सहुलियतपूर्ण कर्जा लगानीका लागि नुवाकोट उद्योग वाणिज्य सङ्घ, बेलकोटगढी नगरपालिका, सानिमा बैंक र ज्योति विकास बैंकबीच सम्झौता

बाघखोर –  नेपाल राष्ट्र बैंकद्वारा जारी सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ (तेस्रो संशोधन २०७७) बमोजिम नुवाकोटको बेलकोटगढी नगरपालिका क्षेत्रका उद्यमी–व्यवसायीका लागि उद्यमशील कर्जा लगानी गर्न सानिमा बैंक र ज्योति विकास बैंकले गत बिहीबार सम्झौता गरेका छन् ।

बेलकोटगढी नगरपालिकाको सिफारिसमा उद्यमी–व्यवसायीका लागि उद्यमशील कर्जा लगानी गर्न बेलकोटगढी नगरपालिका, सानिमा बैंक बाघखोर शाखा, ज्योति विकास बैंक रातमाटे शाखा र नुवाकोट उद्योग वाणिज्य सङ्घबीच त्रिपक्षीय सम्झौता भएको छ । उद्यमी–व्यवसायीका लागि उद्यमशील कर्जा बेलकोटगढी नगरपालिकाको सिफारिसमा लगानी गर्ने तथा बैंकद्वारा लगानी गरिएका उद्यमीलाई बेलकोटगढी नगरपालिका र नुवाकोट उद्योग वाणिज्य सङ्घले प्राविधिक सहयोग गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ । नगरपालिकाको बैठककक्ष बाघखोरमा सम्पन्न कार्यक्रममा नगरपालिकाको तर्फबाट मेयर राजेन्द्ररमण खनाल, नुवाकोट उद्योग वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष ताराबहादुर कार्की र बैंकहरूको तर्फबाट सानिमा बैंकबाट विदुर शाखा प्रबन्धक मधुप्रकाश खतिवडा र ज्योति विकास बैंकको तर्फबाट वरिष्ठ अधिकृत राकेश डङ्गोलले हस्ताक्षर गरेका थिए । सम्झौताको समयावधि नेपाल राष्ट्र बैंकबाट व्याज अनुदान कार्यविधिले तोकेबमोजिम रहने बताइएको छ ।

नगरपालिकाका योजना सल्लाहकार कमल खनालले सञ्चालन गरेको कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटाले सम्झौताको अक्षरशः कार्यान्वयनमा जोड दिँदै व्यवसायीले निरन्तर रूपमा यसको फाइदा लिन सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । हस्ताक्षर गरेका नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले आगामी दिनमा बेलकोटगढी नगरपालिका क्षेत्रको आर्थिक विकासका लागि सङ्घले निरन्तर सहयोग गर्ने तथा सम्भाव्यता हेरी लगानीकर्ता भित्र्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सम्झौताका सर्तमा सङ्घ प्रतिबद्ध भएर पूरा गर्न लाग्ने बताए । सङ्घका नियमित कार्यक्रममा नगरपालिकाबाट भएको सहयोगको प्रसंशा गर्दै आगामी दिनमा सङ्घको क्षमता विकासमा सहयोगको अपेक्षा रहेकोसमेत बताए ।

सो अवसरमा सानिमा बैंकको तर्फबाट हस्ताक्षरकर्ता शाखा प्रबन्धक खतिवडाले बैंकले सम्झौताका सर्त पालनामा प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा विगतमा जस्तै यस क्षेत्रको निजी क्षेत्रको विकासमा सक्दो सहयोग तथा लगानी गर्ने बताए । विगतमा समेत सहुलियत दरकोे कर्जा प्रवाह भइरहेको अवस्थामा नगरपालिकाको र उद्योग वाणिज्य सङ्घको सिफारिसमा आगामी दिनमा पनि यसलाई तीव्रता दिने जानकारी गराए । यसैगरी ज्योति विकास बैंकको तर्फबाट हस्ताक्षरकर्ता वरिष्ठ अधिकृत राकेश डङ्गोलले सम्झौताको कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गर्दै विगतमा समेत रातमाटे शाखाबाट सहुलियत दरको १५ जना उद्यमीलाई कर्जा प्रवाह भइसकेको जानकारी गराए । रातमाटे शाखाको अलावा अन्य शाखाले समेत यस्तो कर्जा प्रवाह गरिरहेकाले यस सम्झौताले उद्यमशील कर्जा लगानीलाई थप व्यवस्थित गरी लक्षित वर्गसम्म पु¥याउन सहयोग पुग्ने अपेक्षा गरे ।

सो कार्यक्रममा नगरप्रमुख राजेन्द्ररमण खनालले नगरपालिकाको आर्थिक विकासमा यो सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । सम्झौताका सर्तहरूको पालनामा नगरपालिका प्रतिबद्ध रहेको जानकारी गराउँदै पाउनुपर्ने व्यवसायीले यो कर्जा प्राप्त गर्नका लागि नगरपालिकाद्वारा सहजीकरण गरिने र त्यसका लागि वडाध्यक्षको समेत भूमिका महत्वपूर्ण रहेको बताए । सरोकारवाला निकायको समेत सहयोगमा नगरपालिका निजी क्षेत्रको विकासमा लागिपरेको बताउँदै उद्यमशीलता विकासबिना नगरपालिकाको आर्थिक समृद्धि सम्भव नभएको कारण त्यसका लागि नगरपालिकाले उचित स्रोत व्यवस्थापन गरी प्राथमिकताका साथ विकास गर्ने योजना रहेको जानकारी गराए । नगरपालिकाको आर्थिक विकासमा पूर्णिमा कार्यक्रमसहित अन्य विकास कार्यक्रमले समेत सहयोग गरेको चर्चा गर्दै नगरपालिकाको विकासमा सबै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने भएकोले आवश्यक सहयोग तथा सुझाबका लागि आग्रहसमेत गरेका थिए । बेलकोटगढी नगरपालिका क्षेत्र नुवाकोट जिल्लाको ग्रामीण तथा दुर्गम क्षेत्र भए तापनि सम्भावनाको हिसाबले लगानीयोग्य क्षेत्र भएकाले बैंकको लगानी नडुब्नेसमेत मेयर खनालले बताए ।
नुवाकोट जिल्लामा यसअघि सहुलियत कर्जाका लागि विदुर नगरपालिका र नेपाल बैंक लि., तादी गाउँपालिका र कृषि विकास बैंक, दुप्चेश्वर गाउँपालिका र एभरेष्ट बैंकबीचमा सम्झौता भएर व्यवसायीद्वारा सहुलियतपूर्ण कर्जा प्राप्त गर्न थालिसकेको अवस्था छ । यस्तो ऋण प्राप्त गर्न व्यवसाय दर्ता गरी स्थायी लेखा नम्बर प्राप्त उद्योगी–व्यवसायी हुनैपर्छ भने ऋणको प्रकृति हेरी बैंकले अन्य कागजात माग गर्ने गर्दछ । सहुलियतपूर्ण कर्जाको भुक्तानी अवधि पाँच वर्षको हुने गर्दछ भने मासिक रूपमा आम्दानी गरी कर्जाको किस्ता बुझाउनुपर्ने बैंकले जानकारी गराउने गरेका छन् । सहुलियतपूर्ण कर्जाका कारण सम्भावना तथा जाँगर भएर पनि बेरोजगार भएका युवाले अधिकतम् फाइदा प्राप्त गर्न सक्ने देखिएको छ । साहुबाट ऋण लिँदा चर्को ब्याज तिर्नुपर्ने र व्यवसायको कमाइले कर्जा चुक्ता गर्न नसकेको कारण धेरै मानिस व्यवसायी बन्न नसकिरहेको अवस्थामा यस्ता किसिमका कर्जाद्वारा सम्भवाना भएका क्षेत्रमा स्रोतको उपयोग तथा स्वरोजगारी बढ्दै गएको पाइएको छ । यो कर्जामा ब्याज तीन प्रतिशत हुने भएकाले नवउद्यमीको आकर्षणसमेत भएको पाइएको छ । यस्तो किसिमको कर्जा प्रवाहले स्वरोजगारी वृद्धि हुने तथा ग्रामीण अर्थतन्त्रसमेत विकास हुने अवस्था सिर्जना हुनेछ ।

व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा पाँच करोड रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म, विदेशबाट फर्किएका युवा स्वरोजगार कर्जा दश लाख रुपैयाँसम्म, महिला उद्यमशील कर्जा पन्ध्र लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा दश लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक कर्जा पाँच लाख रुपैयाँसम्म र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा तीन लाख रुपैयाँसम्म लिन सकिन्छ । यसैगरी, व्यवसायीले तीनदेखि ४ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ भने पाँचदेखि ६ प्रतिशतसम्म ब्याज नेपाल सरकारले तिरिदिने व्यवस्था रहेको छ । हाल नेपालका वाणिज्य बैंकको ब्याजदर ८ देखि १० प्रतिशतको बीचमा रहेको छ ।

नयाँ उद्यमीका लागि सहुलियतपूर्ण कर्जा बैंकद्वारा प्रवाह गर्ने, नगरपालिकाले त्यस्तो कर्जाको उपयोगको अनुगमन गर्ने तथा सहयोग सहजीकरण गर्ने, ऋण लिएको व्यवसायीको वृत्ति–विकासका लागि नगरपालिकाले नीतिगत तथा भौतिक सहयोगका कार्य गर्ने, ऋण प्राप्त गरेका व्यवसायीको हकमा नुवाकोट उद्योग वाणिज्य सङ्घद्वारा व्यावसायिक क्षमता विकासका तालिम प्रदान, क्षमता अभिवृद्धिलगायत आवश्यकताअनुसार प्राविधिक सहयोग गर्ने, ऋण जोखिममा परेमा ऋण चुक्ता गर्नका लागि बैंकलाई नगरपालिकाद्वारा आवश्यक समन्वय तथा सहयोग गर्ने र ऋण लिने व्यवसायको निरन्तरताका लागि नगरपालिकाद्वारा साझेदार संस्थाको समन्वय तथा आन्तरिक स्रोतको उपयोग गरी आवश्यक सहयोग गर्ने सम्झौताका मुख्य सर्तहरू रहेका छन् ।