उपेक्षामा रणनीतिक महत्वको नुवाकोट नुवाकोटलाई फेरी पनि अध्यारो सुरुङभित्र राख्ने कि ?

सहमत/असहमत

नुवाकोट जिल्लाबासीले यो हप्ता धुमधामले पृथ्वीनारायण शाहको २९८औं जन्म जयन्ती विदुर नगरपालिकाको वडा नं.२ नुवाकोट दरवार क्षेत्र र वडा नं.५ को देवीघाटमा मनाए । वि.सं.१७७९ पुस २७ गते जन्मिएका राजा पृथ्वीनारायण शाह ५२ वर्षकै उमेरमा वि.सं.१८३१ माघ २ गते यो संसारबाट विदा भएका थिए ।

नेपालको इतिहासमा नुवाकोट अत्यन्त रणनीतिक महत्वपूर्ण स्थानमा रहेको जिल्ला देखिन्छ । नुवाकोट जिल्लाको रणनीतिक महत्व नेपाल एकिकरणदेखि आजसम्म त्यतिकै महत्व देखिन्छ । नुवाकोटको यो रणनीतिक महत्वको कारण नै नुवाकोट पछाडी परेको हो । नुवाकोट जिल्लाबासीले पृथ्वी जयन्ती मनाई रहँदा यी प्रश्नको उत्तर खोजेनन् किन ? काठमाडौं उपत्यकापछि त्यतिकै स्तरको भब्य दरवार नुवाकोटमा निर्माण किन भयो ? नुवाकोट दरवार क्षेत्र पश्चिम १ नम्बरको सदरमुकाम किन बनाईयो ? भारत सरकारको सहयोगमा पञ्चायती ब्यवस्थाको सुरुवातसँगै त्रिशूली बजारको मुखमै जलविद्युत् आयोजना किन निर्माण गरियो ? पृथ्वी राजमार्ग निर्माण सम्पन्न भएको आधा शताब्दीपछि पनि गल्छी–देवीघाट सडक बन्न किन २०७२ को भारतीय नाकाबन्दी कुर्नुप¥यो ? अरनीको राजमार्ग नुवाकोट हँुदै केरुङ नगई किन धुलिखेल तातोपानी हुँदै खासातिर निर्माण गरियो ? काठमाडौं उपत्यकाबाट बालाजु–त्रिशूली सडक त्रिशूली जलविद्युत् आयोजनाको लागि मात्र निर्माण भएको हो । यो सडकलाई काठमाडौंको टोखा हुँदै नुवाकोटको गुर्जेभन्ज्याङ, छहरे, ढिकुरे, त्रिशूली, सामरी हुँदै पृथ्वी राजमार्गको सडकको रुपमा किन निर्माण गरिएन ? नुवाकोट दरवार क्षेत्रमा रहेको पश्चिम १ नम्बरकै सदरमुकाम २०२७ सालमा किन विदुरमा स्थानान्तर गरियो ?

नुवाकोटमा हर्षोल्लासका साथ पृथ्वी जयन्ती मनाईरहँदा यी प्रश्नको जवाफ खोज्नुपर्ने थियो । जबसम्म यी प्रश्नको जवाफ सहि ढंगले खोज्न सकिंदैन नुवाकोट पछाडी नै परिरहन्छ । बिक्रमको उन्नाइसौं शताब्दी (१८००–१८९९) को एकसय वर्षको इतिहास पल्टाउने हो भने नुवाकोट नेपालकै काठमाडौंपछि दोस्रो राजधानीको रुपमा चर्चित र महत्वपूर्ण स्थानमा रहेको जिल्ला हो । काठमाडौं उपत्यकाको पश्चिमी र उत्तरी ढोकाको रुपमा रहेको नुवाकोट बन्द नगरी दक्षिणी ढोका खुल्ने थिएन । सुगौली सन्धीपछि राणाकाल हँुदै पञ्चायत ब्यवस्थाको शुरूमै नेपालकै पश्चिम र उत्तरी ढोका बन्द हुँदा नुवाकोट अन्धकार युगमा प्रवेश ग¥यो । नुवाकोट राजधानी काठमाडौंसँग जोडिएको जिल्ला मात्र होइन यो चिन र भारत जोड्ने जिल्ला भएको कारण पछाडी परेको हो । राजा महेन्द्रले पञ्चायती ब्यवस्था टिकाउन त्रिशूली जलविद्युत् केन्द्र भारतीय सहयोगमा निर्माण गर्नुपर्ने स्थिती उत्पन्न भएको थियो । भारत नेपालको पश्चिम÷उत्तरी ढोका नुवाकोट बन्द नगरी नेपाल दक्षिण ढल्कदैन भन्ने जान्दथ्यो । त्यसैले नुवाकोटको त्रिशूलीबजार हुँदै पृथ्वी राजमार्ग निर्माण गरिएको भए आज नेपालको स्थिती यस्तो हुने थिएन । नेपाल सिधा उभिने स्थितीमा पुगिसकेको हुने थियो । त्रिशूली जलविद्युत् आयोजना भारतलाई निर्माण गर्न दिने योजना बनाइँदै गर्दा यो आयोजनाको सम्पर्क सडक गुर्जेभन्ज्याङ–छहरे–ढिकुरे हँुदै गंगटे–त्रिशूली सर्भे समेत सम्पन्न भईसकेको थियो । यो सडकको सर्भेलाई स्थगित गरी बालाजु–रानीपौंवा–पिपलटार हुँदै त्रिशूली जलविद्युत् आयोजनाको सम्पर्क सडक निर्माण गर्ने निर्णय भयो ।

आज बालाजु–रानीपौंवा–पिपलटार सडक सुधार हुन सात वर्ष बितीसंक्दा पनि सम्पन्न हुन सकिरहेको छैन । देशका अन्य सडक रफ्तारमा निर्माण हुँदै गर्दा नुवाकोट जिल्लाकै मात्र सडक निर्माणमा किन ढिला हुन्छ ? राजधानी वा पृथ्वी राजमार्गसँग नुवाकोट जोड्ने सडक जति छिटो निर्माण हुन्छ त्यति नै नुवाकोटको मात्र होइन देशकै विकासमा कायापलट हुने सम्भावना छ । नुवाकोटलाई राजधानी काठमाडौं र पृथ्वी राजमार्गसँग राजमार्गस्तरीय सडक सञ्जालमा जोडिन नदिन आधा शताब्दीसम्म प्रयत्न गरियो । नेपालको पश्चिमी ढोका नुवाकोट थुन्नैपर्ने बाध्यता नेपाली नेतालाई आई लाग्यो । नेपालको पश्चिमी र उत्तरी ढोका नुवाकोट थुन्नुपर्दछ भन्ने नेतृत्व जन्माउने र हुर्काउने काम हुँदै आयो । पञ्चायती कालमा त्रिशूली जलविद्युत् आयोजना बनाउने नाममा नेपालको उत्तरी ढोका केरुङ बन्द गर्ने काम गरियो । त्रिशूली जलविद्युत् आयोजनाको निर्माणको सट्टा अरनीको राजमार्ग टोखा–गुर्जेभन्ज्याङ–छहरे–त्रिशूली–बेत्रावती हुँदै रसुवागढी निर्माण गरिनुपर्ने थियो । यसो नगरी धुलिखेल हँुदै तातोपानीतर्फ अरनीको राजमार्ग निर्माण गरियो । आज आधा शताब्दीपछि नेपाललाई लाग्दैछ धुलिखेल हुँदै तातोपानी पुगेको अरनीको राजमार्ग भन्दा टोखा–गुर्जे भन्ज्याङ हँुदै छहरे–बेत्रावती–केरुङ सडकले नेपालको सम्बृद्धि हुने रहेछ ।

   भारतीय नाकाबन्दी : नेपालको संविधानसभाले संविधान बनाउँदै गर्दा २०७२ मा भारतीय नाकाबन्दी शुरु भयो । भारतीय नाकाबन्दी यो भन्दा अगाडी २०४६ सालमा पनि भएको थियो । २०२७ सालमा पनि भारतीय नाकाबन्दी नेपालले भोगेकै थियो । २०७२ भन्दा अगाडीका भारतीय नाकाबन्दीमा नुवाकोट हँुदै केरुङ जोड्ने साहस कुनै नेताहरूले गर्न सकेका थिएनन् । यसको पछाडी ठूलो रणनीतिक साहसको आवश्यकता चाहिने थियो । यदि २०७२ सालको भारतीय नाकाबन्दीमा केपी ओली प्रधानमन्त्री नभएको अवस्थामा राजधानी काठमाडौंलाई नुवाकोट हँुदै रसुवागढी केरुङ जोड्ने सडक सञ्जालको कल्पना पनि हुने थिएन । राजधानी काठमाडौंलाई नुवाकोट जोड्ने गल्छी–देवीघाट र नेपालको बन्द गरिएको उत्तरी ढोका गल्छी–रसुवागढी हँुदै केरुङ जोड्ने राजमार्गस्तरीय सडक निर्माण सम्भव नै थिएन । यो सडक खन्ने आट गर्नु भनेको पृथ्वीनारायण शाह जत्तिकै साहसी र रणनीतिक कसैले बोकेको ब्यक्ति वा शासकबाट मात्र सम्भव थियो । यो काम केपी ओलीबाट मात्र सम्भव हुन सक्यो ।

टोखा छहरे सुरुङमार्ग : नेपालको विगत ३ सय वर्षको इतिहास केलाउँदै जाँदा नुवाकोट जसको कब्जामा रहन्छ जित त्यसैको हुने परिस्थिती हुन्छ । नुवाकोट जब पृथ्वीनारायण शाहको कब्जामा आयो नेपाल उनकै कब्जामा जान बाध्य भयो । उन्नाइँसौं शताब्दीभर नुवाकोट राजधानी काठमाडौंको कब्जामा रह्यो । बहादुर शाहको भोटसँगको युद्धदेखी जंगबहादुरको भोटसँगको युद्ध हुँदासम्मको समय नुवाकोट दोस्रो राजधानीको भूमिकामा रह्यो । यही रणनीतिक महत्व बुझ्दै राणा शासकले नुवाकोटलाई पच्चिम १ नम्बरको मुकाम बनाई आफ्ना कब्जामा राखेका थिए । राजा महेन्द्रले यही महत्वलाई बूझेर त्रिशूली जलविद्युत् आयोजना निर्माण गर्न दिएर भारतलाई खुशी बनाउने प्रयास गरेका थिए । राजा महेन्द्रले नुवाकोट हँुदै केरुङ खोल्ने हिम्मत गर्नै सकेनन् । उल्टै सर्भे सम्पन्न भईसकेको टोखा–गुर्जेभन्ज्याङ–छहरे–ढिकुरे सडक निर्माण नगरी बालाजु–रानीपौंवा–पिपलटार सडक निर्माण गर्न बाध्य भए ।
आज टोखा–छहरे सुरुङ निर्माणको चर्चा चलिरहेको छ । बेत्रावती–रसुवागढी सुरुङ निर्माणको चर्चा चलिरहेको छ । यी दुवै सुरूङ निर्माण गर्न सकियो भने नेपाल सिधा उभिने स्थितीमा पुग्ने छ । आज नेकपाभित्र यति ठुलो बबन्डर त्यतिकै निम्तिएको छैन । यदि टोखा–छहरे सुरुङमार्ग निर्माण सम्पन्न भयो र गल्छी–रसुवागढी सडक समयमै निर्माण सम्पन्न भयो भने केपी ओलीलाई सरकारबाट कहिले ओराल्न सकिदैन । दुई शताब्दीदेखि कब्जामा रहेको नेपाल आफ्नो कब्जामा रहँदैन भन्ने चिन्ता दक्षिणलाई भय सिर्जना भईरहेको छ । नुवाकोटलाई कुनै न कुनै रुपमा आफ्नो कब्जामा नराखे नेपाल नै आफ्नो कब्जामा रहँदैन भन्ने महत्व दक्षिणले बुझेको छ । सुगौली सन्धीदेखि पञ्चायत काल हुँदै बहुदलीय कालको आजसम्म नुवाकोट सधैंभरी दक्षिणकै कब्जामा रहदै आयो ।

टोखा–छहरे सुरुङमार्ग अत्यन्त महत्वपूर्ण र रणनीतिक महत्वको मार्ग हो । बेत्रावती–रसुवागढी सुरुङमार्ग अर्को त्यो भन्दा महत्वपूर्ण मार्ग हो । यदी यी दुई सुरुङमार्ग र गल्छी–रसुवागढी राजमार्ग निर्माण सम्पन्न गर्न सकियो भने नुवाकोट मात्र होइन नेपालकै सम्बृद्धि हुनेछ । नेपाल कहिल्यै दक्षिण वा उत्तर ढल्केर हिड्नुपर्ने बाध्यताको अन्त सदाकालको लागि हुनेछ । नुवाकोटबासीले एकपटक फेरी नेपालको इतिहासको गहिरो अध्ययन गर्न जरुरी छ । नुवाकोट पछाडी पर्नुको मूल कारण खोज्नु आवश्यक छ । नुवाकोट जिल्लाका नेतृत्व राष्ट्रिय राजनीतिका महत्वपूर्ण पदमा किन पुग्न सफल भए । राजनितीको महत्वपूर्ण पदमा सधंैभरी पुगिरहने तर नुवाकोट जिल्लाको विकास चाँही हँुदै नहँुदै स्थिती किन बनी रह्यो । एकपल्ट नुवाकोट जिल्लाबासी सवै धोत्लनैपर्ने भएको छ ।

  नुवाकोट र के पी ओली : नुवाकोट जिल्लाको रणनीतिक महत्व पृथ्वीनारायण शाहपछि कसैले बुझेको छ भने केपी ओलीले मात्र बुझेको देखिन्छ । नुवाकोट जिल्लावासीले नुवाकोटको रणनीतिक महत्व कहिले बुझेन । नुवाकोट जिल्लाको रणनीतिक महत्व बुझेरै गत निर्वाचनमा नुवाकोटलाई वागमती प्रदेशको राजधानी वनाउनु पर्दछ भन्ने मुद्दा नुवाकोट सरोकार समाजले उठाएको थियो । यो मुद्दालाई राजनितीक दलले त्यो उचाईमा पु¥याउन चाहेनन् । आज नेकपा विघटनको स्थितीमा पुगेको छ । नुवाकोट जिल्लाबाट निर्वाचित संघीय सांसद दुवै जना केपी ओलीको विरुद्ध अर्को खेमामा लाग्नुभएको छ । प्रचण्ड–माधव समूहमा लाग्नुभएका संघीय तथा प्रदेस, पालिकाका जनप्रतिनिधीले नुवाकोटको यो रणनीतिक महत्व बुझ्नुभएको जस्तो लाग्दैन । नुवाकोटको जनप्रतिनिधी नुवाकोट जिल्ला र देशकै सम्बृद्धिको चिन्ता गरिरहनुभएको हो भने केपी ओलीको नेकपामा उभिन आवश्यक देख्दछु । केपीको नेतृत्वमा मात्र नुवाकोट र नेपालकै रणनीतिक महत्व वोकेको टोखा छहरे र वेत्रावती–रसुवागढी सुरुङमार्गको आयोजना सम्पन्न हुन सक्दछ । आज नुवाकोट जिल्लाले आफ्नो रणनीतिक महत्वको अवस्थिती नबुज्ने हो भने फेरी पनि केपीले शुरु गरेका गल्छी–रसुवागढी सडक अधुरै रहने, टोखा छहरे र बेत्रावती–रसुवागढी सुरुङमार्ग शुरु नै हुने छैन । नुवाकोट जिल्ला फेरी पनि अन्धकार युगमै रहन बाध्य हुनेछ । आज नुवाकोट जिल्लाका बुद्धिजीवी र सचेत सवै नागरिकले नुवाकोटको यो बास्तविकता बुझ्न आवश्यक छ । नुवाकोट जिल्ला राजधानीसँग जोडिएर पनि शिक्षा स्वास्थ्य सडक सञ्जाललगायतमा पछाडी पर्नुको कारण खोतल्न जरूरी छ ।

नुवाकोट जिल्ला थुप्रै राष्ट्रिय राजनीतिकका खेलाडी जन्माउने जिल्ला पनी हो । पञ्चायती कालखण्डका जितसिह खड्का, प्रकासचन्द्र लोहनीदेखि २०४६ पछि डा.रामशरण महत, अर्जुननरसिंह केसी जस्ता राजनीतिका राष्ट्रियस्तरका खेलाडी जन्मिए । हरेक सरकारमा कुनै न कुनै मन्त्रालयको नेतृत्व सम्हाल्नुभयो । अर्थ, स्वास्थ्य, परराष्ट्र भौतिक पूर्वाधार जस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहँदा नुवाकोट झन्–झन् पछाडी पार्ने काम मात्र भयो । आज गल्छी–रसुवागढी सडक निर्माण शुरु नगरिएको थियो भने काठमाडौंदेखि नुवाकोट जाने बालाजु–रानीपौवा–पिपलटार सडकबाट यात्रा गर्न सकिने स्थिती नै रहने थिएन । बालाजु–रानीपौवा–पिपलटार सडक सुधार आयोजनाको नाममा नुवाकोट वन्द गर्ने परिस्थिति निर्माण गरिदै थियो । सात वर्षसम्म यो सडकको स्तरोन्नतीको नाममा सडक कब्जा गर्ने रणनीति बन्दै थियो । सडक स्तरोन्नतीको निर्माणको जिम्मेवारी भारतीय ठेकेदार कम्पनी र नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) काघरपेटीको संयुक्त लगानीमा स्थापित कम्पनीलाई ठेक्का दिने काम भयो । भारतकै आर्थिक सहयोगमा यो सडक बिस्तार गर्ने काम गरियो । तराईको हुलाकी राजमार्ग निर्माण गर्ने नाममा बिसौं वर्ष काम सम्पन्न नगर्ने रणनीतिनुसार बालाजु–रानीपौवा–पिपलटार सडकको स्तरोन्नतीको काम जिम्मा दिने काम भयो । आज नुवाकोटका बुद्धिजिवी र सचेत नागरिक सबैले यो यथार्ततालाइ मनन गर्नु आवश्यक छ । जननिर्वाचित प्रतिनिधी पटक–पटक नेपालको उत्तरी ढोका खोल्नै नदिने गोलचक्करमा फस्दै आएको देखिन्छ । यो गोलचक्करमा सबैभन्दा पहिला नुवाकोटकै जनप्रतिनिधीलाई फसाउने रणनीति सफल भएको देखिन्छ ।

नुवाकोट सरोकार समाजले उठाएको प्रादेशिक राजधानीको मुद्दा राजनीतिक नेतृत्वले उठाउने हिम्मत किन गरेन ? प्रचण्ड–माधव यो मुद्दामा किन छलफलसम्म गर्न चाहनु भएन । नेपाली काँग्रेसका उच्चस्तरीय नेताहरुले यो मुद्दामा किन एक शब्दसम्म उच्चारण गर्न चाहँदैनन् । एकाएक हेटांैडालाई वागमती प्रदेसको राजधानी बनाउन प्रचण्ड–माधव किन सहमत हुनुभयो ? नुवाकोटको रणनीतिक महत्व बुझ्ने र सोही अनुसार प्रादेशिक राजधानी निर्माण गर्न सकेको भए देशले सधैंभरी दक्षिणतिर मात्र भर पर्नुपर्ने बाध्यताको अन्त हुने थियो । आज नेपालको राजनिती गम्भीर मोडमा आईपुगेको छ । नुवाकोटको रणनीतिक महत्व बुझ्ने र सोही बमोजिम काम गर्ने केपीलाई नुवाकोटबासीको साथ आवश्यक छ । यदी केपीलाई साथ नदिने नेतृत्व नुवाकोटले जन्माउने र हुर्काउदै जाने हो भने नुवाकोट फेरी पनि अध्यारो सुरुङभित्र रहन बाध्य हुनेछ ।

रामलाल श्रेष्ठ
(लेखक : स्वतन्त्र, विश्लेशक सामाजिक अभियान्ता हुनुहुन्छ ।)