सहुलियत कर्जाका लागि शिवपुरीमा त्रिपक्षीय सम्झौता

  • त्रिशूली प्रवाह
  • ६ फाल्गुन २०७७, बिहीबार १४:५३

बुढिसेरा, नुवाकोटको शिवपरी गाउँपालिकामा नेपाल राष्ट्र बैंकद्वारा जारी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ (तेस्रो संशोधन २०७७) बमोजिम त्रिपक्षीय सम्झौता सोमबार भएको छ ।

सानिमा बैंक शिवपुरी शाखा, नुवाकोट उद्योग वाणिज्य सङ्घ र शिवपुरी गाउँपालिकाबीच उद्यमशील कर्जा लगानी गर्न त्रिपक्षीय सम्झौता भएको छ । गाउँपालिका क्षेत्रभित्र उद्यमी व्यवसायीका लागि उद्यमशील कर्जा गाउँपालिकाको सिफारिसमा लगानी गर्ने तथा बैंकद्वारा लगानी गरिएका उद्यमीलाई शिवपुरी गाउँपालिका तथा नुवाकोट उद्योग वाणिज्य सङ्घले प्राविधिक सहयोग गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रम गाउँपालिकाको कार्यालय शेराबगरमा सम्पन्न भएको थियो । सम्झौतामा गाउँपालिकाको तर्फबाट अध्यक्ष रामकृष्ण थापा, नुवाकोट उद्योग वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष ताराबहादुर कार्की र बैंकको तर्फबाट सानिमा बैंकका शिवपुरी शाखाका प्रबन्धक रमेश पण्डितले हस्ताक्षर गरेका छन् । यो सम्झौताको समयावधि नेपाल राष्ट्र बैंकबाट ब्याज अनुदान कार्यविधिले तोकेबमोजिम रहने बताइएको छ । पूर्णिमा कार्यक्रमबाट शिवपुरी गाउँपालिकामा कार्यरत योजना सल्लाहकार राम खड्काले हस्ताक्षर कार्यक्रमको सञ्चालन तथा नुवाकोट उद्योग वाणिज्य सङ्घका कार्यक्रम संयोजक घनेन्द्रप्रसाद रिजालले सम्झौताको पृष्ठभूमि तथा पक्षको बारेमा प्रकाश पारेका थिए । सम्झौताअनुसार प्राप्त गर्ने कर्जा, सीमा तथा समयावधिबारे जानकारी गराउँदै यस्तो कर्जा लिने ऋणीले प्राप्त गर्ने ब्याज अनुदानबाहेकका सुविधाबारे समेत संयोजक रिजालले जानकारी गराएका थिए ।

सो कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले आगामी दिनमा शिवपुरी गाउँपालिका क्षेत्रको आर्थिक विकासका लागि सङ्घले निरन्तर सहयोग गर्ने र यस क्षेत्रका उद्यमीको विकासका लागि लिखु, पञ्चकन्या तथा शिवपुरी गाउँपालिकामा उद्यम विकास प्रवद्र्धन गर्नका लागि सङ्घले विशेष व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्झौताका सर्तको पालना गर्नका लागि सङ्घले आवश्यक नीतिगत निर्णय तथा अन्य व्यवस्थापनसमेत गरिरहेको जानकारी गराएका थिए । सङ्घले यसअघि समेत विभिन्न पालिका तथा बैंकबीचमा त्रिपक्षीय सम्झौता गरिसकेको कारण कार्यान्वयनका लागि सङ्घले शाखा विस्तार तथा व्यवसाय सहायता कक्षको सेवा प्रभावकारी गराउनका लागि पूर्णिमा कार्यक्रमसँग सहकार्य गरी व्यवसाय सहायता कक्ष अधिकृत नियुक्त गरेका कारण जनशक्ति समस्या नरहेको तथा मागमा आधारित सेवा प्रवाहमा सङ्घ निरन्तर रूपमा लाग्ने जानकारी गराए ।
सानिमा बैंकको तर्फबाट शिवपुरी शाखा प्रमुख रमेश पण्डितले बैंकद्वारा कृषि क्षेत्र, महिला उद्यमी तथा दलित समुदाय स्वरोजगार कर्जाको माग बढी भएको र यस शाखामार्फत यसअघि पनि करिब दुई करोड रुपैयाँ सहुलियत कर्जा प्रवाह भइसकेको जानकारी गराए । गाउँपालिका तथा नुवाकोट उद्योग वाणिज्य सङ्घको सहयोगमा यो कर्जा प्रवाह गर्न बैंकलाई थप उत्साह तथा दायित्व बढेको जानकारी गराए । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले गाउँपालिकाको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि पालिकाको नीति तथा कार्यक्रममा समेत उच्च प्राथमिकता दिइएको कारण आजको यो कार्यक्रम गर्न सम्भव भएको उल्लेख गरे ।

शिवपुरी गाउँपालिमा कृषि उद्यम तथा पशुपालन व्यवसाय सञ्चालनका हिसाबले उच्च सम्भावना भएकाले यस क्षेत्रमा त्यस्तो उद्यम व्यवसाय सञ्चालन गरेमा पालिकाद्वारा गर्नुपर्ने सहयोगका लागि सदैव पालिका तयार रहने र ढुक्क भएर लगानी गर्नका लागि बैंकलाई आग्रहसमेत गरे । उनले पालिकाको आर्थिक विकासमा पूर्णिमा कार्यक्रम, नुवाकोट उद्योग वाणिज्य सङ्घलगायतले गरेको योगदानको समेत प्रशंसा गर्दै सम्झौताका प्राविधिक पक्षमा सहयोग गरेकोमा पूर्णिमा कार्यक्रमलाई धन्यवाद दिएका थिए । नुवाकोट जिल्लामा यसअघि सहुलियतपूर्ण कर्जा प्रदान गर्न विदुर नगरपालिका र नेपाल बैंक लि., तादी गाउँपालिका र कृषि विकास बैंक, शिवपुरी गाउँपालिका र एभरेष्ट बैंक र ज्योति विकास बैंक तथा सानिमा बैंकबीच बेलकोटगढी नगरपालिकासँग सम्झौता भएर व्यवसायीले सहुलियतपूर्ण कर्जा प्राप्त गर्न थालिसकेको नुवाकोट उद्योग वाणिज्य सङ्घको पूर्वअध्यक्ष शरण उत्सुक सापकोटाले बताए । यस्तो ऋण प्राप्त गर्न व्यवसाय दर्ता गरी स्थायी लेखा नम्बर प्राप्त उद्योगी व्यवसायी हुनैपर्छ भने ऋणको प्रकृतिहेरी बैंकले अन्य कागजात माग गर्ने गर्दछ ।

सहुलियतपूर्ण कर्जाको भुक्तानी अवधि पाँच वर्षको हुने गर्दछ भने मासिक रूपमा आम्दानी गरी कर्जाको किस्ता बुझाउनुपर्ने बैंकले जानकारी गराउने गरेका छन् । सहुलियतपूर्ण कर्जाका कारण सम्भावना तथा जाँगर भएर पनि बेरोजगार भएका युवाले अधिकतम फाइदा प्राप्त गर्न सक्ने देखिएको छ । साहुबाट ऋण लिँदा चर्को ब्याज तिर्नुपर्ने र व्यवसायको कमाइले कर्जा चुक्ता गर्न नसकेको कारण धेरै मानिस व्यवसायी बन्न नसकिरहेको अवस्थामा यस्ता किसिमका कर्जाले सम्भावना भएका क्षेत्रमा स्रोतको उपयोग तथा स्वरोगारी बढ्दै जाने सङ्घका सल्लाहकार बलराम कार्कीले बताए । यो कर्जामा नवउद्यमीको आकर्षणसमेत भएको पाइएको छ । यस्तो किसिमको कर्जा प्रवाहले स्वरोजगारी वृद्धि हुने तथा ग्रामीण अर्थतन्त्रमा समेत विकास हुनेछ ।