बेलकोटगढी नगरपालिकाको केन्द्र पुग्ने सडक निर्माण तीव्र
बेलकोटगढी, स्थानीय पुनर्संरचनाअनुसार नुवाकोटको साबिक ६ वटा गाउँ विकास समिति समेटेर बनेको बेलकोटगढी नगरपालिका भौतिक पूर्वाधार निर्माणमा धेरै पछि रहेको छ ।
स्थानीय तहको निर्वाचनपछि आएका जनप्रतिनिधिले नगरपालिकाको केन्द्र बाघाखोरदेखि १३ वटै वडामा सडक सञ्जाल निर्माणमा केन्द्रित भएको कारण सडक निर्माणले तीव्रता पाइरहेको छ । नगरपालिकामा राजमार्गको भागबाहेक कालोपत्रे सडक छैन । गत वर्षदेखि नगरपालिकाले सडक निर्माणलाई तीव्रता दिएपछि हिउँदमा नगरपालिका केन्द्रदेखि १३ वटै वडामा सडक सञ्चालन हुन सक्ने अवस्थालाई राखेर योजनाबद्ध ढङ्गले काम गरेकोले यसै आर्थिक वर्षको अन्तिमसम्म हिउँद बर्खा नै सडक १३ वटै वडामा सञ्चालन हुने गरी निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । निरञ्जना–बाघाखोर सडक स्तरोन्नति तथा कालोपत्रे निर्माण काम बागमती प्रदेश सरकारको सहयोगमा सुरु भइरहेको छ । २२ करोड ४१ लाख ७३ हजार ८० रुपैयाँ भ्याटसहित महालक्ष्मी–अमृत–जलुकेनी जेभी बालाजुले २०७९ असारसम्म निर्माण पूरा गर्ने सम्झौता गरेर निर्माणकार्यलाई तीव्रता दिइरहेको छ । काशीटार, हर्रे, बाघाखोर जोड्दै झ्याङ्ली पोखरी–लक्ष्मीश्वरी हुँदै धादिङको धार्के जोड्ने लोकसञ्चार मार्गले समेत बेलकोटगढी नगरपालिका केन्द्रदेखि वडासम्म सडक सञ्जालले जोड्ने छ । यो मार्गको निर्माणकार्य यस वर्ष बाघाखोरसम्म पक्की सडक बनाउने गरी काम गरिरहेको छ । कोरोनाको सङ्क्रमणलाई समेत पर्वाह नगरी स्वास्थ्य मापदण्ड र सुरक्षा अपनाएर निर्माण तीव्र रूपमा भइरहेको छ । १३ वटै वडा र नगरपालिका केन्द्रसम्म सवारीसाधनको आवत–जावतलाई सहज गर्न, पक्की सडक सञ्जालले जोड्ने कार्य तीव्र गतिमा अगाडि बढाइएको मेयर राजेन्द्ररमण खनालले बताए ।
नगरपालिकाको केन्द्रदेखि १३ वटै वडा कार्यालयसम्म पक्की सडक सञ्जाल निर्माणपछि भौतिक–आर्थिक विकासको आधार तयार हुने मेयर खनालले बताए । सडक विस्तार भएसँगै स्थानीयवासीको जीवनस्तरमा परिवर्तन देखिन थालेकोसमेत उनको भनाइ छ । ‘हाम्रो सडक राम्रो सडक’ अभियानमार्फत नगर क्षेत्रभित्रका सडक फराकिलो गरी स्तरोन्नति क्रमशः गर्दै लैजानेसमेत मेयर खनालले बताए । पूर्वाधारलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले आठवटा वडा कार्यालय भवन निर्माण गरी कार्यालय सञ्चालन र पाँचवटा वडाको भवन निर्माणको टेन्डर प्रक्रिया अगााडि बढाइरहेको छ । नगरपालिकाको उत्तरी र पूर्वी भूभागलाई पासाङल्हामु राजमार्गले र दक्षिण भेग गल्छी–त्रिशूली–रसुवागढी सडकले जोडेको छ । नगरपालिकाको क्षेत्रफलको तुलनामा सडक सञ्जाल निकै कम रहेको छ । नगरपालिकामा रहेका सडक धेरैजसो सुुक्खा मौसममा मात्र सञ्चालन हुने अवस्थालाई नगरपालिकाले यसै आवको अन्त्यसम्म परिवर्तन गर्दै छ ।