परम्परा धान्दै गोरुजुधाइ प्रदर्शनी सम्पन्न
- शशिकुमार डङ्गोल
विदुर, नुवाकोट जिल्लामा ३० हल गोरु र धादिङमा २८ हल गोरु माघेसङ्क्रान्तिको अवसरमा जुधाएर परम्परालाई निरन्तरता दिइयो । माघेसङ्क्रान्तिको गोरुजुधाइ भन्नासाथ धेरैले नुवाकोटको तारुकालाई सम्झने गर्छन् । तर, पछिल्लो समय तारुकाको सिको गर्दै अन्य स्थानमा पनि गोरुजुधाइ प्रदर्शनी फैलँदै गएको छ ।
अहिले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको पञ्चकन्या, लिखु गाउँपालिकाको कट्टीछाप र शिवपुरी गाउँपालिकाको शेराबगरका साथै धादिङ, गोरखा र रसुवामा समेत गोरु जुधाउन थालिएको छ । विभिन्न स्थानमा गोरु जुधाइने भए पनि तारुका सबैको आकर्षणको क्षेत्र रहेको त्यहाँ देखिने दर्शकको ओइरोले नै पुष्टि गर्दछ । विदेशमा खेलकै रूपमा गोरुजुधाइ स्थापित भए पनि नेपालमा भने संस्कृति संवद्र्धन र पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ यसलाई मनाउने गरिएको छ । तारुकालगायत स्थानमा हुने गोरुजुधाइलाई व्यवस्थित पारी ०६२ सालदेखि एकै थलोमा गर्न थालिएको हो । नुवाकोटको गोरुजुधाइलाई प्रचारप्रसार गर्न नुवाकोट उद्योग वाणिज्य सङ्घले ०६३ मा गरेको पहिलो महोत्सवमा कार्यक्रम राखेर सुरुवात गरिएको थियो । गाउँको कुनामा केही मान्छेको लहडमा गोरु जुधाउने परम्परालाई उद्योग वाणिज्य सङ्घले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन महत्वपूर्ण सहयोग गरेको थियो । यो वर्ष कोरोनाको कारण टाढा–टाढाबाट पर्यटक नआउँदा विगतमा जस्तो रौनक भने हुन सकेन । विघटित प्रतिनिधिसभा सदस्य एवम् नेकपा नुवाकोटका सचिव नारायणप्रसाद खतिवडा, नेकपा नुवाकोटका अध्यक्ष एवम् बागमती प्रदेश सभाका सदस्य हीरानाथ खतिवडा, नेपाली काङ्ग्रेसका महासमिति सदस्य एवम् तारकेश्वर गाउँपालिकाको निर्वाचनमा अध्यक्षका प्रत्याशी चोकराज शाक्यको उपस्थितिमा भएको गोरुजुधाइ मेलामा विशेष अतिथिबारे विवाद हुँदा गोरु जुधाउने कार्यक्रममा मान्छे जुधेर केही समय स्थगित र भागदौड नै मच्चिएको थियो ।
यो वर्ष ०७७ माघ १ को गोरुजुधाइ प्रदर्शनी तथा माघेसङ्क्रान्ति मेला कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । यसपटक रसुवा र नुवाकोटको सीमास्थल बेत्रावतीको ढाँडेबगर मैदानमा १० वटा गोरु जुधाएर दर्शकलाई मनोरञ्जन दिइएको थियो । जित्ने गोरुधनीलाई आयोजक गोसाइँकुण्ड युवा क्लबको तर्फबाट किसानलाई हौसलास्वरूप जनही पाँच हजार रुपैयाँ पुरस्कार दिइयो भने हार्ने किसानले पनि चार हजार रुपैयाँ पाउँदा रमाएका थिए । यसैगरी सहभागी गोरुधनीलाई दुई हजार रुपैयाँको दरले आतेजाते खर्च दिइएको थियो । कोरोना भाइरसको कुनै पर्वाह नगरी आसपासका क्षेत्रबाट सयौँको सङ्ख्यामा उपस्थित दर्शक गोरुजुधाइ हेर्न बेत्रावती झरेका थिए । पोहोर सालको भन्दा दर्शकको उपस्थिति न्यून देखिन्थ्यो भने गोरु पनि उत्साहजनक रूपमा मैदानमा जुधेनन् । क्लबले माघेसङ्क्रान्ति मेलाका अवसरमा बेत्रावती नुवाकोटतर्फका ६० वर्ष उमेर कटेका २४ जना वृद्धवृद्धालाई सिरक–कम्बल वितरणसमेत गरेको थियो । क्लबले नुवाकोट ब्लड बैंकको सहयोगमा रक्तदान कार्यक्रम पनि गरेर १९ जना रक्तदाताको रगत सङ्कलन गरेको नुवाकोटका रक्तदान अभियन्ता मछिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए । परापूर्वकालमा माघेसङ्क्रान्तिका दिन बेत्रावतीका स्थानीय बासिन्दाले खेतका गह्रामा बिहानको घ्यू, चाकु, तरुल, सेललगायतका अन्य भोजका परिकार बनाई खाएर आफ्नो थलोमा पालिएका बलिया बहर गोरुलाई फाँटमा लगी मनोरञ्जनका लागि जुधाउने गर्दथे । त्यही सांस्कृतिक परम्परालाई विगत ०६० सालदेखि स्थानीय गोसाइँकुण्ड युवा क्लबले व्यवस्थापन गरी मेलाको रूपमा कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि उत्तरगया गाउँपालिका– ५ कैदलीटार रसुवाका वृद्ध किसान भैरवबहादुर थापामगर, विशेष अतिथि विदुर नगरपालिका– १० का अध्यक्ष गणेशकुमार नेपाल, स्थानीय शिक्षाप्रेमी, समाजसेवी गणेश श्रेष्ठ, गोरुजुधाइ कार्यक्रमका संयोजक क्लबका संस्थापक अध्यक्ष अष्टमान डङ्गोल र बेत्रावती कृषि सहकारी संस्थाका अध्यक्ष सोमलाल लवटले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । माघेसङ्क्रान्तिको दिन स्पेनको राष्ट्रिय खेल बुलफाइटको झल्को दिने गरी नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या र शिवपुरीमा ३० हल गोरु जुधाइएको थियो । नुवाकोटको गोरु जुधाउने खेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चा र महत्व पाइरहेको छ । तारकेश्वरमा १३ हल, बेत्रावतीमा पाँच हल, शिवपुरी गाउँपालिकाको सेराबगरमा सात हल र पञ्चकन्या गाउँपालिकामा पाँच हल गोरु यस वर्ष जुधाइएको थियो । माघेसङ्क्रान्तिकै दिन धादिङको नीलकण्ठ नगरपालिका– १४ धुँवाकोटमा १८ हल र नीलकण्ठ नगरपालिका– ५ फ्याक्सेको खाल्टेमा १० हल गोरु जुधाइएको संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र धादिङका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।