विनपाको सहयोगमा निर्मित कलेज भवन हस्तान्तरण

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७७, बिहीबार ११:१९

त्रिशूली, विदुर नगरपालिकाको सहयोगमा निर्माण भएको त्रिभुवन त्रिशूली बहुमुखी कलेज त्रिशूलीको भवन मङ्सिर २८ गते हस्तान्तरण भएको छ । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नवनिर्मित भवनको साँचो हस्तान्तरण गरेका थिए ।

     विदुर नगरपालिकाले बजेट व्यवस्थापन गरी त्रिशूली बसपार्कसँगै निर्माण भएको व्यावसायिक सटरसहितको कक्षाकोठा भवन नगर प्रमुख पण्डितले कलेजलाई प्रयोग गर्ने अधिकारसहित हस्तान्तरण गरे । भवनको साँचो हस्तान्तरण गर्ने क्रममा नगरप्रमुख पण्डितले जिल्लामा उच्च शिक्षाको विकासका लागि नगरपालिकाले क्रमिक रूपमा सहयोग गर्दै जाने र जिल्लाका कलेजहरूले गुणस्तर वृद्धिमा ध्यान दिई दक्ष जनशक्ति तयार गरी राष्ट्र निर्माणमा लाग्नुपर्ने कुरामा जोड दिए ।

      गत ०७२ सालको महाभूकम्पले कलेज भवन क्षतिग्रस्त भएको कारणले कलेजले कक्षाकोठा अभावको समस्या भोग्दै आइरहेको थियो । स्नातकोत्तर तहसम्म सञ्चालित कलेजमा उक्त भवन निर्माणपश्चात् कक्षाकोठाको समस्या हल भएको छ । कक्षाकोठा हस्तान्तरण कार्यक्रममा विदुर नगरपालिका-१ का अध्यक्ष लेनिन रञ्जितले शैक्षिक हवको रूपमा १ नं. वडालाई बनाउन त्रिशूली कलेजलाई सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । कलेज प्रमुख सुजित श्रेष्ठले कलेजको समग्र शैक्षिक अवस्था, भावी योजना तथा चुनौतीबारे जानकारी गराएका थिए । कलेजका अध्यक्ष शुभलाल श्रेष्ठले भवन निर्माणमा सहयोग गरेकोमा विनपालाई धन्यवाद दिँदै कलेजको सर्वाङ्गीण विकासका लागि सहयोगको दायरा बढाउनुपर्ने विचार व्यक्त गरे ।