नेकपाका नेता कार्यकर्ता खोज्दै गाउँगाउँ र टोलटोलमा भेला
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर केन्द्र, प्रदेश र जिल्ला हुँदै वडा तहसम्म पुगेको छ । केन्द्रीयस्तरका नेताहरू एकले अर्कोलाई खुइल्याउन प्रतिस्पर्धामा उत्रेका छन् । विरोध गर्नकै लागि नेताहरू समूहमा विभाजन भएर सभा सम्मेलन गर्ने प्रतिस्पर्धा चलिरहेको छ ।
कानुनी रूपमा आधिकारिक विभाजन भइनसके पनि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहमा केन्द्रीय, प्रदेश र जिल्लाका नेता विभाजित भई पार्टीको आधिकारिकताको लडाइँमा होमिएका छन् । दुवै समूहबीच आफ्नो पक्षमा कार्यकर्ता तान्ने अभियान तीव्र रूपमा चलिरहेको छ । दुवै समूहले आफ्नै पकड भएको दाबी गरिरहेका छन् । पार्टीको माथिल्लो तहमा पुगेका नेताहरू समूहमा खुले पनि तल्लो तहका नेता–कार्यकर्ता भने निर्वाचन आयोगबाट पार्टी आधिकारिकता पर्खिरहेका छन् ।
नुवाकोटका समुदायस्तरमा प्रभाव राख्ने नेकपाका नेता–कार्यकर्ताको ठूलो हिस्सा जता सूर्य चिह्न उतै समर्थन गर्ने मानसिकताका साथ पर्ख र हेरको अवस्थामा देखिएको छ । जिल्लाबाट पार्टीको माथिल्लो पदमा रहेकाले भने कित्ता क्लियर गरिसकेका छन् । नुवाकोटबाट विघटित प्रतिनिधिसभा सदस्यमा पुगेका हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडाले दाहाल–नेपाल समूहमा लागेर प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा नेतृत्वदायी भूमिका दिइरहेका छन् । नुवाकोटको चारवटा प्रदेश सभाका प्रदेश सदस्यमध्ये केशव पाण्डे र बद्री मैनाली प्रधानमन्त्री केपी शर्मा ओली समूहमा छन् भने नेकपा नुवाकोटको पार्टी अध्यक्षसमेत रहेका प्रदेश सभाका सदस्य हीरानाथ खतिवडा, बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ, प्रदेश सभा समानुपातिकतर्फकी सदस्य आशामाया तामाङ दाहाल–नेपाल समूहमा खुलेर लागेका छन् । उनीहरू प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा होमिएका छन् ।
केन्द्रीयस्तरका नेता, सङ्घीय प्रदेश सभाको सदस्यले कित्ता क्लियर गरिसकेको भए पनि जिल्ला कमिटी, पालिकास्तरका धेरैजसो नेता–कार्यकर्ताको ठूला हिस्सा सक्रिय रूपले कतैतिर पनि खुलेको छैन । दुवै समूहको कुरा सुनेर हो मा हो गर्दै स्यानीय नेता–कार्यकर्ता अलमलमा परेका छन् । दुवै समूहले नेता–कार्यकर्ता आफ्नो समूहमा रहेको दाबी गर्दै गाउँटोलमा सङ्गठन विस्तारमा लागेका छन् । जिल्लाका अधिकांश नेता–कार्यकर्ता पार्टी एकता हुनुपर्छ भन्नेमै देखिएका छन् । पार्टी एकता भएन भने जुन समूहले आधिकारिकता पाउँछ त्यसपछि खुल्ने मनस्थिति बनाएर दुवै समूहको कार्यक्रममा उपस्थिति हुन अनकनाइरहेका छन् । जिल्ला कमिटीको अध्यक्ष हीरानाथ खतिवडा, सचिव नारायणप्रसाद खतिवडासहित जिल्ला कमिटीको ठूलो हिस्सा दाहाल–नेपाल समूह लागेर केपी ओलीविरुद्धको आन्दोलनलाई सशक्त बनाउन गाउँगाउँमा नेता–कार्यकर्ता खोज्दै सङ्गठन विस्तारमा कार्यक्रम तालिका बनाएर दैनिक आन्दोलन गरिरहेका छन् । ओली समूहले पार्टीको आधिकारिकता आफ्नो हो भन्दै १२ वटै पालिकामा कार्यक्रम सञ्चालन गर्दै नेता–कार्यकर्तालाई प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन बाध्य रहेको पुष्टि गर्न लागिपरेका छन् । ओली समूहको केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना, रामशरण प्याकुरेल, बागमती प्रदेश सभाका मुख्य सचेतक केशव पाण्डेलगायतले गाउँगाउँमा पूर्वएमालेका नेता–कार्यकर्तासँग भेटघाटलाई तीव्रता दिँदै नुवाकोटमा आफ्नो वर्चश्व कायम गर्न लागिपरेको छ । ओली समूहमा प्रत्यक्ष रूपमा नेतृत्व तहमा कम नेता देखिए पनि पूर्वएमालेको ठूलो समूहको साथ र सहयोग रहेकाले हौसिएको देखिन्छ ।
साबिकको एमालेबाट निर्वाचित विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गीताकुमारी दाहालसहित सातजना वडाध्यक्षमध्ये ६ जना अध्यक्ष दाहाल–नेपाल समूहमा खुलेर लागेका छन् । बेलकोटगढी नगरपालिकामा पूर्वएमालेबाट विजयी मेयर राजेन्द्ररमण खनाल र १० वटा वडामध्ये आठवटा वडाका वडाध्यक्ष केपी ओली समूहमा खुलेर लागेका छन् । उपमेयर साबिक माओवादीको केन्द्रबाट विजयी भएकीले उनले दाहाल–नेपाल समूहको नेतृत्व गर्ने बताएकी छिन् । साबिक माओवादी केन्द्रबाट निर्वाचित पञ्चकन्या, ककनी र साबिक एमालेबाट निर्वाचित तारकेश्वर गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायत बहुमत जनप्रतिनिधि दाहाल–नेपाल समूहमा खुलेका छन् ।
गत पुस ५ गते प्रतिनिधिसभा विगटन भएसँगै नेकपाको विवाद निर्वाचन आयोगमा पुगेको छ । आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन दोस्रोपटक माग गरेर गत बिहीबार पत्रचार गरेको छ । पार्टी एकतापछि सुतेको नेपाल कम्युनिस्ट पार्टी नेकपा पुस ५ गतेपछि दुई समूहमा विभाजित भएको छ । पार्टी एकतापछि सुतेको नेपाल कम्युनिस्ट पार्टी दुई समूहमा विभाजनपछि नुवाकोटमा जुटेको छ । पार्टी एकता भएको लामो समयसम्म निष्क्रियजस्तै बनेको नेकपा दुई समूहमा विभाजन भएपछि आ–आफ्नो पक्षलाई बलियो बनाउन र देखाउन सङ्गठन निर्माणदेखि भेला, आमसभामा जुटेका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच ०७५ जेठ ३ गते एकता भएको थियो ।
दाहाल–नेपाल समूह नुवाकोटमा सङ्गठन निर्माणमा अघि देखिएको छ भने उसको पछिपछि ओली समूह, पूर्वएमाले र अवसरविहीन पूर्वमाओवादी केन्द्रका नेता–कार्यकर्तालाई सङ्गठित गर्दै बलियो बन्ने अभियानमा लागिरहेको छ । संसद् विघटनलाई प्रतिगमनको संज्ञा दिएको दाहाल–नेपाल समूहले विरोध प्रदर्शन, पुत्लादहन, मसाल जुलुस, ज्ञापनपत्र बुझाउनेदेखि सङ्घर्षका कार्यक्रम लगेर गाउँगाउँसम्म पुगेको छ । ओली समूहले पनि जिल्ला कमिटी, पालिकास्तरीय कमिटी गठन गरी जिल्ला र पालिकास्तरीय कार्यक्रम, जनसभा र वडास्तरमा भेला र सङ्गठन निर्माणको तयारीमा लागेको छ ।