ओलीद्वारा जिल्ला र पालिका तहमा कमिटी पुनर्गठन गर्न नुवाकोट नेतालाई निर्देशन

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटी तत्काल पुनर्गठन गर्न मंगलबार निर्देशन दिएका छन् ।

      नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरेका छन् । उनले नुवाकोटका नेता–कार्यकर्तालाई काठमाडौंमै रुमल्लिएर अब के हुन्छ भनेर नबस्न निर्देशन दिँदै गाउँ, टोल–टोलमा सङ्गठन पुनर्गठन गरी निर्वाचनको माहोल बनाउन निर्देशन दिए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरूसँग कुनै विचार नभएको प्रस्ट पारे ।

      कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरू शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट पारेका छन् । ओलीले १० वर्षे सशस्त्र आन्दोलनमा सहभागीको हालको अवस्थाको विवरण सङ्कलन गर्ने र युद्धको क्रममा अङ्गभङ्ग भएका घाइतेलाई सम्मानपत्र वितरण गर्न सरकार लागेको जानकारी दिए । उक्त कार्यक्रममा ओली पक्षका योजनाकारमध्येका नेकपाका केन्द्रीय सदस्य विष्णु रिमाल र सहभागीको व्यवस्थापनमा बागमती प्रदेशका सांसदद्वय केशवराज पाण्डे, बद्री मैनाली, केन्द्रीय सदस्य रामशरण प्याकुरेल, बिन्दा ढुङ्गाना, ठाकुरप्रसाद गजुरेल तीन दिनदेखि खटिएका थिए । नेकपा नुवाकोटका नेता केशवराज पाण्डेले जिल्लामा यही माघ १९ गते जिल्लास्तरीय कार्यक्रम हुने जानकारी दिए ।