महासङ्घद्वारा क्रियाशील पत्रकारलाई सम्मान र कदरपत्र

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १३:१७

विदुर, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा नुवाकोटकोे १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पत्रकार महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पत्रकार महासङ्घ नुवाकोटले विगतदेखि नै सुरु गरेको सम्मानले निरन्तरता पाएको छ ।

       कार्यक्रममा महासचिव विष्टले तीन पुस्तासम्म एउटै संस्थामा रहेर काम गर्ने वातावरण पत्रकार महासङ्घ मात्रै रहेको बताए । अघिल्लो पुस्ताले गरेका अनुकरणीय कार्यलाई अनुशरण गर्ने र उनीहरूलाई सम्मान गर्दै अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका सचिव रामप्रसाद दाहालले वर्तमान राजनीतिक अन्योलले पत्रकार जगत्मा असर पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरे । संसद् विघटन भएसँगै प्रधानमन्त्रीले अध्यादेशमार्फत पत्रकारिता क्षेत्रमा अङ्कुश लगाउन सक्ने अध्यादेश ल्याउन सक्ने भन्दै सबै सजग रहनुपर्ने बताए । पत्रकार महासङ्घ नुवाकोटका सभापति कपिलदेव खनालको अध्यक्षतामा भएको कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले स्थानीय तहले गरेका कामको मनिटर गर्ने काम पत्रकारिता क्षेत्रको रहेको बताए । समुदायमा हुने विकास निर्माण, नीति निर्माणको तहमा हुने कामको विषयमा सञ्चार क्षेत्रले सुसूचित पार्नुपर्ने उल्लेख गरे ।

      कार्यक्रममा नेकपा बागमती प्रदेश सदस्य सुभद्रा नेपालले पत्रकार महासंघको उद्देश्य प्राप्तिका लागि सबै एकजुट हुनुपर्ने बताइन् । उनले नजिकिँदो महासङ्घको निर्वाचन लक्षितभन्दा पनि संस्थागत उद्देश्य प्राप्तिका लागि नीति, निर्माण तथा कार्यक्रम निर्माणमा जोड दिइन् । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पत्रकार समाजको ऐना भएकोले पत्रकार संयमित भएर खोज, अनुसन्धान र विश्लेषण गर्न सक्षम हुनुपर्ने बताए । उनले सरकारी कार्यालयले गरेका राम्रा-नराम्रा कार्यको यथार्थ विवरण सार्वजनिक गर्न पत्रकारको सक्रियता हुनुपर्नेमा जोड दिए । पत्रकार महासङ्घ जिल्ला शाखा नुवाकोटको आगामी फागुन ३ गते अधिवेशन तोकिएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत देशैभर एकपटक निर्वाचन हुने भएकाले अहिले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सो कार्यक्रममा दीर्घसेवा सम्मान-२०७७ बाट त्रिशूली प्रवाह साप्ताहिकका प्रकाशक/सम्पादक शरण उत्सुक सापकोटा, स्वर्गीय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार-२०७७ बाट अर्थपथ डटकमका सम्पादक विष्णु तारुके, स्वर्गीय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार-२०७७ बाट सगरमाथा पोस्ट डटकमका सम्पादक रविनप्रसाद थपलिया र महिला पत्रकारिता पुरस्कार-२०७७ बाट बिबिसी नेपाली सेवाकी शक्तिमाया तामाङ सम्मानित भएका छन् ।

      पत्रकार महासङ्घ नुवाकोटले ०७५ सालबाट नुवाकोटमा क्रियाशील पत्रकारलाई नगदसहित सम्मान र कदरपत्र प्रदान गर्दै आएको छ । तीनवटै पुरस्कारको राशि ११ हजार एक सय ११ रुपैयाँ रहेको छ । स्वर्गीय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारको राशि सौजन्य डबलीखबर डटकमले, स्वर्गीय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारको राशि सौजन्य नुवाकोट जेसिजले र महिला पत्रकारिता पुरस्कार त्रिशूली प्रवाह साप्ताहिकले सौजन्य गर्दै आएको छ । पत्रकार महासङ्घ नुवाकोटले विश्व महामारी नोबेल कोरोना भाइरसका कारण भएको बन्दाबन्दीको समय र त्यसपछि पनि नागरिकको स्वास्थ्य सुरक्षाका लागि निरन्तर सुसूचित गर्ने आठजना पत्रकार र सञ्चारगृहलाई कदरपत्र प्रदान गरेको छ । महासङ्घले कोभिड-१९ विरुद्धको अभियानमा खटिने नुवाकोट पुकार साप्ताहिकका सम्पादक सुकदेव दाहाल, राससका समाचारदाता जमुना गजुरेल, नुवाकोट एफएमका स्टेसन म्यानेजर श्रीराम अधिकारी, डबलीखबर डटकमका सम्पादक सुनिल श्रेष्ठ, गोरखापत्र दैनिकका समाचारदाता रामहरि गजुरेल, रेडियो नेपालका संवाददाता भोलाराज पौडेल र एभिन्युज टिभीका संवाददाता श्रीराम नेपाललाई कोभिड-१९ सम्मान गरिएको छ ।

     त्यसैगरी, सो कार्यक्रममा महासङ्घले कोभिड-१९ का कारण बन्दाबन्दीको समयमा निरन्तर सञ्चालनमा रहेका सञ्चारगृह रेडियो त्रिशूली, रेडियो जालपा, मिक्स एफएम, रेडियो चिम्टेश्वर, रेडियो सञ्जीवनी, गज्जबको रेडियो, त्रिशूली खबर साप्ताहिक, नुवाकोट एक्सप्रेस डटकम र विदुर खबरडटकमलाई पनि सम्मान गरेको छ ।