सुनचाँदी व्यवसायी सङ्घको अधिवेशन सम्पन्न

  • त्रिशूली प्रवाह
  • १३ फाल्गुन २०७७, बिहीबार १४:०४

बट्टार, नुवाकोट सुनचाँदी व्यवसायी सङ्घको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

      अधिवेशनले भीमराज बज्राचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको थियो । उक्त अधिवेशनबाट उपाध्यक्षमा प्रदीप शाक्य, सचिवमा सविन अमात्य, कोषाध्यक्षमा रमेश विश्वकर्मा र सदस्यमा बेगबहादुर सुनार, नन्दकुमार शाक्य, लावस शाक्य, शैलेन्द्र बज्राचार्य, राजकुमार सुनार, सुजन बज्राचार्य, राजु सुनार, ईश्वरबहादुर सुनार निर्वाचित भएको निर्वाचन समितिका प्रमुख शरण उत्सुक सापकोटाले जानकारी दिए । अधिवेशनबाट निर्वाचित अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यलाई निर्वाचन समितिका प्रमुख सापकोटाले शपथग्रहण गराएका थिए । अधिवेशन तथा सङ्घको सातौँ र आठौँ वार्षिक साधारणसभाको उद्घाटन नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले गरेका थिए । उनले सुन मागअनुसार सरकारले उपलब्ध गराउन नसकेको बताए । व्यवसायीको आवश्यकताअनुसार सुन उपलब्ध गराउन महासङ्घले सरकारसँग समन्वय गरिरहेको उनाको भनाइ छ । नेपालमा अहिले वार्षिक ५० अर्ब रुपैयाँको सुनको कारोबार हुँदा राज्यले आठ अर्ब रुपैयाँ राजस्व प्राप्त गरिरहेको जानकारीसमेत उनले दिए ।

       सो कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी सङ्घ बागमती प्रदेशका सभापति ज्योतिरत्न बज्राचार्यले सरकारले व्यवसायीलाई प्रमाणपत्र दिने सुन नदिने गरेकाले सरकारविरुद्ध मुद्दा राख्नुपर्ने बताए । सुन आवश्यकताअनुसार उपलब्ध गराइदिन सरकारलाई व्यवसायीले पटक-पटक आग्रह गरेको भए पनि सरकारले बेलाबेलामा अभाव सिर्जना गरिरहेको उनका भनाइ थियो । अब विदेशबाट सुन आयात गर्ने व्यवस्था मिलाउन व्यवसायीले सरकारलाई दबाब दिने कार्यक्रम ल्याउनुपर्ने धारणा उनले सो कार्यक्रममा राखे । नेपालमै रोजगार सिर्जना गर्न र विदेशी कालिगडलाई विस्थापित गर्न नेपाली परम्परागत गहनाको तालिम दिन लागेकोसमेत उनको भनाइ थियो ।

      सो कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की, नेपाल च्याम्बर अफ कमर्सका महासचिव केशव मिश्र, नुवाकोट सुनचाँदी व्यवसायी सङ्घका संस्थापक अध्यक्ष तेजबहादुर शाक्यलगायतले सुनचाँदी व्यवसायमा विदेशी कालिगडको दबदबा रहेकाले तिनीहरूलाई विस्थापित गर्न सके लाखौँ नेपालीले स्वदेशमै रोजगारी पाउने बताए । साधारणसभामा अध्यक्ष भीमराज बज्राचार्य, सचिव सविन अमात्य, कोषाध्यक्ष रमेश विश्वकर्माले प्रस्तुत गरेको प्रतिवेदन छलफल गरी पारित भएको उपाध्यक्ष प्रदीप शाक्यले जानकारी दिए । नुवाकोट सुनचाँदी व्यवसायी सङ्घमा दुईजना एसोसिएट र ९७ जना साधारण सदस्य आबद्ध रहेका छन् ।