निजी आवास निर्माणमा रसुवामा साढे तीन अर्ब खर्च

  • त्रिशूली प्रवाह
  • २९ माघ २०७७, बिहीबार १०:४४
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लामा निजी आवास पुनःनिर्माणमा अहिलेसम्म ३ अर्ब ४९ करोड ६२ लाख ५० हजार रूपैयाँ खर्च भएको छ ।

       राष्ट्रिय पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाका प्रमुख विश्वराज मरासिनीले दिएको जानकारीअनुसार १२ हजार ८ सय ७६ लाभग्राही सूचिमा रहेका मध्ये १२ हजार ३ सय ४ जनाले मात्र निजी आवास निर्माण गर्न सम्झौता गरेका थिए । सम्झौता गरेका लाभग्राहीमध्ये ११ हजार २ सय २७ जनाले निजी आवास निर्माण गरेर अनुदान लगिसकेका छन् । भूकम्प गएको झण्डै ६ वर्षको अवधिमा ३ अर्ब ४९ करोड ६२ लाख ५० हजार रूपैयाँ अनुदान रकम वितरण भएको छ । अनुदानको पहिलो किस्ता ५० हजार रूपैयाँको दरले १२ हजार २ सय ८० जना लाभग्राहीले ६१ करोड ४० लाख बुझेका थिए । त्यसैगरी, ११ हजार ७ सय ३७ जनाले दोस्रो किस्तावापत १ लाख ५० हजारको दरले १ अर्ब ७६ करोड ५ लाख ५० हजार र ११ हजार २ सय १७ जनाले तेस्रो किस्तावापत सम्झौताअनुसार घर निर्माण सम्पन्न गरेर १ लाखको दरले १ अर्ब १२ करोड १७ लाख रकम वितरण भईसकेको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जानकारी दिएको छ ।

      रसुवाको ५ वटा गाउँपालिकामध्ये नौकुण्ड गाउँपालिकामा निजी आवास निर्माण सबै भन्दा बढी र सबै भन्दा कम आमाछोदिङ्मो गाउँपालिकामा भएको छ । नौकुण्ड गाउँपालिकामा ३ हजार २ सय २४, कालिका गाउँपालिकामा २ हजार ५ सय ४, उत्तरगया गाउँपालिकामा २ हजार १ सय २, गोसाइँकुण्ड गाउँपालिकामा १ हजार ७ सय १७ र आमाछोदिङ्मो गाउँपालिकामा १ हजार ६ सय ७० गरी ११ हजार २ सय १७ निजी घर निर्माण सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । रसुवा जिल्लामा निजी आवास पुनःनिर्माणमा सहयोग गर्न आएका ६ वटा गैरसरकारी संस्थामध्ये बतास फाउन्डेसनले १ सय ५२, ओएम नेपालले ६ वटा, नेपाल रेडक्रसले ४ सय ३८, लुमन्तीले २ सय ४६ र एमडब्लुएफले ९१ घर निर्माण सम्पन्न गरेका छन् ।