काङ्ग्रेसको प्राथमिकता निर्वाचन कि संसद् पुनस्र्थापना ? काङ्ग्रेसको दिन फिर्न लागेको हो ?
नेपाली काङ्ग्रेसमा प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई हेर्ने दृष्टिकोणमा मतान्तर नदेखिए पनि नेताहरूको मनस्थिति विभाजित देखिएको छ । काङ्ग्रेसले निर्वाचन कि संसद् पुनस्र्थापना भन्ने लाइन फक्रन सकेको छैन ।
काङ्ग्रेसले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरोध कार्यक्रम जिल्ला, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै शनिबार पालिकास्तरको विरोध प्रदर्शनमा नेताहरूको अभिव्यक्ति निर्वाचन कि पुनस्र्थापना भन्नेमा बाझिएको पाइयो । सभापति देउवा र उनीपक्षीय नेताहरूको मनस्थिति निर्वाचनमुखी र वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित संस्थापनइतर पक्षीय अधिकांश नेता संसद् पुनस्र्थापनाको पक्षमा ससर्त रूपले लागेका छन् । पौडेल र सिटौलापक्षीय नेता अदालतको आस्था र मर्यादालाई कायम राख्न सर्वोच्च अदालतका न्यायाधीशलाई विवेकपूर्ण निर्णयका लागि ध्यानाकर्षण गराउन लागिपरेका छन् । काङ्ग्रेसको विरोध सभामा नेताहरूले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयलाई आ–आफ्नै लाइनअनुसार व्याख्या गर्न दुवैपक्षीय नेता लागिपरेका छन् । वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलापक्षीय नेताहरू प्रतिनिधिसभा विघटनको कदमलाई पार्टीले असंवैधानिक भनिसकेकोले सच्याउने बाटो भनेको पुनस्र्थापना हो भनेर व्याख्या गरेर काङ्ग्रेसको धारणा प्रस्ट्याउन लागिपरेका छन् । पार्टी सभापति देउवापक्षीय नेताहरू विरोध कार्यक्रममार्फत चुनावी तयारीलाई जोडेर पार्टीको व्याख्या गर्न तल्लीन देखिन्छन् । काङ्ग्रेस नेतृत्वले संसद् विघटन र चुनाव भन्ने दोधारलाई छाड्न सकेको छैन । काङ्ग्रेसको अबको बाटो कुन हो पहिल्याउन नसक्दा कार्यकर्ता अन्योलमा देखिन्छन् । संविधानको अक्षर र भावना पढेर न्यायाधीशले फैसला गर्नुपर्ने धारणा पौडेलपक्षीय नेताहरूले गरिरहेका छन् भने सभापति देउवापक्षीय नेताहरू काङ्ग्रेस जनतामा जान तयार रहेको अभिव्यक्ति दिएर कार्यकर्तालाई चुनावतर्फ मोडिरहेका देखिन्छन् । पूर्वमहामन्त्री सिटौला पक्षका नेता भनेर चिनिएका गगन थापाले अदालतलाई विवेक पुर्याउन विरोधसभामार्फत आग्रह गरिरहेका छन् । थापाले कार्यकर्ता, काङ्ग्रेस पक्षका मतदातालाई र अदालतको बलले संसद् पुनस्र्थापना हुने तर्क गरिरहेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको सनकले देशमा लागेको आगो विवेक पु¥याएर देशलाई अन्धकार सुरुङभित्र फस्नबाट जोगाउन पनि संसद् पुनस्र्थापनाको विकल्प नभएको पुष्टि गरिरहेका छन् ।
नेकपाका प्रचण्ड–नेपाल पक्षले संयुक्त सङ्घर्ष र सत्ता सहकार्यको प्रस्ताव देउवालाई गरेको छ भने नेकपाकै अर्को पक्ष प्रधानमन्त्री ओलीले गोप्य भेटघाट गरेर सत्ता सहकार्यको प्रस्ताव गरेपछि काङ्ग्रेसको दिन फिर्न लागेको हो त भन्ने अड्कल गर्न थालिएको छ ? नेकपा औपचारिक रूपमा विभाजित भइसकेको छैन । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजित छ । सत्ता समूह सरकारको नेतृत्व गरिरहेको छ भने अर्को समूहले सडक–सङ्घर्षको नेतृत्व गरेर सडकमै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको बाक्लो भेटघाट र आश्वासनमा देउवा मन्त्रमुग्ध भएर फाइदा लिन व्यस्त छन् । प्रधानमन्त्री ओलीसँगको सत्ता सहकार्यको फाइदा लिँदै देउवा संवैधानिक निकायको पदमा आफ्ना मान्छे घुसाउन सफल भइसकेका छन् । दाहाल–नेपाल समूह पनि देउवासँग सहकार्य गर्न आतुर देखिएको छ । यो समूहले पनि देउवालाई नै ठूलो शक्तिको रूपमा मानिरहेको छ । देउवाको सहयोगबिना अबको सडक आन्दोलन पार लगाउन र ओलीलाई ठेगान लगाउन नसकिने निष्कर्षसहित ललिपप देखाइरहेको छ । त्यसैले अहिले काङ्ग्रेसको भाउ बढेको छ । पछिल्लो चुनाव सकिएपछि गुमनाम बनेको देउवा र नेपाली काङ्ग्रेसको चमक एकाएक फर्किएको छ । सभापति देउवाले काङ्ग्रेसको महाधिवेशनलाई भन्दा पनि भावी प्रधानमन्त्री कसरी हुने भन्नेमै तानाबुना बुन्दै नेकपाका दुवै समूहलाई लटपट्याइरहेका छन् । देउवाको अहिलेसम्मको गतिविधि देख्दा दाहाल–नेपालतिरभन्दा प्रधानमन्त्री ओलीतर्फ झुकाव राखेको देखिन्छ । उनलाई प्रधानमन्त्री ओलीले फकाइसकेका छन् । उनी ओलीको संसद् विघटनका कदमलाई घुमाई–फिराई समर्थन गर्न आफूपक्षीय नेतालाई प्रयोग गरिरहेका छन् । सर्वोच्च अदालतले जे फैसला सुनाए पनि देउवाकै पल्ला भारी हुने सङ्केत देखिएको छ ।
नेपाली काङ्ग्रेसको नेतृत्वमा आफू संलग्न भएर जारी गरिएको संविधानको मर्मविपरीत गरिने चुनावले फाइदा पुग्दैन भन्ने थाहा भएर पनि देउवाले ज्योतिषले सातपटक प्रधानमन्त्री बन्ने गरेको भविष्यवाणी सम्झँदै प्रधानमन्त्री बन्नकै लागि सक्रियता बढाइरहेका छन् । संविधान र लोकतन्त्र मासेर भए पनि चुनावमार्फत सरकारमा जाने उनको योजना काङ्ग्रेसको सिद्धान्त र विचारसँग नमिले पनि स्वार्थ सिद्ध पूरा गर्न अग्रसर छन् । देउवा हिजो पुष्पकमलले काङ्ग्रेसलाई दिएको धोकाले पनि प्रचण्ड–नेपाल समूहको संयुक्त आन्दोलन र सत्ता सहकार्यलाई विश्वास गर्न सकिरहेका छैनन् । पौडेलपक्षीय काङ्ग्रेसले पाएको मतको कदर र सम्मान गर्दै कसैको लोभमा फस्न नहुने तर्क अघि सारेर सभापति देउवाको प्रधानमन्त्री बन्ने बाटोमा तघारो तेस्र्याइरहेको छ । कम्युनिस्ट हर्कत र काण्डको पर्दाफास गर्दै काङ्ग्रेस सङ्गठन विस्तारमा लाग्नुपर्ने मत संस्थापनइतर पक्षीय नेताहरूको रहेको छ । देशले जिम्मेवार अभिभावक खोजेको बेला काङ्ग्रेसले प्रजातन्त्रप्रतिको आफ्नो अडानलाई दरिलोसँग प्रस्तुत गर्नुपर्ने बेलामा सत्ताको नेतृत्वप्रतिको आशक्तिले काङ्ग्रेसलाई लोकतन्त्रको रक्षा गर्दै देशको हित र समृद्धिको नेतृत्व गर्ने अवसर काङ्ग्रेसको काँधमा आएको छ । ज्योतिषको भविष्यवाणीतिर होइन सभापति देउवा अहंकारलाई त्यागेर गुटरहित काङ्ग्रेस बनाउनेतिर लाग्नु नै हितमा हुनेछ । काङ्ग्रेसले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बेलामा नेकपाले गरेको गल्तीलाई भण्डाफोर गर्दै कार्यकर्ता समेट्दै सच्याउने कार्यतर्फ अग्रसर हुनुपर्छ ।
महाधिवेशनको तयारीमा लागेको नेपाली काङ्ग्रेसको संसद् विघटनसँगै प्राथमिकता फेरिएको छ । संसद् विघटनसँगै काङ्ग्रेस सङ्घर्ष र चुनावी तयारी सँगसँगै जुट्न खोजेको छ । महाधिवेशनमा केन्द्रित हुनुपर्ने काङ्ग्रेसका नेता/कार्यकर्ता राजनीतिक जोड–घटाउ र आन्दोलनमा व्यस्त छन् । काङ्ग्रेसको अहिलेको गतिविधिले महाधिवेशन झन् अनिश्चित बनेको छ । काङ्ग्रेस महाधिवेशनका लागि सदस्यता नवीकरण र वितरणको काम रोकिएको छ । वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशनको कार्यतालिका पाँचपटकसम्म फेरबदल गरेको काङ्ग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगित गरेर सत्तारोहणका लागि सम्पूर्ण शक्ति खर्च गरिरहेको छ । काङ्ग्रेसले समयमै आफ्नो गन्तव्य पहिल्याउन नसके काङ्ग्रेस त सखाप हुन्छ–हुन्छ, देश बर्बादीतर्फ गइरहेको साक्षी हुनेछ ।