सहुलियतपूर्ण कर्जा प्रवाहका लागि त्रिपक्षीय सम्झौता
समुन्द्रटार – सहुलियतपूर्ण कर्जा प्रवाहका लागि दुप्चेश्वर गाउँपालिकामा सोमबार ज्योति विकास बैंक, नुवाकोट उद्योग वाणिज्य सङ्घ र दुप्चेश्वर गाउँपालिकाबीच त्रिपक्षीय सम्झौता भएको छ ।
सोमबार गाउँपालिकाको कार्यालयमा ज्योति विकास बैंकका क्षेत्रीय प्रमुख राकेश डङ्गोल, नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । गाउँपालिका क्षेत्रका कृषि तथा पशुपक्षीजन्य तथा अन्य क्षेत्रका व्यवसाय प्रवद्र्धन गर्नका लागि योजना ल्याएको बताइएको छ । स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन बैंकले कर्जा प्रवाह गर्नेछ ।
दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले गाउँपालिकाको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि पालिकाको नीति तथा कार्यक्रममा समेत उच्च प्राथमिकता दिइएको कारण आजको यो कार्यक्रम गर्न सम्भव भएको बताए । उनले दुप्चेश्वर गाउँपालिकामा कृषि उद्यमको उच्च सम्भावना भएकाले यस क्षेत्रमा त्यस्तो उद्यम व्यवसाय सञ्चालन गरेमा पालिकाद्वारा गर्नुपर्ने सहयोगका लागि सदैव पालिका तयार रहने र ढुक्क भएर लगानी गर्नका लागि आग्रह गरे ।
नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले आगामी दिनमा दुप्चेश्वर गाउँपालिका क्षेत्रको आर्थिक विकासका लागि सङ्घले निरन्तर सहयोग गर्ने र यस क्षेत्रका उद्यमीको विकासका लागि दुप्चेश्वर, तादीलगायत यस क्षेत्रको उद्यम विकास प्रवद्र्धन गर्न सङ्घले व्यवसाय सहायता कक्षको विशेष व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।