स्याफ्रु–रसुवागढी सडक स्तरोन्नती काम चैत्रदेखि

धुन्चे, रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडकखण्डको स्तरोन्नतिको काम आउँदो चैतदेखि सुरु हुने भएको छ ।

      नेपाल विद्युत् प्राधिकरणले जिम्म लिएको बिजुलीको पोल सार्ने काम आउँदो चैतसम्ममा सकिने भएकाले त्यस लगत्तै काम शुरु हुने भएको हो । चिनियाँ लगानीमा चिनियाँ निर्माण कम्पनीले जिम्मा पाएको स्तरोन्नतीको काम विद्युत्को पोल सार्न ढिलाई हुँदा शुरू हुन सकेको छैन । गत चैतदेखि विद्युत्को पोल सार्ने काम शुरु गरेको प्राधिकरणले आलटाल गर्दै काम नगरेको गुनासो स्थानीयले गरेका छन् । केही ठाउँमा मुआब्जा वितरण भई नसकेकाले बाँकी क्षेत्रमा पोल सार्ने काम भईरहेको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ । विश्वब्यापी फैलिएको कोरोना भाईरसको कारण काममा ढिलाई भएको र टेलिफोनको तार तथा फाईबर नेटवर्कको तार नसारिएको कारण ढिलाई भएको उनले स्विकारे । यसैगरी तातोपानी क्षेत्रमा मुआब्जा वितरण नभएका कारण स्थानीयको अवरोध र भौगोलिक विकटता लगायतका कारण काममा ढिलाई भएको प्राधिकरणले स्विकारेको छ ।

       स्याफ्रु चौकीदेखि रोङ्गापुल र रोङ्गापुलदेखि लिङलिङसम्मको पोल सार्ने काम अन्तिम चरणमा पुगेको छ । विगतको सम्झौताअनुसार प्राधिकरणले यही पुस महिनाभित्र पोल सार्नुपर्ने काम सकाउनुपर्ने भएपनि विविध कारणले चैत महिनासम्मको म्याद थप भएको छ । सडकखण्डमा पर्ने ३ सय २५ वटा पोल हटाउनुपर्नेमा करिव ५० प्रतिशत पोल हटाईएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजनाले जनाएको छ । साइड क्लिएर भएपछि काम शुरु हुने योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनु भयो । प्राधिकरणले चैतसम्ममा पोल सारी सक्ने जनाएको छ । सडकखण्डमा रहेका विद्युत्का पोल सार्ने, सडक क्षेत्रमा पर्ने घर टहरा हटाउने र तातोपानी क्षेत्रका प्रभावितलाई मुआब्जा दिने काम नेपाली पक्षले गर्नुपर्नेछ । यी तीनवटै काम सकिएपछि चिनियाँ पक्षले काम अघि बढाउने छ । रसुवागढी नाका जोड्ने यो सडकको स्तरोन्नती १४ महिना अघि शुरु गरिएको थियो । चिनियाँ टोली आएर २०७६ असोजमा नै स्तरोन्नती शुरु भएको घोषणा गरेको थियो । नेपाली पक्षले साइड क्लिएर गरेपछि स्तरोन्नती अघि बढाउने बताएर टोली चीन फर्किएको थियो । त्यसको केही महिनापछि विश्वब्यापी फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण काम प्रभावित बनेको हो ।

      ३९ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी चिनियाँ टोलीले काम अघि बढाएको भएपनि कोभिड–१९ ले पनि यसलाई प्रत्यक्ष असरका कारण समयावधि लम्बिएको हो । स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ । जसमा चिनियाँ पक्षले १५ दशमलव ८ किलोमिटर स्तरोन्नती गर्नेछ । यो अहिले एक लेनको कच्ची सडक हो । चिनियाँ पक्षले कालोपत्रेसहितको दुई लेनको सडक बनाउने छ । यो सडकखण्डको स्तरोन्नती चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो । योजनाका अनुसार तिब्बेत थियानलु कम्पनी लिमिटेडले सडकको स्तरोन्नती गर्नेछ । स्याफ्रुबेंसी–रसुवागढी सडकखण्डको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भईसकेको छ । तर निर्माण गरिएको डिपिआरले स्याफ्रुका बासिन्दालाई असर गर्ने देखिएपछि संसोधनको लागि प्रस्ताव गरिएको योजना प्रमुख भण्डारीले बताउनु भयो । सडक सिधा बनाउनका लागि छेउपटिका घर मात्र भत्काउने गरी डिपिआर तयार भएकाले संसोधन गर्न लागेको उहाँले जानकारी दिनु भयो ।

      उक्त सडक चीन सरकारले स्तरोन्नती गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । यो सडक निर्माण भएपछि नेपाल–चीनबीच हुने ब्यापारमा सहज हुने छ । गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम गरिँदै छ । गल्छी–मैलुङ पहिलो खण्ड, मैलुङ–स्याफ्रु दोस्रो खण्ड र स्याफ्रु–रसुवागढी सडक तेस्रो खण्ड हो । गल्छीदेखि रसुवागढीसम्म ८२ किलोमिटर दूरी रहेको छ ।