भूकम्पपछि तेह्र सरकारी कार्यालयको भवन पुर्ननिर्माण

  • त्रिशूली प्रवाह
  • २३ पुष २०७७, बिहीबार १४:४२

विदुर, २०७२ सालको भूकम्पले भत्किएका नुवाकोटका १३ वटा सरकारी कार्यालयको भवन पुनःनिर्माण भएको छ ।

      जिल्ला आयोजना कार्यान्वयन इकाई नुवाकोटमा अख्तियारी प्राप्त भएको १४ वटा सरकारी कार्यालयको पुर्ननिर्माण सकिएको हो । आयोजना कार्यान्वयन इकाई नुवाकोटमार्फत, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत कृषि, पशु, शहरी विकास तथा भवन निर्माण शाखा, शिक्षा कार्यालयलगायत १३ वटा भवनको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पका कारण भत्किएको जिल्लाका सरकारी कार्यालयको पुर्ननिर्माण सम्पन्न भएसँगै सेवा प्रवाहमा सहजता भएको छ । सबै कार्यालयको भवन सुविधा सम्पन्न र भवन संहिताअनुसार निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाईमार्फत नुवाकोटका १३ वटा सरकारी भवन निर्माणको लागि मात्रै बजेट आएको थियो । त्यससँगै नुवाकोटको २ वटा स्वास्थ्य संस्थाको पुर्ननिर्माण सम्पन्न भएको छ । राउतवेंशी स्वास्थ्यचौकी र दुईपिपल स्वास्थ्यचौकीको भवन पुनःनिर्माण सकिएको आयोजना प्रमुख लिला खतिवडाले बताउनु भयो ।

      यस आर्थिक वर्ष २०७७/०७८ मा ३७ वटा स्वास्थ्य संस्थाको भवन पुर्ननिर्माण हुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका अनुसार ९ वटा स्वास्थ्य संस्थाको बोलपत्र मुल्याङ्कनको चरणमा पुगेको छ । यस्तै, १० वटा स्वास्थ्य संस्थाको बोलपत्र आह्वान भईसकेको छ । केही समयभित्र बोलपत्रको मुल्याङ्कन गरी ठेक्का सम्झौता गर्ने जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । यसै आर्थिक वर्षमा नै बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गर्नको लागि १८ वटा स्वास्थ्य संस्थाको लागत अनुमान गरी स्विकृतिको लागि पठाएको आयोजनाले जनाएको छ ।

     नुवाकोटमा निर्माण हुने सबै स्वास्थ्य संस्था नेपाल सरकार र भारत सरकारको संयुक्त लगानीमा निर्माण हुनेछन् । हाल बोलपत्र आह्वान गरी मुल्याङ्कनको चारणमा रहेका ९ वटा स्वास्थ्य संस्था भने नेपाल सरकारकै लगानीमा निर्माण हुनेछ । सबै स्वास्थ्य संस्थाको पुनःनिर्माणका लागि लगानीको सुनिश्चितता भएपछि मात्रै जिल्ला आयोजना कार्यान्वयन इकाईले बोलपत्र आह्वान गर्नेछ । केही स-साना स्वास्थ्य संस्था भने स्थानीयतहले नै निर्माण गरिसकेका छन् । विदुर नगरपालिकाभित्र रहेका शहरी स्वास्थ्य क्लिनिक, उपस्वास्थ्यचौकीको पुनःनिर्माणको लागि स्थानीयतहले बजेट विनियोजन गरी निर्माण गरिरहेका छन् ।