रसुवागढी जलविद्युत्मा उपकरण जडान ठप्प

  • त्रिशूली प्रवाह
  • १३ फाल्गुन २०७७, बिहीबार १५:०४

टिमुरे, रसुवा जिल्लाको टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्य जनशक्तिको अभावले ठप्प भएको छ ।

       जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इन्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत २०७६ चैत ८ गते देखि देश छोडी हिँडेका कारण विद्युत् उत्पादनका उपकरण जडानको कार्य ठप्प भएको हो । उपकरण जडान छिटो सम्पन्न गराउन उक्त कम्पनीलाई ताकेता गरिए पनि यथेष्ट जनशक्ति अझै उपलब्ध नगराएको रसुवागढी जलविद्युत् आयोजनाले बताएको छ । भूमिगत संरचनाको विद्युत्गृहमा निर्माण गर्नुपर्ने सिभिल संरचनातर्फको काम प्रायः पूरा भइसकेको अवस्थामा भोइथ इन्डियाले ढिलासुस्ती गर्दा टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था सिर्जना भइरहेको कार्यरत प्राविधिकले बताएका छन् ।

       भोटेकोसीको पानीलाई सदुपयोग गर्दै १११ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१४ देखि निर्माण कार्य सुरु भएको रसुवागढी जलविद्युत् आयोजनामा निर्माण गर्नुपर्ने चार हजार १८५ मिटर सुरुङ गत २०७६ साल भदौ ४ गतेदेखि तयार भइसकेको अवस्थामा पछिल्लो समय उपकरण जडानको ढिलासुस्तीले निर्धारित समयमा विद्युत् उत्पादन नहुने भएको छ । प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका तीनवटा फ्रान्सिस टर्वाइनसहितका ९५ प्रतिशत उपकरण आयोजना स्थलमा पुगे पनि जडानको जिम्मा लिएको भोइथ इन्डियाले कोभिड-१९ को कारण दर्शाउँदै आलटाल गर्दै आइरहेको छ ।

     सरुङलगायतका अन्य संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सिडब्लुईले छिटोछरितो आफ्ना काम अगाडि बढाइरहेको र कामदारलगायत सबैको हितका लागि विद्युत् आयोजनाको तर्फबाट कोभिड-१९ बाट सुरक्षित पार्ने क्वारेन्टिनका साथै उपचारको व्यवस्थासमेत मिलाइसकेको अवस्थामा उपकरण जडानकर्ता भोइथ इन्डियाको गैरजिम्मेवारीपनले आयोजनाको लागत बढ्ने भएको छ । आगामी २०७९ साल जेठ मसान्तसम्म विद्युत् उत्पादन गरिसक्नुपर्ने पछिल्लो कार्यतालिका तयार भइसकेको बताउँदै आयोजनाका प्रमुख छवि गैरेले यथेष्ट जनशक्ति पठाउन भोइथ कम्पनीलाई ताकेता गरिरहेको बताए । विद्युत्गृृहका उपकरण जडान गराउन एक वर्षको समय लाग्ने अनुमान गरिएको छ ।

      कर्मचारी सञ्चय कोषको ऋण सहयोगअन्तर्गत ब्याजबाहेक १३ अर्ब ६५ करोडको लागतमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले समग्रमा ८० प्रतिशत प्रगति पूरा गरिसकेकोसमेत आयोजना प्रमुख गैरेले जानकारी दिए । ब्याजको व्ययभार कम गर्न प्राप्त गरिने ऋण कार्यप्रगतिको आधारमा किस्ता-किस्ताको दरले लिने गरेको आयोजनाले बताएको छ । आयोजनाको भूमिगत संरचनाअन्तर्गत मुहानतर्फ बाँध बाँध्ने कार्य पनि प्रायः पूरा भएको, सात सय १३ मिटर लम्बाइको टेलरेस सुरुङको ब्रेकथ्रु सम्पन्न भई थोरै भागको सफाइ गर्न बाँकी रहेको र १६ मिटर चौडाइ र ६१ मिटर उचाइको सर्च ट्याङ्कको निर्माणकार्य भइरहेको छ । बालुवा थिग्य्राउने डिसेन्ड्री पोखरीमा जडानका लागि चीनबाट मगाइएका सामग्री भने कोरोनाका कारण केरुङमा रोकिएको र ल्याउने प्रक्रिया भइरहेको छ ।

      निर्माणका क्रममा बाहिरी भागमा केही असहज भए पनि भूमिगत संरचना भएका कारण वातावरणीय हिसाबले रसुवागढी जलविद्युत् आयोजना दिगो र भरपर्दाे हुने वातावरणविद् तेज साउथले बताए । निर्माणमा ३० जना प्राविधिक एवम् चार सय ३० मजदुर कार्यरत छन् । तीमध्ये ७० जना चिनियाँ नागरिक रहेको आयोजनाले जानकारी दिएको छ ।