हुलाकबाट चलान निषेधित वस्तु

  • त्रिशूली प्रवाह
  • ६ फाल्गुन २०७७, बिहीबार १५:२३
  • कौशिक नवराज

हुलाकबाट चिठीपत्रलगायतका अन्य हुलाक वस्तुहरू एक ठाउँबाट अर्को स्थानमा पु¥याउने काम विश्वका विभिन्न हुलाक कार्यालयबाट सदियौँ वर्ष पहिलेदेखि भइरहेको छ । यस क्रममा हुलाकबाट पठाउन सकिने र पठाउन नसकिने विषयको पनि व्यवस्था गरिएको देखिन्छ । नेपालमा हुलाक ऐन, २०१९ तथा नियमावली, २०२० र अन्य प्रचलित ऐन र नियमले हुलाकबाट ओसार-प्रसार गर्न निषेध गरेका हुलाक वस्तुबारे उल्लेख गरिएको छ । हुलाकबाट कुनै वस्तु चलान गर्न निषेध गर्नुका विभिन्न कारण हुन सक्छन् । यसमध्ये प्रमुख कारण जनसाधारणको स्वास्थ्य र सुरक्षामा खलल नपु¥याई राज्यमा सदाचार कायम गराउने नै देखिन्छ । यसका साथै हुलाकमा कार्यरत वा हुलाक वस्तुको ओसार-प्रसारमा संलग्न व्यक्ति वा संस्थालाई कुनै रूपमा हानि-नोक्सानी हुनबाट बचावट गर्नु पनि एक हो ।

निषेध किन : हुलाकबाट कुनै वस्तु चलान गर्न निषेध गरिन्छ भन्ने प्रश्न उठ्न सक्छ-निषेध केका लागि । हुलाकमा कार्यरत कर्मचारीको सुरक्षाका लागि यसका साथै कुनै वस्तु चलान गर्न निषेध गरिएको अवस्थामा यसले जनतामा सदाचार र नैतिकता कायम गर्न पनि मद्दत पुग्ने देखिन्छ । हुलाक वस्तु, डाँक थैला हुलाक अड्डा तथा हुलाक कार्यालयको भौतिक सुरक्षा गर्न पनि यसले मद्दत पुग्ने देखिन्छ । कतिपय निषेध गरिएका वस्तुको माध्यमबाट अन्य राष्ट्रसँग आपसी सौहार्दता र मित्रता खलबलिन नदिनका लागि सहयोग गर्ने देखिन्छ । यसका अतिरिक्त विश्व हुलाक सङ्घको परिपत्र र दुई देशबीचको सम्झौता कार्यान्वयन गर्नका लागि मद्दत पुग्ने देखिन्छ ।

ऐनले निषेधित वस्तु : हुलाक ऐन, २०१९ को परिच्छेद ५ को दफा १६ मा देहायका हुलाक वस्तु एक हुलाकबाट अर्को हुलाकमा चलान गर्न निषेध गरिएको देखिन्छ । जसमा विस्फोटक, खतरनाक, घिनलाग्दो, अस्वस्थकर वा हानिकारक वस्तु, बचाउको प्रबन्ध नभएको तिखो धार वा चुच्चो भएको हतियार वा हुलाकबाट चलान हुँदा स्वभावत अरू हुलाक वस्तुलाई वा हुलाक कार्यालयका कर्मचारीलाई हानि पु¥याउने सक्ने अरू चिज वस्तु वा जीवजन्तु । यसका साथै अश्लील, अपमानजनक, अशिष्ट, उत्तेजनात्मक वा शान्ति सुरक्षा खलबल्याउने शब्द चिह्न वा आकार भएको हुलाक वस्तु । छापाखाना र प्रकाशनसम्बन्धी प्रचलित नेपाल कानुनले प्रकाशन गर्न मनाही गरेको पत्रपत्रिका, किताब वा अरू लिखत । छापाखाना र प्रकाशनसम्बन्धी प्रचलित नेपाल कानुनको रित नपु¥याई सम्पादन गरिएको, छापिएको वा प्रकाशित गरिएको समाचार वा पत्रपत्रिका । जुन मुलुकमा पठाइने हो त्यस्तो मुलुकले हुलाकबाट पठाउन निषेध गरिएका वस्तु । यसका साथै प्रचलित नेपाल कानुनले वा यो ऐनअन्तर्गत बनेका नियमले हुलाकबाट पठाउन निषेध गरिएका वस्तु हुलाकबाट चलान गर्न निषेध गरिएको छ । यसका साथै हुलाक ऐनका अन्य दफामा पनि के-कस्ता विषय चलान गर्न नहुने भनेर स्पष्ट लेखिएको छ । जसमा लागुऔषध र अन्य हानिकारक जीवजन्तु । भन्सार ऐनअनुसार निकासी पैठारीको लागि रित नपुगेका हुलाक वस्तु तथा मालसामान पनि हुलाकबाट चलान गर्न निषेध गरिएको देखिन्छ । निकासी–पैठारीसम्बन्धी प्रचलित कानुनले निकासी पैठारीका लागि निषेधित गरिएका माल वस्तु र सामान यसका साथै सङ्कटकालीन अवस्थामा र सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याउने किसिमका सर-सामान पनि चलान गर्न निषेध गरिएको देखिन्छ । नक्कली टिकट वा चलान भइसकेका खोटा टिकट प्रयोग गरी हुलाक वस्तु पनि दाखिला गर्न निषेध गरिएको देखिन्छ ।

साधारण पत्रमा पठाउन निषेधित वस्तु : हुलाक ऐन, २०१९ को परिच्छेद ५ को दफा १६ ‘क’ मा साधारण पत्रद्वारा हुलाक वस्तु पठाउन निषेध गरिएको देखिन्छ । साधारण पत्रद्वारा नगद, चेक, ड्राफ्ट, हुन्डी वा त्यस्तै चिजवस्तु पठाउन हुँदैन । यसरी पठाउन नहुने चिजवस्तु कसैले साधारण पत्रबाट पठाउँदा त्यस्तो चिजवस्तु हानि-नोक्सानी हुन गएमा हुलाक कार्यालय त्यसको जवाफदेही हुनेछैन । हुलाक नियमावली, २०२० को नियम २९ (ख) मा रजिस्ट्री गर्न अनिवार्य हुने वस्तु रजिस्ट्री नगरिएको भएमा सो हुलाक वस्तुमा लाग्ने रजिस्ट्री वस्तुको दुई गुणा दस्तुर डेलिभरी लिने ठेगानावाला वा प्रेषकबाट असुल गर्नुपर्ने व्यवस्था गरिएको देखिन्छ । यसको अर्थ हुन्छ हुलाक कार्यालयले पत्र पठाउँदा साधारण र रजिस्ट्री गरी दुई प्रकारले पठाउन सक्छ जसमा रजिस्ट्री पत्रमा नम्बर अङ्कित हुन्छ जसको गन्तव्यतर्फ जाने क्रममा प्रत्येक हुलाक कार्यालयमा रेकर्ड बस्ने हुन्छ जसले गर्दा हराउने वा हराएमा ट्रयाक गर्न सकिने अवस्थाले गर्दा महत्वपूर्ण चिजवस्तु साधारण पत्रमा पठाउन निषेध गरिएको देखिन्छ र यस्तो पत्र हराएमा हुलाक कार्यालयमा ट्रयाक गर्न नसकिने अवस्थाले गर्दा हुलाक कार्यालय जवाफदेही नहुने व्यवस्था गरिएको हुन सक्छ ।

पुलिन्दामा चलान निषेध वस्तु : हुलाक नियमावली, २०२० को नियम २० अनुसार पुलिन्दाभित्र राखी देहायका हुलाक वस्तु चलान गर्न निषेध गरिएको देखिन्छ । प्रचलित ऐन वा नियमावलीअन्तर्गत निषेध गरिएको वा निषेध हुने वस्तु । यसैगरी नेपाल सरकारद्वारा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालभित्र-बाहिर आयात-निर्यात गर्ने वा एक जिल्लाबाट अर्को जिल्लामा ल्याउन लैजान मनाही गरिएका वस्तु । यसका अतिरिक्त नेपाल सरकारद्वारा यस सम्बन्धमा अधिकार प्राप्त अधिकारीद्वारा नेपालभित्र-बाहिर आयात-निर्यात गर्न वा एक जिल्लाबाट अर्को जिल्लामा ल्याउन-लैजान मनाही भएक वस्तु चलान गर्न निषेध गरिएको देखिन्छ । यसका साथै वैज्ञानिक तथा डाक्टरी उपयोगमा आउने वस्तुबाहेक अन्य मादक पदार्थ । माहुरी, रेसमकिरा वा नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थाका बीच आदान-प्रदान भएमा खराब कीटाणुनाशक कीटाणुभन्दा बाहेक अन्य जीवित कीटाणु र भन्सार महसुल लाग्ने चिजलाई छल्ने किसिमबाट पठाइएका वस्तु ।

सजायको व्यवस्था : हुलाक ऐन, २०१९ को दफा १६ अनुसार निषेधित वस्तु हुलाकबाट पठाउनका निम्ति दिएमा निजलाई बढीमा एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय भनेर किटान गरिएको देखिन्छ । यसैगरी हुलाक नियमावली, २०२० को नियम २१ मा कुनै निषेधित वस्तु खामिएमा हुलाक वस्तु पारबहन कालमा प्राप्त भएमा सो वस्तु प्रेषकलाई फिर्ता दिने विषय ऐनको दफा ५४ बमोजिम हुलाक सेवा विभागको महानिर्देशकलाई निर्देशन दिने अधिकार हुनेछ । हुलाक नियमावली, २०२० को नियम ६७ अनुसार ऐनको दफा १९ ले उल्लेख गरेको प्रचलित कानुनबमोजिम नेपालभित्र वा बाहिर निकासी वा पैठारी गर्न मनाही भएको कुनै मालसामान हुलाकबाट निकासी–पैठारी हुन लागेको छ भन्ने शङ्का लागेमा त्यस्ता मालसामान वा डाँक नै रोक्का राखी सो कुराको तलासी लिने वा लिन लगाउने अधिकार नेपाल सरकारबाट अधिकारप्राप्त अधिकारीलाई हुनेछ भनिएको छ । जसमा गोश्वारा हुलाकको हकमा प्रमुख हुलाक अधिकृत, यसैगरी जिल्ला हुलाकको हकमा हुलाक अधिकृत, इलाका हुलाकको हकमा हुलाक हाकिम र क्षेत्रीय हुलाकको हकमा क्षेत्रीय प्रमुखलाई यस्तो हक हुने भनेर व्यवस्था गरिएको देखिन्छ ।

चलान निषेधित वस्तु खामिएमा के गर्ने त :  हुलाक ऐन, नियम र प्रचलित अन्य कानुनले बर्जित गरेका वस्तु हुलाकबाट चलान भएमा के गर्ने त भन्ने प्रश्न उठ्न सक्छ । यसका लागि हुलाक वस्तु दर्ता गर्न आएमा काउन्टरको कर्मचारीलाई शङ्का लागेमा यसलाई छुट्याउने । अभिलेखमा जनाउन पनि सकिन्छ । आफूभन्दा माथिल्लो तहको कर्मचारीलाई तत्काल जानकारी दिन सकिन्छ । प्रचलित कानुनबमोजिम कारबाही गर्ने व्यवस्था पनि गर्न सकिन्छ । सत्यता परीक्षणका लागि ल्याब टेस्ट पनि गर्न सकिन्छ ।

निषेधित सम्भावित वस्तु र क्षेत्र : धेरै मूल्यको टिकट टाँसिएको चिठीपत्र यसमा पर्ने देखिन्छ । यसैगरी अन्धा साहित्य वा बेवारिसे चिठी पनि यसका सम्भावित वस्तुमा पर्ने देखिन्छ । प्रेषकको नाम र ठेगाना स्पष्ट नभएका साधारण पत्रमा यसको जोखिम अत्यधिक देखिन्छ । बुकपोस्ट गरी बीचमा बाँधिएका किताबका साथै गोश्वारा हुलाक कार्यालयको काउन्टर नम्बर १६ मा मसलाको धुलो वा औषधि हो भन्दै गाँजाको ओसार-प्रसार गर्न केही व्यक्ति लागिपरेको देखिन्छ । नयाँ कर्मचारी आएको थाहा पाएमा वा कर्मचारीलाई दबाब र प्रभाव पारी वा झुक्काएर पनि बेला-बेलामा केही समूह गाजा विदेश लैजाने धन्दामा सङ्गठित भएर लागेको देखिन्छ ।

नियन्त्रणका लागि के गर्ने त : हुलाक ऐन र नियमावलीका अतिरिक्त प्रचलित कानुनले तोकेका यस्ता वस्तु चलान हुनबाट रोक्नका लागि के गर्न सकिन्छ । यसका लागि के-कस्ता उपाय अवलम्बन गर्न सकिन्छ । निषेधित वस्तुका सम्बन्धमा कर्मचारीलाई समय-समयमा निर्देशन र विज्ञबाट तालिम दिन सकिन्छ । शङ्कास्पद वस्तुका लागि ल्याब टेस्टको लागि विशेषज्ञको सेवा लिन सकिन्छ । प्रहरीलाई पनि यस्ता शङ्कास्पद वस्तु वा स्थानबारे पूर्वसूचना वा जानकारी दिन सकिन्छ । हुलाक र जिल्ला प्रशासन यसैगरी प्रहरीका साथै कृषि पशु कार्यालय र स्वास्थ्यचौकीबीचमा पनि शङ्स्कास्पद वस्तुको निरीक्षणको लागि समन्वय गर्ने व्यवस्था मिलाउन र सहयोग आदान-प्रदान गर्न सकिन्छ । यसका साथै मिडियादेखि हुलाक पत्रिका र काउन्टरमा अपडेट भएका सूचना र पर्चा टाँस्न र निःशुल्क रूपमा वितरण गरेर यस सम्बन्धमा थप सतर्कता अपनाउन सकिन्छ ।

(लेखक : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा कार्यरत हुनुहुन्छ ।)

                                                                                                                                                                                                                                                               nabarajrimal66@gmail.com