मेरो माइक्रो फाइनान्सको सञ्चालकमा अधिकारी र पुडासैनी थपिए

बट्टार, मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको पुस २८ गते सम्पन्न आठौँ वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा ज्ञानुकृष्ण अधिकारी र बद्रीप्रसाद पुडासैनीलाई निर्विरोध चयन गरेको छ ।

      फाइनान्सको चुक्ता पुँजीको १६ दशमलव ९४ प्रतिशत बोनस सेयर र ० दशमलव ८ सय ९२ प्रतिशत नगद लाभांश अनुमोदन साधारणसभाले गरेको छ । नौवटा प्रवद्र्धित बैंकका प्रतिनिधि सहभागी रहेको सो सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष ०७६÷७७ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । लघुवित्तका अध्यक्ष सञ्जीव मानन्धरले संस्था सञ्चालनको सातौँ वर्षमा संस्थाले पाँच अर्ब ८४ करोड ऋण लगानी गरी १८ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको जानकारी दिएका थिए । फाइनान्सको हाल चुक्ता पुँजी ८५ करोड ५१ लाख रुपैयाँ रहेको र बोनस सेयर वितरणपश्चात् एक अर्ब कायम भएको छ ।

      नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको फाइनान्सले हाल एक सय २० शाखा कार्यालयमार्फत ५९ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको संस्थाले एक लाख २५ हजारभन्दा बढी विपन्न घरपरिवारलाई लघुवित्तीय सेवा दिइरहेको छ । फाइनान्सले लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई एक सय थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ । संस्थाले साधारणसभाको समारोहमा सञ्चालक समितिका अध्यक्ष सञ्जीव मानन्धरसहित प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाललगायतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललिता ढकाललाई सो सामग्री हस्तान्तरण गरेका थिए । फिल्डमा खटिएका प्रहरी फ्लोरोसेन्ट ज्याकेटको अभावमा दुर्घटनामा परिरहेको खबर आइरहने गरेकोले सहयोग गरिएको संस्थाले जनाएको छ ।