भूमि समाधान आयोगको कार्यालय उद्घाटन

  • त्रिशूली प्रवाह
  • २० फाल्गुन २०७७, बिहीबार १५:३९

विदुर, भूमिसम्बन्धी समस्या समाधान गर्न बनेको भूमि समस्या समाधान आयोगको जिल्ला समिति कार्यालय नुवाकोटको शुक्रबार उद्घाटन भएको छ ।

      भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जिल्ला समितिको कार्यालय उद्घाटन गर्दै जिल्ला समितिका पदाधिकारी र स्थानीय तहलाई जग्गाविहीनको पक्षमा निष्पक्ष रूपमा काम गर्न निर्देशन दिएका छन् । सो कार्यक्रममा अध्यक्ष ज्ञवालीले वास्तविक जग्गाविहीनको पहिचान गरी काम गरेर पुण्य कमाउनसमेत आग्रह गरेका छन् । ‘भूमिसम्बन्धी समस्या धेरै रहेको छ । गुजुल्टिएको समस्याको बीचमा सतर्कतापूर्वक काम गर्न हामी पनि त्यसमै गुजुल्टिएर सकिनेछौँ,’ अध्यक्ष ज्ञवालीले भने, ‘समस्यासँग भागेर होइन जुधेर काम गर्नुपर्छ । हामीले अहिले एउटा प्रणाली नै विकास गरेकोले कसैलाई दबाब र करकापमा परेर जग्गा वितरण गर्नुपर्ने बाध्यता आइलाग्ने छैन ।’

       राजनीतिक परिवर्तनको कारणले आयोगका जिल्ला समितिमा अलमल भएको देखिएको पाइएको उल्लेख गर्दै अध्यक्ष ज्ञवालीले सरकारले कानुन बनाएर स्थापना गरेको आयोग भएकाले यसका कुनै परिवर्तन नहुने र अलमलमा रहन नपर्ने स्पष्ट पारे । उनले जिल्लामा स्थानीय प्रशासन, नापी कार्यालय, मालपोत कार्यालय, वन कार्यालय, स्थानीय तहसँग सहकार्य गरेर वास्तविक भूमिहीन, भूमि भएर भूमिहीन भएकाको विवरण सङ्कलन गरी पुर्जा वितरणको वातावरण बनाउन आग्रह गरे । अध्यक्ष ज्ञवालीले जग्गा पहिचान गराएर लगत कट्टा गरेर नक्सा बनाएर मात्र पुर्जा वितरण गरिनेसमेत बताए । देशभरका सात सय ५३ स्थानीय तहमध्ये अहिलेसम्म चार सय ५६ पालिकासँग सम्झौता भइसकेको जानकारी दिँदै लगत सङ्कलनपछि स्थानीय तहले गरेको सिफारिसको आधारमा आयोगले वास्तविक सुकुम्बासीको सूचीकृत गर्दै लालपुर्जा वितरण गर्ने उनले बताए ।

      भूमिसम्बन्धी वर्षौँसम्म जमिनको हकबाट वञ्चित भएका नागरिकको लागि इमानदार भएर उनीहरूलाई जग्गाको मालिक बनाउन सकेमा ठूलो पुण्य मिल्ने भएकाले अहिले प्राप्त जिम्मेवारीलाई असल रूपमा पूरा गरेमा धर्म र गलत गरे अख्तियारको फन्दामा पर्न सकने सुझाब उनले दिए । कार्यालय उद्घाटनमा भूमिसम्बन्धी समस्या समाधान आयोग नुवाकोटका अध्यक्ष बिन्दा ढुङ्गानाले स्थानीय तहले सम्झौता गरेसँगै लगत सङ्कलनको कामको अनुगमन निरन्तर गर्दै भूमिहीन तथा सुकुम्बासीको वास्तविक समस्यालाई समाधान गर्न आयोग प्रतिबद्ध रहने बताइन् । आयोगको योजनाअनुसारका काम सम्पन्न गर्न वडास्तरदेखि नै सबै जिम्मेवार भएमा सबै पक्षको सहकार्यमा भूमिहीनको माग सम्बोधन गर्न सकिने नुवाकोटका अध्यक्ष ढुङ्गानाले बताइन् ।

     भूमिसम्बन्धी समस्या समाधान आयोगको नुवाकोटमा कार्यालय उद्घाटन समारोहमा बागमती प्रदेश सभाका प्रमुख सचेतक केशव पाण्डे, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल, तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे, तारकेश्वर गाउँपालिकाको अध्यक्ष रमेशबहादुर वस्तीलगायतको सहभागिता रहेको थियो । नुवाकोटको १२ वटा पालिकामध्ये १० वटा पालिकाले भूमिसम्बन्धी समस्या समाधान आयोगसँग सम्झौता गरिसकेका छन् ।

     आयोगसँग विदुर नगरपालिका र पञ्चकन्या गाउँपालिकाले सम्झौता गर्न बाँकी रहेको छ । नुवाकोटमा आयोगको विज्ञ सदस्यमा बलराम आचार्य र सदस्यमा नारायण घिमिरे रहेका छन् । आयोगको कार्यालय जिल्ला समन्वय समितिमा राखिएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगको रसुवाको कार्यालय गत हप्ता उद्घाटन भएको छ । रसुवाको आयोगको अध्यक्षमा शम्भु गुरुङ, विज्ञ सदस्यमा सुस्मा न्यौपाने र सदस्यमा विष्णु पौडेल रहेका छन् । आयोगको धादिङ कार्यालय दुई हप्ताअगाडि नै उद्घाटन भइसकेको छ ।