अर्गानिक चिजको खपत कम
- सरस्वती न्यौपाने
धुन्चे, रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा चौंरीगाईको दूधबाट उत्पादित चिजको खपतमा यस वर्ष कमी भएको छ । कोभिड– १९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिक मार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौंरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यून रूपले खपत भएका कारण उत्पादनमा समेत प्रभाव परेको छ ।
चन्दनबारी चिज उत्पादन केन्द्र प्रमुख छत्रबहादुर तामाङका अनुसार गत वर्षको तुलनामा यस वर्षको उत्पादन ५० प्रतिशतले कमी भएको छ । गत वर्ष ११ हजार केजी चिज तथा चार हजार केजी मखन उत्पादन भएकामा यस वर्ष ६ हजार पाँच सय केजी चिज एवम् दुई हजार दुई सय केजी मखन मात्र उत्पादन भएको छ । यस वर्ष उत्पादित चिज तथा मखन काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको केन्द्रीय भण्डारणमा पठाइसकिएको केन्द्र प्रमुख तामाङले जानकारी दिएका छन् । पहिला-पहिला आम्दानी गर्ने कुनै स्रोत नहुँदा दूध बिक्रीबाट आम्दानी गराई ग्रामीण गरिबी न्यूनीकरणमा मद्दत पु¥याउने उद्देश्यले ०२७ मा स्थापित चन्दनबारी चिज उत्पादन केन्द्रले धेरै किसानलाई आय–आर्जनमा टेवा पु¥याइरहेको रसुवाका वरिष्ठ समाजसेवी दाबाफिन्जो तामाङले बताए ।
नेपालकै जेठो मानिएको वि.सं. २००९ मा स्थापित लाङटाङस्थित क्याङ्जेन तथा पछिल्लो समय ६-७ वर्ष पहिला स्थापना भएको धुन्चेलेक र गत्लाङ चिज केन्द्रले पनि उत्पादनमा ५० प्रतिशतले घटाएको सम्बन्धित केन्द्र प्रमुखले जानकारी दिएका छन् । वार्षिक ५० हजार केजीको हाराहारीमा उत्पादन हुने चिज कोरोनाको असरकै कारण केन्द्रीय आदेशमा उत्पादन घटाइएको रसुवामा कार्यरत केन्द्र प्रमुखहरूले बताएका छन् । प्रतिकेजी एक हजार ६ सय कायम भएको चिजको बिक्री मूल्य दुई सय घटाई हाल एक हजार चार सय कायम गरिएको छ । चौंरीपालक कृषकको सङ्ख्या करिब पाँच सयको हाराहारीमा रहेका छन् । लेकाली चिसो हावापानी जङ्गलको चरन क्षेत्रमा चरेर बसेका चौंरीगाईको शुद्ध दूधबाट बनेको ‘अर्गानिक’ चिज मिठो र पोषणयुक्त हुने चिकित्सकले बताएका छन् । चिज उत्पादनको समय वैशाखदेखि कात्तिक १५ गतेसम्म रहेको छ ।