उद्योग वाणिज्य सङ्घको १७औँ साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • ६ फाल्गुन २०७७, बिहीबार १४:३०

विदुर, नुवाकोट उद्योग वाणिज्य सङ्घको १७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

     साधारणसभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले गरेका थिए । नुवाकोटमा रहेको औद्योगिक विकास र सम्भावनालाई कार्यान्वयनमा ल्याउन व्यवसायीलाई उनले आग्रह गरे । विदुरमा भएको साधारण सभामा उनले नुवाकोट हुँदै सञ्चालनमा आएको रसुवागढी-ठोरी अन्तर्राष्ट्रिय मार्ग, जलविद्युत् उत्पादन, कृषिका लागि पर्याप्त जमिन भएकोले आगामी दिनमा औद्योगिक विकासका लागि नुवाकोट मुख्य स्थान हुन सक्ने बताए । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बजार तथा व्यवसाय क्षेत्रलाई प्रभावकारी बनाउन अनुगमन तथा प्रशिक्षण कार्यक्रम, गाउँगाउँमा करसम्बन्धी शिविर सञ्चालन गर्दै जिल्लामा उत्पादन भएका पुँजीलाई व्यवसायमा लगानी गर्न प्रोत्साहन पु¥याउँदै आएको बताए ।

      सङ्घले साधारणसभाको अवसरमा नुवाकोटका सफल उद्यामी तथा व्यवसायको रूपमा सञ्चालमा रहेर धेरै जनशक्तिलाई रोजगारी प्रदान गराउँदै आएको उद्यमीलाई सम्मान गरेको थियो । कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पिपलटार-ढुङ्गे सडकखण्डको मुद्दा फिर्ता लिएमा मुआब्जाको व्यवस्था गर्ने बताए । गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी सडकअन्तर्गत नुवाकोटको विदुर नगरपालिका-५ को पिपलटारदेखि वडा नम्बर-१ ढुङ्गेसम्म मुआब्जा विवादका कारण सडक विस्तारको काम रोकिएको भन्दै पिपलटारदेखि ढुङ्गेसम्मका स्थानीयले सर्वाेच्च अदालतमा सडक आयोजनाविरुद्ध मुद्दा दर्ता गराएको भन्दै मुद्दा फिर्ता लिएमा कुनै पनि हालतमा सडक प्रभावितलाई मुआब्जा दिलाउने उल्लेख गरे ।

      सो कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले विदुर नगरपालिकामा उद्योग व्यवसायी सञ्चालनका लागि आवश्यक वातावरण बनाउन लागिरहेको बताए । उनले भने, ‘कुरा गर्नेभन्दा काम गर्ने उद्योगी-व्यवसायीलाई नगरपालिकाले सहयोग गर्दै पूर्वाधार निर्माण गरिरहेको छ ।’ साधारणसभामा सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन, महासचिव कृष्णप्रसाद अधिकारीले प्रगति प्रतिवेदन, अध्यक्ष ताराबहादुर कार्कीले वार्षिक प्रतिवेदन तथा भावी योजना प्रस्तुत गरेका थिए । सङ्घका कोषाध्यक्ष श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै सङ्घमा तीन हजारभन्दा बढी उद्योगी-व्यवसायी आबद्ध रहेको बताए ।