रसुवाको माटोले सम्झिरहने वकिल

अधिवक्ता फुर्पा तमाङ

धुन्चे –  बाबुराम भट्टराई । झट्ट नाम सुन्दा पूर्वमाओवादी नेता एवम् प्रधानमन्त्री बाबुराम भट्टराई हो कि भन्ने लाग्न सक्छ पाठकलाई । तर, उनी सरकारी वकिल हुन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको बारेमा मलाई धेरै थाहा छैन । उहाँको बारेमा टिप्पणी गर्नुपर्दा म तीनवटा कुरा मात्र भन्छु– पहिलो, मेधावी विद्यार्थी (स्कुलदेखि विश्वविद्यालयसम्म) । दोस्रो, हिंसाको राजनीति गर्ने माओवादीको प्रणेता नेता । तेस्रो, प्रधानमन्त्री हुँदा काठमाडौं सहरका साँघुरा गल्ली फराकिलो बनाउन साहसिक निर्णय गर्दै कार्यान्वयन गर्ने सरकारप्रमुख । वश यत्ति । यहाँ कुरा गर्न खोजेको व्यक्तित्व भने नेपाल सरकार कानुन सेवातर्फका एकजना अधिकृतको हो । सरकारी वकिलको रूपमा बाबुराम भट्टराईले दुई वर्षजति रसुवामा काम गरेका हुन् । यो अवधिमा सरकारवादी भएका मुद्दामा पक्ष र विपक्ष भई बहस पैरवीमा गयौँ । अदालतमा बहस पैरवी गर्न जाँदा धेरैपटक भेट्यौँ । बहस पैरवी सकेपछि ज्ञान आदान–प्रदानका विषयमा धेरै छलफल गथ्र्यौँ । यसकारण पनि उनको सम्झना आइरहँदोरहेछ ।

अग्लो कद । हेर्दैमा हृष्टपुष्ट । कुनै खेलाडीजस्तो देखिने । खासगरी उनी मार्सल आर्टस्का खेलाडी पनि रहेछन् भन्ने बुझियो । मोटरसाइकल चलाउन सौखिन । घरमा बुलेट बाइक राखेका छन् । फुर्सदमा खुब कुदाउने रहेछन् । रसुवाबाट सरुवा भई अन्तिम बिदाइका क्रममा बुलेट बाइकबाट आएका रहेछन् । बुटुटु… आवाज । काठमाडौंबाट एकजना साथी ल्याएका थिए । बिहान हाम्रो घरमा कफी पियौँ । हामीले एक–अर्कालाई अनुहारमा हेरेर कफी पियौँ । अनि भन्यौं, ‘डोटीबाट र रसुवाबाट आएपछि काठमाडौंमा भेट्नेछौँ । अनि यसैगरी कफी पिऔँला ।’ के–के काम आइप¥यो कुन्नि । कर्मचारी मिलन केन्द्रले गरेको बिदाइ कार्यक्रममा म जानै पाइनँ । छुटे।

रसुवा जिल्लामा सरकारी कर्मचारी आउने–जाने क्रम चलिरहेको छ । कोही गइरहन्छन् । सेवा अवधिभर कर्मचारीहरू सरुवा भई आउने र जाने क्रम चलिरहन्छ । उनीहरू जागिरे भएकाले जागिर खान तालुकदार अड्डाले खटाएको ठाउँमा जाने र काम गर्नुपर्ने हुन्छ । यसकारण यो नियमित चलिरहने प्रक्रिया नै हो । अतः को आयो र को गयो ? भन्ने हेक्का प्रायः रहन्न । बसुन्जेल साथीभाइ र गएपछि बाइबाई भनेजस्तै बिर्सिजान्छ । यसलाई कुनै अनौठो मान्नु पनि पर्दैन । अनौठो मान्नुपर्ने विषय पनि होइन । किनभने जागिर खान आएका हुन् । सरुवा भएपछि बसिरहनुपर्ने कुरा पनि भएन । दुई वर्ष रसुवामा आई सरकारी वकिल भएर काम गर्दा उनलाई मैले यसरी पाएँ– पहिलो कुरो, बौद्धिक व्यक्तित्व । अभियोगपत्र लेखनमा दख्खल । उनी आफैँ अभियोगपत्र कम्प्युटरमा बसेर टाइप गर्ने । भाषा र व्याकरणीय शुद्धतामा ध्यान दिन्थे । बहस कला भएको । प्रायः सरकारी वकिलमा बहस कला उति पाइँदैन । उनमा त्यो कला थियो । बहस बुँदालाई लेखेर ल्याउने । नजिर पेस गर्ने । पक्षको हितका लागि सक्दो मिहिनेत गर्ने ।

दोस्रो कुरो, कार्यालय व्यवस्थापनमा ध्यान दिने । उनी आएपछि जिल्ला सरकारी वकिल कार्यालयको आन्तरिक व्यवस्थापनमा ठूलो परिवर्तन आएको थियो । आफ्नै खर्चमा सेतो प्लेटको थोत्रो जिप मर्मत गरेर गुडाउँथे । नक्कली बिल पेस गरेर बजेट झ्वाम पार्ने कतिपय हाकिमले उनीबाट सिक्नुपर्ने देखिन्छ । कार्यालयभित्र मात्र होइन हातामा सफा, सुग्घर र विभिन्न फूल रोपेका थिए । मौसमअनुसार फूलहरू फुल्दा कार्यालय पुग्दा जहिल्यै सुन्दर बगंँचामा पुगेको अनुभूति हुन्थ्यो । कार्यालयले चर्चेको जग्गामा तारबार र पर्खाल लगाएर स्याउ, नासपाती, हलुवाबेद, एभोकाडो, ओखर, आरुबखडा आदि फलफूलका बिरुवा रोपेका छन् । काउली, बन्दा, आलु, रायो, मूला, सिमी फलाएका थिए । उनी हुँदा सायद कहिल्यै तरकारी र सागपात किन्नुपरेन होला । उनले रोपेका ती फलका बिरुवा उनीपछिकाले स्याहार गरिदिए अब केही वर्षपछि प्रशस्त फलहरू खान पाइनेछ । ती फलहरू फलेपछि सोचौँ, सरकारी वकिल कार्यालयपरिसर कस्तो होला ? त्यो अग्लो स्थानको डाँडामा रहेको सरकारी वकिल कार्यालय भएको ठाउँ उसै पनि रमणीय थियो । गणेश हिमाल, तिब्बती हिमाल, लाङटाङ हिमाल, गोसाइँकुण्ड हिमशृङ्खला देखिने त्यो ठाउँ स्वर्गजत्तिकै रमाइलो हुनेछ ।
उनी सरुवा भएर गएपछि केही मानिस साँच्चै खुसी भएका छन् । साह्रै कडा स्वभावको सरकारी वकिलको रूपमा धेरैले चिन्थे । उनी साँच्चै सुशासनका पक्षपाती सरकारी वकिल हुन् । एकजना अधिकृतले सुशासन स्थापनाका लागि धेरै गर्न सक्छ भन्ने दृष्टान्त उनले देखाएर गए । असल कर्ममा विश्वास गर्ने उनी न्यायको पक्षमा मात्र कुरा गर्थे । उनका कामहरू कहिल्यै विवादित भएको सुनिएन । कसैले नसम्झिए पनि उनको स्वच्छ कामले गर्दा रसुवाको माटोले अवश्य सम्झिनेछ ।

ठूलो भार्खु, रसुवा