टिमुरेमा राजस्व सङ्कलन काउन्टर

टिमुरे –  रसुवा भन्सार कार्यालय टिमुरेमा बैंक अफ काठमाण्डूले राजस्व सङ्कलन काउन्टर स्थापना गरेको छ । काउन्टर स्थापना भएसँगै भन्सारको राजस्व तिर्न व्यवसायीलाई सहज भएको छ ।

     भन्सार कार्यालयबाट हुने व्यापार सहजीकरणका लागि कार्यालय हाताभित्रै बैंक अफ काठमाण्डूको राजस्व सङ्कलन काउन्टर स्थापना भएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । रसुवा भन्सारमा दैनिक २५ लाखदेखि डेढ करोडसम्म राजस्व सङ्कलन भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा राजस्व असुलीमा असर परेको छ । रसुवागढी नाकाबाट आयात–निर्यात सहज बन्न नसक्दा कार्यालयले लक्ष्यको तुलनामा निकै कम राजस्व सङ्कलन गरेको छ । नाकामा सहज रूपमा आयात–निर्यात नहुँदा रसुवा भन्सारको राजस्व असुलीको लक्ष्य भेट्न हम्मेहम्मे भएको छ । चीनले अहिले दैनिक आफ्ना पाँचवटा गाडीमा नेपाली भूभागमा सामान झारिदिने गरेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् ।

     रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महशुल, सेवाशुल्क, कृषि सुधार, अन्तःशुल्क, भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, जलविद्युत् आयोजनालगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने भए पनि कोरोना सङ्क्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ । ०७१ म्ङ्सिर १५ देखि रसुवागढी नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो, तर रसुवागढी नाका ०७२ मङ्सिरदेखि पुनः सञ्चालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट ०७२ मङ्सिरदेखि हुँदै आएको छ ।