नेकपाकोे विदुर नगरस्तरीय कार्यकर्ता भेला

विदुर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विदुर सङ्गठन कमिटीको आयोजनामा गत शनिबार नगरस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

       नेकपा ओली समूहनिकट नेता-कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पार्टी एकताविरुद्ध गएर पार्टीलाई कमजोर गर्नेलाई कार्यकर्ताले स्वीकार नगर्ने बताए । ०७५ साल जेठ २५ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि जनताको समस्या समाधान होला भन्ने अपेक्षामाथि तुषारापात भएको उनको भनाइ छ । तीन वर्ष नबित्दै पार्टी एकतालाई कमजोर गर्न पार्टीभित्रैबाट हमला सुरु भएको मन्त्री ढकालले बताए । उनले आफू पार्टी एकताको पक्षमा खडा भएको भन्दै पार्टीलाई कमजोर बनाउनेको पक्षमा नलाग्न जिल्लाका नेता-कार्यकर्तालाई अनुरोध गरे । मन्त्री ढकालले पुष्पकमल दाहाल प्रचण्डको हठका कारण विगतको चुनावमा एउटै चुनाव चिह्न सूर्य नभएको कारण तत्कालीन एमाले र माओवादी केन्द्रबीचको गठबन्धनलाई दुईतिहाइ नआएको चर्चा गर्दै ६४ प्रतिशतको समर्थनमा बनेको सरकारलाई पार्टीभित्रैबाट विभिन्न खालको षड्यन्त्र गरेर काम गर्न बाधा पु¥याइरहेको बताए ।

      पार्टी एकताको बाँकी रहेको काम टुङ्ग्याएर छिटो महाधिवेशनको तयारीमा लाग्नुको साटो प्रचण्ड पूर्वएमालेको अन्तरविरोधमा खेलेर पार्टी सत्ता कब्जा गर्न खोजेकाले पार्टीमा समस्या आएको बताए । उनले पार्टीको अन्तरिम विधानविपरीत प्रथम अध्यक्षमाथि दोस्रो अध्यक्षले सङ्गीन अभियोगसहितको आरोपपत्र तयार गरी एकल रूपमा प्रतिवेदन तयार गरी ऐतिहासिक पार्टी एकतालाई भाँड्न खोजेको बताए । पार्टी एकताका लागि दुई अध्यक्ष मिल्न र समस्या समाधानको खोजी गर्न धेरै पहल गरे पनि बेवास्ता हुुनु दुःखद भएको उनको भनाइ छ । नेकपा विदुर नगर कमिटीका सदस्य नवीन प्रधानको अध्यक्षतामा सम्पन्न भेलाले नगरपालिकाका वडामा रहेका सबै नेतृत्वको सहभागितामा वडास्तरीय बैठक बसी अगुवा भेलाको सूचना व्यवस्थित गर्न पनि निर्देशन दिएको छ । भेलालाई सम्बोधन गर्न वक्ताहरूको व्यवस्था मिलाउन इन्चार्जमार्फत जिल्ला कमिटी र केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय पनि भेलाले गरेको नेता अरुण श्रेष्ठले जानकारी दिए । तीन सयभन्दा बढी अगुवा कार्यकर्ता सहभागी भएको भेलालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य केशवराज पाण्डे, केन्द्रीय सदस्यहरू रामशरण प्याकुरेल, ठाकुर गजुरेल, बिन्दा ढुङ्गानालगायतका वक्ताले पार्टीलाई एकताबद्ध बनाइराख्नका लागि अगुवा कार्यकर्ता भेलाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।