपा-९ डिहीबजारको मुख्य सडकमा जग्गा खरिद गरी चालू आ.व. ०७७÷०७८ मा भवन निर्माण गर्न साधारणसभाले बजेट विनियोजन गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले आ.व. ०७७/७८ मा सेयर पुँजी दुई करोड पु¥याउने प्रस्ताव पारित गरेको छ ।