आईसियु सेवा सञ्चालनको वर्ष दिनपछि उद्घाटन

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७७, बिहीबार १२:४५

कोलनी, त्रिशूली अस्पताल नुवाकोटमा सञ्चालन गरिएको सघन उपचार कक्ष अर्थात आईसियु सेवाको औपाचारिक रुपमा मंगलबार उद्घाटन गरिएको छ । गत वर्षको पुस १ गतेदेखि नै सेवा सञ्चालनमा ल्याएपनि आईसियुको औपाचारिक उद्घाटन भने बागमति प्रदेशका उपसभामुुख राधिका तामाङले मंगलबार गर्नुभएको हो ।

      अस्पतालको स्तरबृद्धि भएर ५० शैøया भएसँगै सेवा प्रवाहमा देखिएका अभाव पूरा गर्ने क्रममा कोरोना रोगको संक्रमण भएका बिरामीको उपचार गर्नको लागि संघ र प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको दश शैøयाको आईसियु सञ्चालन गर्दै उपसभामुख राधिका तामाङले तीनै तहका सरकारसँगको समन्वयमा अस्पतालले दिने सेवामा गुणस्तरीय बनाउन लाग्नुपर्ने सुझाव दिनुभयो । अस्पतालको लागि आवश्यक पर्ने सेवा तथा सुविधाको लागि नुवाकोटसहित रसुवा र धादिङका स्थानीततह, बागमती प्रदेश र संघीय सरकारको भूमिका उत्तिकै भएकाले प्रतिबद्धताअनुसार निरन्तर सहयोग कायम राख्न सबै पक्षलाई उहाँले आग्रह गरिन् । आईसीयूको लागि आवश्यक उपकरण जडानको काम सम्पन्न भएसँगै वाग्मती प्रदेश सरकारबाट प्राप्त दुई थान भेन्टिलेटरसहितको सेवा त्रिशूली अस्पतालमा सञ्चालनमा ल्याइएको छ । आईसियु चलाउनको लागि अस्पतालले यसअघि नै कर्मचारी भर्ना र तालीम दिईसकेको छ भने उपकरण जडानको काम पूरा भएसगैँ सेवा सञ्चालनमा ल्याईएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार दश शैøयाको आईसियु सेवा अन्तरगत अस्पतालले दुई वटा भेन्टिलेटरसहित तत्कालको लागि ६ बेडको आईसियु र चार बेडको एच.डी.यू. सेवा सुरु गरेको हो । अस्पतालले कोरोनाका गम्भीर बिरामीलाई पहिलो प्राथमिकतामा राखेर आईसियु सेवा सञ्चालनमा ल्याएकाले अन्य बिरामीको लागि समेत सेवा प्रवाहमा सहज हुने उद्घाटन कार्यक्रममा उपस्थित भएका बागमति प्रदेससभाका    सदस्यद्वय हिरानाथ खतिवडा, आशामाया तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाको नगर प्रमुख सञ्जु पण्डित, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललगायतका वक्ताले बताएका थिए ।

      त्रिशुली अस्पतालमा शुरु गरिएको आईसियु सेवालाई आगामी दिनमा गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाउने सकेमात्र बिरामीलाई काठमाडौं लैजानुपर्ने बाध्यता अन्त्य गर्न सकिने भएकाले अबको लक्ष्य त्यसतर्फ केन्द्रित रहने त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानले बताउनुभयो । उहाँको अनुसार भूकम्पले क्षति पुगेको त्रिशूली अस्पताल पुर्ननिर्माण पश्चात् हाल सुविधा सम्पन्न भवन, अत्याधुनिक उपकरण, विशेषज्ञ सेवा प्रवाहले नुवाकोटसहित रसुवा र धादिङको बिरामीको लागि सेवाको गुणस्तर सुधार हँुदै आएकाले यसलाई यही अबस्थामा सुधारसहित टिकाउनेका लागि चुनौती भएकाले सबै पक्षबाट सहयोगको आशा राखिएको छ । त्रिशूली अस्पतालमा कार्यरत चिकित्सक र नर्सको लागि निर्माण गर्न लागिएको आवास गृहको पनि मंगलबार नै शिलान्यास भएको छ । वागमती प्रदेससभाको उपसभामुख राधिका तामाङले २ करोड ४१ लाख रुपैयाँमा बनाउन लागिएको २० कोठाको दुई तले भवनको शिलान्यास गर्दै तोकिएको समय आगामी असार मसान्तभित्रै काम सम्पन्न गर्न निर्माण ब्यवसायीलाई निर्देशन दिनुभयो ।