गल्छी-त्रिशूली रुटको मनपरी भाडा

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७७, बिहीबार ११:२१
Logo of trishuli prawaha

विदुर, धादिङ जिल्लाको गल्छीदेखि नुवाकोटको त्रिशूली बसपार्क रुटमा मनलाग्दी भाडा लिने गरेको गुनासो यात्रुले गरेका छन् ।

     नुवाकोटको त्रिशूली-गल्छीको मात्र नभई जिल्लाभरि सार्वजनिक यातायात सञ्चालन हुने रुटमा मनलाग्दी भाडा असुल्ने क्रम रहेको छ । जिल्ला भाडादर निर्धारण समितिले व्यवसायीसँग छलफल गरेर तोकिएको भाडादर कार्यान्वयन नआएको गुनासो यात्रुले गरेका छन् । अन्य रुटमा भन्दा गल्छी-त्रिशूली रूटमा माइक्रोबस र मिनीबसले एक सय रुपैयाँसम्म भाडा लिने गरेको सामाजिक अभियन्ता रामहरि गजुरेलले बताए । पक्की सडक, त्यहाँमाथि पनि २५ किलोमिटर दूरीको एक सय भाडा असुल्ने क्रम विगत तीन वर्षदेखि अहिलेसम्म रहिरहेको उनले बताए । विगतमा प्रमुख जिल्ला अधिकारी एवम् भाडादर निर्धारण समितिका संयोजकको नेतृत्वमा भएको बैठकले मिनीबसको भाडा ६० देखि ६५ रुपैयाँसम्म र माइक्रोबसको भाडा ७५ देखि ८० रुपैयाँसम्म लिन सक्ने निर्णय गरेको छाङ्गेश्वरी यातायात प्रा.लि.का निर्देशक अशोक थापाले बताए । प्रहरी प्रशासनको अनुगमन नहुँदा मनलाग्दी भाडा लिनेको मनोबल बढेको उनको भनाइ छ ।

     सार्वजनिक यातायातको भाडादर कुन रुटमा कति हो यात्रुलाई जानकारी नहुँदा ठगिने गरेको सामाजिक कार्यकर्ता बद्री तिवारी बताउँछन् । जिल्लामा कोरोना सङ्क्रमण बढ्न थालेपछि सवारीसाधन सञ्चालनमा रोक लगाउँदा निजी सवारीसाधनले नियमविपरीत यात्रु बोक्ने गरिरहेकोसमेत जानकारी प्रहरी प्रशासनलाई हुँदा प्रशासन रमिते बनिरहेको उनले बताए । नियमानुसार निजी सवारीसाधनले यात्रु बोक्न पाइँदैन, तर नुवाकोटमा सार्वजनिक सवारीसाधनले भन्दा यात्रु बोक्नेमा निजी सवारीसाधन अगाडि रहेको गुनासो टिमुरे यातायात प्रालिका प्रकाश जोशीले त्रिशूली प्रवाह साप्ताहिकलाई गरे ।