मनकारी “मिरा’’ सम्मानित

  • त्रिशूली प्रवाह
  • १३ फाल्गुन २०७७, बिहीबार १५:५४

बेत्रावती, रसुवा जिल्लाको साबिक लहरेपौंवा गाबिस वडा नं.-१ बेत्रावतीबजारमा जन्मिएकी हाल बेल्जियममा स्थायी रूपमा बसोबास गर्ने मिरा डंगोलले उत्तरगया क्षेत्रको धार्मिक, सामाजिक कार्यमा सहयोग गर्दै आएकी छिन् । उनको सामाजिक कार्यको उच्च योगदानको कदर स्वरुप उनले अध्ययन गरेको विद्यालयले सोमबार माईतीगाउँ बेत्रावतीमा सम्मान गरेको छ ।

      आफ्नो जन्मथलोलाई सधैं माया गरी बेत्रावतीको विकास अभियानमा अग्रसर रहेकी मिराले बेत्रावतीको पुरानो झोलुंगे पुल निर्माणदेखि राममन्दिर पाटी निर्माण, मरणघाट जाने सिढीबाटो मर्मत सम्भार, सरस्वती तथा देविस्थान जाने बाटो निर्माण तथा मन्दिर परिसर, स्कुल विद्यालय, २०७० को ज्ञान महायज्ञ कार्यक्रम, २०७२ को भूकम्प पिडित तथा पैरेवेंशीका पहिरो पिडितको लागि आर्थिक रकम सहयोग गरिरहेकी छिन् । बेल्जियममा बसेपनि उनको मन नेपालमा रहेकोले उनले देशको विभिन्न स्थानमा रहेको विद्यालय, क्लब, संघ-संस्था, बृद्धाश्रम, विभिन्न कार्यक्रम तथा समुदायमा समाजसेवीको रुपमा सहयोगीको पहिँचान बनाएकी छिन् ।

      २००७ सालमा स्थापित रसुवा जिल्लाको पहिलो सामुदायिक विद्यालय निलकण्ठ माध्यामिक विद्यालयले समाजसेवी मिराको सामाजिक कार्यको उच्च योगदानको कदर स्वरुप सोमबार सम्मान गरेको छ । एस.एल.सि.सम्मको अध्ययन मिराले निलकण्ठ मा.वि.मा गरेकी थिईन् । उनले २०४६ सालमा एसएलसी उत्कृष्ट अंकका साथ उत्तिर्ण गरेकी थिईन् । सम्मान कार्यक्रममा विद्यालयका प्र.अ. गोबिन्दप्रसाद रिमालले नेपाल सरकार, शिक्षा मन्त्रालय तथा विभागको कोटामा यो विद्यालय पनि नमुना विद्यालयमा परेको छ, त्यसको लागि विविध पुर्वाधारको आवश्यकता परेकोले यस विद्यालयका पूर्व विद्यार्थीसँग आर्थिक सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो । रकम संकलन गरेर नमुना बिद्यालयको लागि जग्गा खरिद गर्न १ करोड लाग्ने अनुमान गरिएकोले सहयोगी दाता खोजिरहेको प्र.अ.रिमालले बताउनु भयो ।

       विद्यालयको यो अभियानलाई समाजसेवी मिराले नगद एक लाख रुपैयाँ प्रधानाध्यापकलाई हस्तान्तरण गरिन् । यो अभियानमा पहिलो ब्यक्ति नै समाजसेवी पुर्व विद्यार्थी मिरा डंगोलको हातबाट कार्यक्रमको शुभारम्भ भएको शिक्षक गणेश श्रेष्ठले बताए । सहयोगी विद्यार्थीदाताको नाममा स्मारक समेत बनाईने र शिलालेखमा नामावली बिवरण राखिने ब्यवस्थापन समितिका अध्यक्ष ॐ आचार्यले बताउनु भयो । आफुले अहिलेसम्म माइतीघर बेत्रावतिको भलाईको लागि आफुले सकेको योगदान गर्दै आईरहेकोमा अबका दिनमा पनि सहयोग पु¥याउने र बिद्यालयको यो पुण्य काममा आफ्नो पुराना सहपाठीलाई पनि सहभागीता जनाई, हातमा हात मिलाएर सहयोग गर्ने प्रतिबद्धता उनले जनाएकी छिन् । सो कार्यक्रममा उतरगया गाउँपालिका वडा नं.-५ का अध्यक्ष ईश्वर थापा, स्थानीय समाजसेवी शान्ती अधिकारीलगायत अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय बुद्धिजिवीको सहभागिता थियो ।