६० हजार माछाको अन्डा भित्रियो

धुन्चे – चीनबाट रेन्बो ट्राउट माछाको ६० हजारवटा आँखा उम्रिएको अन्डा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको छ ।

       रसुवागढी नाका हुँदै आँखा उम्रिएको अन्डा नेपाल भित्रिएको मत्स्य अनुसन्धान केन्द्र रसुवाले जानकारी दिएको छ । रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रको लागि अन्डा ल्याइएको केन्द्रका प्रमुख महेन्द्र भण्डारीले बताए । उनले बताएअनुसार, चीनको कान्सु प्रान्तबाट डोनाल्डसन स्ट्रेनको सुइकी– १ जातको माछाको अन्डा ल्याइएको हो । यो जातको माछाको भुरा उत्पादन गरेर किसानलाई बिक्री गर्ने योजना अनुसन्धान केन्द्रको रहेको छ ।

       कान्सु फिसरी रिसर्च इन्स्टिच्युट र चाइना नेपाल कोअप्रेसन प्रोजेक्टको अनुदान सहयोगमा अन्डा आयात गरिएको हो । यसअघि पनि केन्द्रमा चीनबाट ३० हजार आँखा उम्रिएको अन्डा आयात गरिएको थियो । उक्त अन्डाबाट उत्पादन भएको भुरामध्ये १६ हजार भुरा किसानलाई सहुलियत दरमा बिक्री गरिएको थियो । केन्द्रका अनुसार यसको परीक्षण गरिएपछि फेरि ५० हजार आँखा उम्रिएको अन्डा आयात हुनेछ । सुरुमा हवाईमार्गबाट अन्डा ल्याउने तयारी गरिए तापनि चीनको राजधानी बेइजिङमा केही व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि रोकिएको थियो । त्यसपछि अन्डाको पिसिआर गरिएको थियो । पछि फेरि हवाईमार्गबाट ल्याउन अनुमति नपाएपछि स्थलमार्गबाट नै अन्डा आयात गरिएको केन्द्रका प्रमुख भण्डारीले बताए ।

      सुइकी– १ नयाँ जातको माछा हो । चीनले रेन्बो ट्राउटको चारवटा जातबाट क्रस गरेर नयाँ जातको विकास गरेको हो । चीनमा १४ प्रकारका रेन्बो ट्राउट रहेका छन् । केन्द्रमा अहिले यस वर्ष प्रजनन भएका करिब दुई हजार पाँच सय जापानिज भुरा, पाँच सय जापानिज परिपक्व माउ माछा र तीन सय ५० वटा चिनियाँ परिपक्व माउ प्रजननका लागि पालिएको छ । चालू आर्थिक वर्ष ०७७÷७८ को साउनदेखि हालसम्म ५० हजारवटा आँखा उम्रिएको अन्डा किसानलाई बिक्री गरिसकेको छ । केन्द्रले दिएको जानकारीअनुसार रसुवासहित गुल्मी, दार्चुला, दोलखालगायतका जिल्लामा अन्डा पठाइसकेको छ । केन्द्रले रसुवासहित १६ जिल्लालाई आँखा बनेको अन्डा, माछा भुरा र खाने माछा बिक्री गर्दै आएको छ ।

      केन्द्रको तथ्याङ्कअनुसार सबैभन्दा बढी रसुवा र नुवाकोटमा खपत हुने गरेको छ । त्यसपछि लमजुङ, मकवानपुर, काठमाडौं, सिन्धुपाल्चोक, कास्की, पर्वत, गुल्मी, खोटाङ, धादिङ, ललितपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, रुकुम पश्चिममा समेत पठाउने गरेको छ ।