प्रतिनिधिसभा विघटनविरुद्ध नुवाकोट काङ्ग्रेसको प्रदर्शन

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १३:२०

विदुर, सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले नुवाकोटको सदरमुकाम विदुर र लिखु गाउँपालिकाको चौघडामा सभा गरेर विरोध जनाएको छ । कार्यक्रममा सरकारको कदमविरुद्ध प्रदर्शन र चर्का नारा मात्र नभई प्रधानमन्त्री ओलीविरुद्ध अश्लील नारा पनि लगाइएको थियो । मुलुकभर सरकारको कदम उल्ट्याउन दबाब दिँदै न्यायालयभन्दा एक कदम अगाडि बढेर लोकतान्त्रिक पार्टी ठान्ने काङ्ग्रेस पनि सडकमा आएको छ ।

      विदुरमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले सडकबाटै काङ्ग्रेसले मुलुकलाई राजनीतिक निकास दिने बताए । संवैधानिक व्यवस्थाविपरीत संसद् विघटनविरुद्ध काङ्ग्रेसले नुवाकोटमा सोमबार आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक ‘कु’ नसचिन्जेल काङ्ग्रेस सडक-सङ्घर्षमा उत्रिरहने बताए । सो कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले सम्बोधन गर्दै ओली सरकारको असंवैधानिक कदम उल्ट्याउन दबाब दिने कार्यक्रममा नेता–कार्यकर्तालाई सक्रिय रूपमा सहभागी जनाउन निर्देशन दिए । सर्वोच्चले निर्वाचनमा जाने निर्णय गरेपछि पनि निर्वाचनको सुनिश्चितताका लागि सडक-सङ्घर्ष गरिरहनुपर्ने उनको भनाइ थियो ।

      चौघडामा क्षेत्रीय सभापति धु्रव श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य डा. रामशरण महतले सम्बोधन गर्दै अधिनायकवादी ओली नेतृत्वको सरकारले सर्वोच्चको फैसलाले पनि निर्वाचनमा जाने सङ्केत नदेखिएकाले लोकतन्त्रको रक्षाका लागि सङ्घर्ष जारी राख्नुपर्ने उल्लेख गरे । विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य महतले मुलुकमा भएका सबै राजनीतिक परिवर्तनको नेतृत्व नेपाली काङ्ग्रेसले गर्दै आएको इतिहास रहेको बताए । राष्ट्रियता मजबुत, लोकतन्त्र जोगाउन र संविधानको संरक्षणको जिम्मेवारी अहिले काङ्ग्रेसको काँधमा आएको उनले भनाइ थियो । काङ्ग्रेस जनमानसबाट नै हुर्किएर आएकाले निर्वाचनको विषय लिएर कत्ति पनि नहडबडाएको बताउँदै नागरिकको जनमत कदर गर्न नसक्ने नेकपाले निर्वाचनको विषयलाई सार्थकता दिन उनले चुनौती दिए ।

      उक्त विरोध कार्यक्रममा केन्द्रीय सदस्य रञ्जित कर्णले अहिले आएको मुलुकको सङ्कट सुरुवात मात्रै भएको बताए । संसद् र संविधानको मर्मविपरीत चल्न सुरु भएको नेकपाले ठूला-ठूला समस्या निम्त्याउने बताउँदै त्यसको समाधानका लागि काङ्ग्रेस नै चाहिने उल्लेख गरे । मुलुकमा विद्यमान अवस्था निम्तिनुमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पनि दोषी रहेको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति धु्रव श्रेष्ठले बताए । केपी ओलीलाई अधिनायकवादी बनाउनुमा दाहाल-नेपाल दुवैको भूमिका महत्वपूर्ण रहेको बताउँदै संसद्मा ल्याएको विधेयकमा दाहाल-नेपालले सघाएकै कारण मुलुक अधिनायकवादतर्फ लागेको नेपाली काङ्ग्रेस नुवाकोटका प्रवक्ता राजु थापाले बताए ।आइतबार साँझ नेपाल विद्यार्थी सङ्घ नुवाकोटले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको थियो । नेपाली काङ्ग्रेस केन्द्रीय समितिद्वारा घोषित विरोध कार्यक्रमअन्तर्गत सोमबारको क्षेत्रीय कार्यसमितिको कार्यक्रमको पूर्वसन्ध्यामा नेपाल विद्यार्थी सङ्घले विदुरमा मसाल जुलुससहित प्रधानमन्त्रीको पुत्ला दोहन गरेको थियो । बट्टार क्याम्पसबाट मसाल जुलुससहित निस्केका विद्यार्थीको मसाल जुलुस बट्टार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रहरीको बाक्लो उपस्थितिबीच पनि प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्ला जलाउन सफल भएका थिए ।