‘गर्भवती आमासँग उपाध्यक्षको भेटघाट’

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १२:४४
Logo of trishuli prawaha

काहुले, नुवाकोटको किस्पाङ गाउँपालिकाले गर्भवती आमासँग उपाध्यक्षको भेटघाट कार्यक्रम सुरु गरेको छ ।

      गाउँपालिकाको वडा नम्बर-३ काहुले स्वास्थ्यचौकीमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका गर्भवतीलाई गाउँपालिकाका अध्यक्ष छत्र लामा र उपाध्यक्ष मायादेवी न्यौपानेले एक/एक क्रेट अन्डा प्रदान गरी गर्भवती आमासँग उपाध्यक्षको भेटघाट कार्यक्रमको सुरुवात गरेका थिए । गर्भवती आमासँग उपाध्यक्षको भेटघाट कार्यक्रमअन्तर्गत रहेर स्वास्थ्य संस्थामा गर्भ जाँच गराएबापत एक/एक क्रेट अन्डा र स्वास्थ्य संस्थामा सुत्केरी गराएको खण्डमा दुई क्रेट अन्डा, १ प्याकेट आयोडिन नुन र ज्वानो स्वास्थ्य संस्थाबाटै प्रदान गरिने गाउँपालिकाकी उपाध्यक्ष मायादेवी न्यौपानेले बताएकी छिन् ।

     उपाध्यक्ष न्यौपानेका अनुसार गर्भवतीको हातहातमा अन्डा र घरघरमा हरियो झन्डा भन्ने नारासहित कार्यक्रमलाई सञ्चालन गर्न लागिएको छ । सुरक्षित मातृशिशु पोषण वितरणअन्तर्गत रहेर सञ्चालित यस कार्यक्रमले गर्भवतीलाई नियमित गर्भ जाँच गराउन र स्वास्थ्य संस्थामा नै सुत्केरी गराउन प्रेरित गर्ने विश्वास लिइएको छ । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले तीन लाख रुपैयाँ बजेटसमेत विनियोजन गरिएको छ । गर्भवतीलाई स्थानीयस्तरमा नै उत्पादन भएको अन्डा उपलब्ध गराउने उपाध्यक्ष न्यौपानेले बताइन् ।