अक्षय कोष स्थापना गर्न नगद हस्तान्तरण

  • त्रिशूली प्रवाह
  • १३ फाल्गुन २०७७, बिहीबार १३:२१

बुढिसेरा, नुवाकोटको शिवपुरी गाउँपालिका-५ सिलामेमा रहेको जानकी माध्यमिक विद्यालयमा ‘कृष्ण ज्ञानी’ अक्षय कोष स्थापना गर्न नेपाली सेनाका अवकाशप्राप्त सेनानी कुलबहादुर ढकालले नगद एक लाख प्रदान गरेका छन् । उक्त कोषको ब्याजबाट वर्षमा दुईजना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विद्यालयले जानकारी दिएको छ ।

       स्थानीय स्वर्गीय कृष्णबहादुर ढकाल र ज्ञानीमाया ढकालका ज्येष्ठ सुपुत्र नेपाली सेनाका अशकाशप्राप्त सेनानी कुलबहादुर ढकालले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा ‘कृष्ण ज्ञानी’ अक्षय कोष स्थापना गरेका हुन् । मातापिताको नाममा स्थापना गरिएको अक्षय कोषमा प्राप्त एक लाख २५ हजार रुपैयाँको ब्याजले छात्रवृत्ति उपलब्ध गराउने विद्यालयका प्रधानध्यापक नारायण थापाले बताए । सामाजिक व्यक्तित्व सेनानी ढकाल र उक्त विद्यालयमा कार्यरत भाइ हरिबहादुर ढकालले स्थापना गरेको कोषको रकमबाट प्राप्त हुने ब्याजले जेहेन्दार तथा आर्थिक रूपमा विपन्न एवम् शारीरिक रूपमा अशक्त रहेका छात्रा र छात्रमध्ये दुईजनालाई छात्रवृत्ति दिने विद्यालयले बताएको छ ।

     दाताहरूबाट प्राप्त भएको रकम कोषमा बचत गर्ने र त्यसबाट प्राप्त हुने ब्याजबाट छात्रवृत्ति उपलब्ध गराउन आवश्यकताको आधारमा मापदण्ड, कार्यविधि तथा समिति निर्माण गरेर पारदर्शी रूपमा सदुपयोग गर्ने विद्यालयका प्रधानाध्यापक थापाले बताए । विद्यालयको ३२औँ वार्षिकोत्सव तथा अभिभावक भेलामा सेनानी ढकालले ‘कृष्ण ज्ञानी’ अक्षय कोष स्थापनाका लागि उक्त रकमको हस्तान्तरण गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य एवं पूर्वयुवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङ, बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, समाजसेवी पदम उप्रेतीलगायत स्थानीय समाजसेवी, बुद्धिजीवी अभिभावकको उपस्थिति रहेको थियो ।