बीस वर्षपछि नुवाकोट काङ्ग्रेसको भवन उद्घाटन चुनावको तयारीमा लाग्न देउवाको निर्देशन

  • त्रिशूली प्रवाह
  • १३ फाल्गुन २०७७, बिहीबार १५:२८

विदुर, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै समय आगामी वैशाख १७ र २७ गते निर्वाचन हुने भएकाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले चुनावबाट अहिलेका प्रधानमन्त्री भाग्न नसक्ने भएकाले चुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

      प्रजातन्त्र दिवसको अवसरमा नुवाकोटमा आयोजित बिपी स्मृति भवनको उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले भने, ‘गिरिजाप्रसाद प्रधानमन्त्री भएका बेला पनि चुनाव हुँदैन भन्नेको ठूलो जमात थियो, त्यति बेला पनि चुनाव भएकै हो । अहिले पनि प्रचण्ड चुनावबाट भाग्नका लागि चुनाव हुँदैन भनिरहेका छन्,’ देउवाले भने, ‘चुनाव हुन्छ, तयारीमा लाग्नुहोस् ।’ अदालत न्यायालयको मूर्ति भएकाले उसलाई स्वतन्त्र छाडिदिनुपर्ने बताउँदै संविधानका बारेमा सबैले आफ्नो धारणा राखे पनि कानुनको व्याख्या गर्ने काम अदालतको मात्रै भएकाले अदालतले जे भन्छ, त्यसलाई सबैले स्विकार्नुपर्ने देउवाको भनाइ थियो । उनले भने, ‘कुनै बेला आफूले कम्युनिस्ट पार्टीको शासन आएपछि रुन पनि पाउने छैन भनेको स्मरण गर्दै अहिले कम्युनिस्टको शासनमा बोल्न नदिएको बताए । अहिले उनीहरूले कसैलाई बोल्न दिएका छैनन्, मैले भनेको कुरा मिलिरहेको छ ।’

      नेपालमा कम्युनिस्ट प्रवृत्तिविरुद्ध बोल्ने पार्टी काङ्ग्रेस मात्रै भएको दाबी गर्दै सभापति देउवाले प्रचण्ड र ओलीको खिलापमा बोल्ने पार्टी नै नेपाली काङ्ग्रेस भएकाले उनीहरूको कर्तुतबारे गाउँगाउँमा प्रचार गर्न कार्यकर्तालाई आग्रह गरे । निर्वाचनमा काङ्ग्रेसलाई हराउने काङ्ग्रेस नै भएको बताउँदै देउवाले कार्यकर्तालाई एकजुट भएर चुनावी तयारी गर्न आग्रह गरे । विगतको स्मरण गर्दै देउवाले भने, ‘चुनावका बेला सबैले टिकट पाउँदैनन्, टिकट नपाउनेले चुनाव असहयोग गर्दा हामीले हारेका हौँ ।’ बोल्ने क्रममा अधिकांश समय प्रचण्डमाथि खनिएका सभापति देउवाले ओलीले गरेको कदमबारे एक शब्द पनि बोलेनन् । सो कार्यक्रममा नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य गगन थापालगायतले पुस ५ गतेको कदम असंवैधानिक र संविधानमाथिको प्रहार भएको धारणा राखेका थिए । उक्त कार्यक्रममा पूर्वमहामन्त्री सिंहले पुस ५ गतेको घटनाले नेपालका कम्युनिस्ट सत्ता सञ्चालनमा असफल भएको प्रमाणित गरेको बताए । प्रधानमन्त्री आफैँले यो राजनीतिक निर्णय गरेको हो भनेर स्विकारेका छन् । सिंहले थपे-संविधानमा नभएको अधिकार प्रधानमन्त्रीलाई कहाँबाट आयो ? शान्ति प्रक्रियाको नेतृत्व नेपाली काङ्ग्रेसले गरे पनि संविधान लेखनको जिम्मा कम्युनिस्टलाई दिए तापनि उनीहरूबाट संविधान नलेखिएपछि दोस्रोपटक नेपाली काङ्ग्रेसबाट मात्रै संविधान लेख्ने काम पूरा भएको बताए । संविधानको पालना गर्ने सवालमा कम्युनिस्ट चुकेका नेता सिंहले बताए ।

      कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले श्री ३ मोहनशमशेर र प्रधान ओली एकै भएको स्मरण गर्दै ओलीले देशमा तानाशाह लाद्न थालेको बताए । प्रधानमन्त्रीले पुस ५ गते चलेको कदम संसद् विघटन नभई संविधान विघटन भएको बताए । ‘आज खड्गप्रसाद ओलीले बोलेको बोली कानुन बन्न थालेको छ,’ थापाले भने, ‘यो हाम्रा लागि राम्रो सङ्केत होइन । अदालतमा भइरहेको छलफललाई तमासाको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले सडकबाट संसद् पुनस्र्थापना एक, दुई र तीन हुँदैन भन्दै आएको बताए । ओलीलाई सनक चढ्यो, संसद् चट्, यस्तो पनि कहीँ हुन्छ ?’ नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीको सभापतित्व र सचिव सुरेन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्रीद्वय डा. रामशरण महत, अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ, नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, धादिङका सभापति रमेश धमला, रसुवाका सभापति पेम्बा छिरिङ तामाङ, काठमाडौंका सबुज बानियाँलगायतले मुलुकमा निम्तिएको सङ्कटलाई निराकरण गर्नेतर्फ वर्तमान सरकारको ध्यान आकषंण हुनुपर्नेमा झनै राजनीतिक सङ्कट निम्त्याएको बताएका थिए ।

      नेपाली काङ्ग्रेस नुवाकोटलाई कृष्ण लामाले २०५८ सालमा विदुरमा जग्गा खरिद गरेर पार्टी कार्यालयको भवन बनाउन दिएका थिए । ०५८ सालमा नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको भवन २० वर्षपछि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेका हुन् । शिलान्यास गराउने र उद्घाटन गराउने अवसर नेपाली काङ्ग्रेस नुवाकोटको सभापति जगदीश्वरनरसिंह केसीले पाएका छन् । काङ्ग्रेसको भवन निर्माण गर्ने तत्कालीन निर्माण व्यवसायी रामकृष्ण राजभण्डारीले त्यसबेलाको झन्डै तीन लाख रुपैयाँ अहिलेसम्म भुक्तानी नपाएको गुनासो गरिरहेका छन् । उनको भुक्तानी दिन बाँकी भने माइन्युटमा उल्लेख गरिएको छ । भुक्तानी नदिए पनि सम्मान गर्छ कि भन्ने आस थियो, शुक्रबारबाट त्यो पनि हराएको राजभण्डारीले गुनासो गर्दै शोषक नेतृत्वले राम्रो नहुने भन्दै भाषण सुनिरहेका थिए ।

     सो कार्यक्रममा केन्द्रीय सदस्य बहादुरसिंह लामाले नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतलाई नुवाकोट काङ्ग्रेसले निषेध गरेकोमा आपत्ति जनाएका थिए । कार्यक्रममा सभापति केसीले केन्द्रीय सदस्य लामाको जिज्ञासालाई घुमाउरो पारामा भूगोलमा राजनीति गर्ने र केन्द्रीय नेतालाई मात्र निमन्त्रणा गरेको बताउँदै डा. महतले जिल्लामा सङ्गठन बनाउनेभन्दा पनि भएको सङ्गठन ध्वस्त पार्न गुट निर्माण मात्र गरेको र गत स्थानीय निर्वाचनमा टिकट वितरणमा समस्या सिर्जना गरेको स्पष्ट पारेका थिए ।