काङ्ग्रेसको नुवाकोटभर विरोध प्रदर्शन

देवीघाट – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले शनिबार प्रतिनिधिसभा विघटनविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध काङ्ग्रेसले शनिबार दोस्रो चरणको आन्दोलनअन्तर्गत सात सय ५३ स्थानीय तहमा प्रदर्शनसहित विरोध सभा गरेको हो ।

       काङ्ग्रेसले माघ ८ गते हिजो बुधबार ६ हजार सात सय ४३ वडामा विरोध प्रदर्शन गरेको छ । नुवाकोटको पनि ८८ वटै वडामा प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध विरोध कार्यक्रम गरेर कार्यकर्ता र जनतालाई आन्दोलनमा उतारेको छ । काङ्ग्रेस केन्द्रीय समितिले नै सबै केन्द्रीय नेताहरूलाई आ–आफ्नो वडामा गएर विरोधको कार्यक्रम गर्न निर्देशन दिएको छ । यसअघि काङ्ग्रेसले दोस्रो चरणको आन्दोलनअन्तर्गत गत पुस २५ गते तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । यस्तै, पहिलो चरणअन्तर्गत गत पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो ।

        नेपाली काङ्ग्रेस नुवाकोटले पनि केन्द्रीय कार्यालयको निर्देशनअनुसार नुवाकोटको १२ वटै पालिकामा प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध विरोध सभा गरेको थियो । शनिबार विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाले आयोजना गरेको संयुक्त विरोध कार्यक्रमलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सम्बोधन गर्दै नेपाली काङ्ग्रेस कम्युनिस्ट सरकारसँग टाँसिएर विसङ्गति र विकृतिको चाङमा भाग लिन नजाने बताएका थिए । नेता केसीले जनताले पाँच वर्षका लागि कम्युनिस्ट सरकारलाई दिएको मतको संरक्षण नगरी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्रलाई लुटतन्त्रमा परिणत गरेको प्रस्ट्याएका थिए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानसभाले जन्माएको संविधानलाई समेत निरर्थक बनाउने गरी संविधान र विधिको शासनमाथि आक्रमण गरी सिङ्गो मुलुकलाई फेरि संविधानको चीरहरण तथा राजनीतिक सङ्कटबाट गुज्रिन विवश बनाएको आरोप लगाए । नेता केसीले प्रधानमन्त्री ओलीले गरेको संविधानमाथिको आक्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी मूकदर्शक रहेको आरोप लगाए । नेता केसीले निरङ्कुशता र सर्वसत्तावादको बाटोमा हिँडेको कम्युनिस्ट नेतृत्वको सरकार संविधान, संसद्, संसदीय व्यवस्थालगायत सबैलाई बाधक मानेर तिनको तेजोबध गर्न उद्यत् रहेकोले अहिलेको राजनीतिक सङ्कटबाट मुक्त बनाउन नेपाली काङ्ग्रेस लाग्ने बताए ।

       सो विरोध कार्यक्रमलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वअर्थमन्त्री रामशरण महतले समेत सम्बोधन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध काङ्ग्रेसले चरणबद्ध रूपमा देशव्यापी प्रदर्शन गरिरहेको उनले बताए ।