झिल्टुङ क्रसकन्ट्री दौड माघमा प्रथमलाई पन्ध्र हजार नगद

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १५:४३
Logo of trishuli prawaha

बेलकोटगढी, बेलकोटगढी नगरपालिकाको आयोजना र एथलेटिक्स संघको प्राविधिक सहयोगमा पाँचौं संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड आगामी माघ १० गते हुने भएको छ । आयोजक बेलकोटगढी नगरपालिकाले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दौडको जानकारी दिएको हो ।

      काठमाडौं जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा सञ्चालन हुने क्रस कन्ट्री दौड १३ दशमलव ४ किमिको हुनेछ । यसमा ४ दशमलव ५ किमि उकालो, दुई किमि समथर र बाँकी ओरालो रहने छ । प्रतियोगितामा छात्र-छात्राको रन फर फन ४ दशमलव ५ किमि र स्थानीय आमा समूहको समेत छुट्टै दौड समावेंश गरिएको दौडका संयोजक मोहन नेपालले जानकारी दिए । स्थानीयस्तरबाटै एथलेटिक्स खेलाडी उत्पादन र झिल्टुङलाई खेलकुदको माध्यमबाट चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको संयोजक नेपालले बताए । क्रस कन्ट्री दौडको पुरूष र महिलातर्फको विजेताले १५ हजार, दोस्रो हुनेले १० र तेस्रो हुनेले पाँच हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी अघिल्लो संस्करणको समय ब्रेक गरेर नयाँ किर्तीमान बनाउने खेलाडीलाई थप पाँच हजार रूपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिएको छ ।

      छात्र र छात्रातर्फ विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः पाँच, तीन र दुई हजार रूपैयाँ प्राप्त गर्नेछन् । आमा समुहमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, ६ हजार र ४ हजार रूपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । क्रस कन्ट्री रेस कोल्पुटारबाट शुरू भई बेलिनी, छाप, राजओडर, खड्काछाप, सालचौर हुँदै पुनः कोल्पुटार आएर सकिने छ । च्याम्पियनसिपको पहिलो संस्करणमा पुरूषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सन्तोषी श्रेष्ठ, दोस्रो संस्करणमा भूमिराज राई र महिलामा कान्छीमाया कोजु, तेस्रोमा किरणसिंह बोगटी र पुष्पा भण्डारी र चौथोंमा कास राई र प्रिया राई कोजु च्याम्पियन बनेर पुरस्कृत भएका थिए ।