फोहोर व्यवस्थापन गर्न सेक्रिगेसन हाउस

  • त्रिशूली प्रवाह
  • ६ फाल्गुन २०७७, बिहीबार १४:२६

विदुर, विदुर नगरपालिकाभित्र उत्सर्जित फोहोरको उचित व्यवस्थापनका लागि सेक्रिगेसन हाउस सोमबारदेखि सञ्चालनमा आएको छ ।

      नगरपालिकामा अहिले दैनिक १४ टन फोहोर उत्पादन हुँदै आएको नगरपालिकाको सरसफाइ वातावरण तथा फोहोरमैला व्यवस्थापन शाखाले जनाएको छ । नगरक्षेत्रमा उत्पादन हुने फोहोरलाई मोहोरमा बदल्न नगरपालिकाले एकीकृत फोहोर व्यवस्थापन प्रणालीअन्तर्गत निजी क्षेत्रसँग सहकार्य गरी फोहोरको व्यवस्थापन गर्दै आएको छ । विदुर नगरपालिका-९ मा निर्माण भएको फोहोर सेक्रिगेसन हाउसको उद्घाटन गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरपालिकाभित्र उत्पादन भएका सबै फोहोरको स्रोतबाट नै छुट्याएर सङ्कलन गरी व्यवस्थापन गर्ने प्रणालीमा नगरपालिका पुगेको बताए ।

     फोहोरको वैज्ञानिक पद्धतिबाट नियन्त्रण तथा व्यवस्थापन गर्ने प्रणालीअनुसार केन्द्र सरकारको ससर्त अनुदान कार्यक्रमबाट सेक्रिगेसन हाउस निर्माण भएको उनले जानकारी दिए । नगरपालिकाको सबै वडामा गठन भएका विभिन्न टोल विकास संस्थामार्फत फोहोरको सङ्कलन तथा व्यवस्थापन प्रणली अपनाउने नगरपालिकाको लक्ष्य रहेकोसमेत बताए । टोल विकास संस्थामार्फत घर–आँगनमा उत्सर्जन भएको फोहोरमैलाको घरबाटै व्यवस्थापन गर्ने प्रणाली अपनाउन नगरपालिकाले सुरु गरिरहेको छ ।

      उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाकी उपप्रमुख गीताकुमारी दाहालले घरबाट नै फोहोरलाई व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहोर छुट्याउन दुईवटा बाल्टिन वितरण गरिसकेको बताए । घरमा उत्पादन भएको कुहिने फोहोरलाई कम्पोस्ट मलको रूपमा प्रयोग गर्नको र अजैविक फोहोरको व्यवस्थापन नगरपालिकाले गर्ने बताए । कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले फोहोर सङ्कलन र व्यवस्थापनलाई वैज्ञानिक प्रणालीमार्फत गर्दा नगरपालिकामा रोजगारीको समेत सिर्जना हुने बताए । फोहोरको रूपमा रहेको अजैविक वस्तुको सङ्कलन गरी पुनः प्रयोग गर्न सकिने उनले बताए ।

     जैविक वस्तुलाई कम्पोस्ट मलको रूपमा निर्माण गरी कृषि प्रणालीमा लगाउन सेक्रिगेसन हाउस सञ्चालनले सहयोग पुग्ने धारणा उनले राखे । सेक्रिगेसन हाउसको उद्घाटन कार्यक्रममा विदुर नगरपालिका-१ का वडाध्यक्ष एवं फोहोरमैला व्यवस्थापन समितिका संयोजक लेनिन रञ्जितले विश्वका विभिन्न मुलुकमा फोहोरको उचित प्रयोग गर्दै ऊर्जा उत्पादन गरेको इतिहास रहेको बताए । नगरपालिकाले उत्सर्जित फोहोर सुरुबाट नै वैज्ञानिक पद्धतिले व्यवस्थापन सुरु गरेमा भविष्यमा सफा सहर निर्माणमा टेवा पुग्ने उनले बताए । विदुर नगरपालिका आफैँले सङ्कलन तथा व्यवस्थापन गर्दै आएको फोहोरलाई पुनः प्रयोग गर्नको लागि निजी-साझेदारी कार्यक्रमअन्तर्गत निजी क्षेत्रसँग सहकार्य गरेको हो ।

      हाल नगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गर्दै नगरमा उत्सर्जित फोहोरको स्रोतबाट नै उचित व्यवस्थापन प्रणाली लागू गर्दा उत्पादन भएका सीमित फोहोरको व्यवस्थापन गर्न सहज हुनेछ । फोहोर व्यवस्थापनको पाटो जटिल बन्दै गइरहेको समयमा स्रोतमा नै जैविक र अजैविक फोहोर छुट्याउन थालेसँगै ५० प्रतिशत व्यवस्थापन सहज भएको छ ।