मैलुङ–स्याफ्रुवेंशी सडक निर्माणले गति लियो

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७७, बिहीबार १३:०२

धुन्चे, चीनसँगको अन्तराष्ट्रिय ब्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ-स्याफ्रुवेंशी सडक बिस्तारको कामले गति लिएको छ । लकडाउनमा रोकिएको काम अहिले धमाधम भईरहेको छ ।

      मैलुङदेखि स्याफ्रुवेंशीसम्म १९ किलोमिटर सडक चौडा गर्ने कामले तिहारपछि तिव्रता पाएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेंशी-रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । यो सडक बिस्तारको काम गर्न भारत कन्स्ट्रक्सन र सिद्धिशाही जेभीले सम्झौता गरेर काम थालेको छ । साढे दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । अहिले करिव ६ देखि ९ मिटर चौडाई रहेको सडकलाई १२ मिटर चौडाईको बनाउने काम भईरहेको आयोजना प्रमुख भण्डारीले बताउनु भयो । अहिलेसम्म तीन किलोमिटर सडक बिस्तारको काम सम्पन्न भएको छ । यो सडक बिस्तारका लागि १ अर्ब ४५ करोड लाग्ने अनुमान छ । सडक बिस्तार अन्तर्गत अहिले नाला खन्ने, सडक चौडा गर्ने, रिटेनिङ वाल लगाउने काम भईरहेको छ । सडक सञ्चालन गरेर नै काम भइरहेको आयोजना प्रमुख भण्डारीले बताउनु भयो ।

      राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ-स्याफ्रुवेंशी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । रसुवागढी जोड्ने यो सडक बेत्रावती-कालिकास्थान-धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो हुनेछ । बेत्रावती-कालिकास्थान-धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ भने बेत्रावती-मैलुङ-स्याफ्रुवेंशीको दूरी २९ किलोमिटर मात्रै छ ।