नेकपापछि जनता समाजवादी र काङ्ग्रेसमा विभाजनको प्रयास

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १२:४५
Logo of trishuli prawaha

सत्तारुढ नेकपा विभाजित भएको छ । अबको निर्वाचनमा काङ्ग्रेसले आफूले निर्वाचन जित्ने दाबीसहित सबै जिल्लामा प्रचारात्मक अभियान सुरु गरेको छ । यो प्रचार उसले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा प्रत्येक निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ । यसले सबै नेता तथा कार्यकर्तालाई काङ्ग्रेसले निर्वाचनमा केन्द्रित गरेको प्रस्ट भएको छ । पार्टी विभाजनपछि नेकपाको प्रचण्ड-माधव नेपाल समूहले बागमती प्रदेशबाहेक सबै प्रदेशमा जिल्ला सदरमुकाममा प्रदर्शन गरेको छ । केपी ओली र प्रचण्ड-माधव समूहका नेकपाले क्षेत्रमा गएर कार्यक्रम गर्न सकेका छैनन् ।

     काङ्ग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष निर्वाचनको तयारीमा छ भने रामचन्द्र पौडेल पक्ष प्रचण्ड–माधव पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने पक्षमा छ । वैशाखमा निर्वाचन भयो भने पार्टी सभापति बन्दिनँ भनेर पौडेल वैशाखमा कुनै पनि हालता आमनिर्वाचन गर्नुहुन्न भनेर अगाडि बढेका हुन् । तर, त्यसको काङ्ग्रेसभित्र चर्को विरोध भएको छ । यो विवाद बढ्दै जाने र वैशाखमा निर्वाचन हुने हो भने सभापति देउवाले आफ्नो पक्षका नेताहरूलाई निर्वाचन जित्ने क्षेत्रमा टिकट दिनेछन् भने पौडेल समूहलाई असहयोग हुने पक्का छ । यसले काङ्ग्रेसलाई दीर्घकालीन रूपमा विभाजनको दिशामा लैजाने देखिन्छ । काङ्गे्रसभित्रको विवाद नेकपाको भन्दा पनि बढी देखिँदै गएको छ । यद्यपि निर्वाचनअगाडि काङ्ग्रेस विभाजन हुने देखिँदैन ।

     वैशाखमा निर्वाचन भयो भने नेकपाको दुई समूहले एकले अर्कोलाई हराउने कोसिस गर्नेछ भने काङ्ग्रेसभित्र पनि देउवा र पौडेल पक्षले एकले अर्कोलाई हराउने प्रयास हुने भएको कारण निर्वाचन यी तीन दलका लागि सहज छैन । तसर्थ कुनै पनि दलले बहुमत ल्याउँछ भन्न सकिने अवस्था छैन । नेकपा विभाजन भइसकेको छ भने काङ्ग्रेस विभाजित तर एउटै पार्टीमा आबद्ध छन् । एउटै पार्टी भए पनि काङ्ग्रेसभित्रको रडाको हेर्दा दुई पार्टी जस्तो छ । तर, नेकपाको विभाजनको असर काङ्ग्रेसमा भन्दा पनि जनता समाजवादी पार्टीमा चाँडै पर्ने देखिन्छ । जनता समाजवादी पार्टी एकताको प्रक्रियामा नजाँदै विभाजनमा जाने पक्काजस्तै भएको छ । केपी ओलीले पार्टी विभाजन गराउन थालेको भनेर मधेसवादीले जनता समाजवादी पार्टी बनाए पनि यो पार्टीको केन्द्रमा एकता प्रक्रिया पूरा नहुँदै टुक्रिने भएको छ ।

     स्रोतका अनुसार जनता समाजवादीमा तीन धार देखिएको छ । उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले प्रचण्ड-माधव नेपाल समूहलाई साथ दिने र उनीहरूसँग मिलेर निर्वाचनमा जाने तयारी गरेका छन् । महन्थ ठाकुरले नेपाली काङ्ग्रेसतर्फ झुकाव देखाएका छन् भने राजेन्द्र महतोहरू केपी ओली समूहतर्फ नजिक भएका छन् । पछिल्लो समयमा ओली र महतोबीच धेरै विषयमा कुरा मिलेको स्रोतको दाबी छ । निर्वाचन भएमा ओली, महतो र देउवा समूहले घोषित वा अघोषित रूपमा तालमेल गर्ने देखिन्छ । जनता समाजवादी भने तालमेलमा जानेभन्दा पनि विभाजनमा जाने देखिएको छ । अहिलेसम्म उक्त पार्टीमा एकताको प्रक्रिया निर्वाचन आयोगमा पनि पूरा भएको छैन । ओली सरकारले अध्यादेश ल्यायो भनेर एकाएक एकताको घोषणा गरे पनि त्यो हतारमा गरिएको कारण एकताको मूर्तरूप देखिने सम्भावना छैन । उक्त पार्टी तत्काल विभाजन भएमा आश्चर्य नमाने हुने नेताहरूले बताउन थालेका छन् ।