हाम्रा कुरा : नेकपा जुट्नुको विकल्प छैन

 

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको कदमलाई सर्वोच्च अदालत खारेज गर्दै पुनस्र्थापनाको फैसला सुनाएपछि नेपालको राजनीति नयाँ कोर्समा प्रवेश गरेको छ ।

      प्रतिनिधिसभा विघटनको मुद्दा सल्टिए पनि मुलुक तुरुन्तै स्थिरताको दिशामा जान सक्ने अवस्था देखिएको छैन । अदालतले संसद् बोलाउन दिन नै तोकेर आदेश दिएपछि राजनीतिक दलका नेताको बैठक र भेटघाटले मुलुक पुनः राजनीतिक खिचातानी र विवादको भुमरीमा फसेको देखिन्छ । धेरैले सोचेजस्तो सरल र सहज ढङ्गबाट मुलुकले नयाँ सरकार पाउने अवस्था देखिँदैन । नयाँ सरकार गठन गर्न अनेकन बाधा र संवैधानिक एवम् कानुनी जटिलता दखिएको छ । केही संवैधानिक र प्राविधिक जटिलताले नेपाली राजनीतिमा अझै पनि भुमरी रहेको प्रस्ट गर्छ ।

     विघटित संसद् पुनस्र्थापना हुने भएपछि अबको नेपालको राजनीतिक परिदृश्यमा बन्ने सरकार नेकपाकै हुन्छ वा अरू कुनै दलको भनेर चर्चा भइरहेको छ । चर्चामा सत्ताधारी नेकपाका दुई समूह र प्रतिपक्षमा रहेको नेपाली काङ्ग्रेस आएको छ । नेकपाको दाहाल–नेपाल समूह ओली सरकारको विकल्प खोज्ने गरी अघि बढे पनि पार्टीको कानुनी अड्चनका कारण त्यो त्यति सहज भने छैन । त्यसैले अब बन्ने सरकार कसको बन्छ भन्नेमा टुङ्गो लागिसकेको छैन । त्यसका लागि पनि लामो संसदीय प्रक्रिया पार गर्नुपर्ने देखिन्छ । वर्तमान सरकार रहिरहन पनि सक्छ र नरहन पनि सक्छ । यस कुराको फैसला अधिवेशनका लागि बोलाइएको संसद्भित्र अविश्वासको प्रस्ताव राखिन्छ वा राखिँदैन भन्नेसँग सम्बन्धित छ । सत्ताधारी पार्टी आफैँले निर्णय गरेर अधिवेशनभन्दा अघि नै पनि यो कुराको टुङ्गो लगाउन सक्छ । बहुमत प्राप्त गरेको हैसियतले उसलाई अझै यो सुविधा छ । जनताले नेकपालाई पाँच वर्षको जनादेश दिएकाले नेकपाभन्दा इतर शक्तिको सरकार खोज्नु जनादेशको अपनाम हो । त्यसैले सत्तारूढ दल नेकपा अझै पनि मिल्नुपर्छ, मिल्नुको विकल्प छैन । आफू–आफू झगडा गरेर सत्ताको चाबी अन्य कुनै दललाई सुम्पिने स्थिति आयो भने इतिहासमा नेकपाका लागि त्योभन्दा ठूलो भूल अरू केही हुनेछैन र आगामी दिनमा जनतासमक्ष निर्वाचनमा जान सक्ने अवस्था रहँदैन ।

      नेकपाले पाँच वर्षका लागि जनताको जनादेश प्राप्त गरेको छ । यो जनादेशमाथि हाल भए–गरेका राजनीतिक क्रियाकलापले पूर्ण ध्वस्त नै हुने गरी असर पारेको छैन । राजनीति हो, त्यसैले मिलेर जाँदा आकाश खस्ने र धर्ती भासिएर जाने पनि देखिँदैन । जनता अझै नेकपाको पक्षमा छन् । जनताका लागि यो स्विकार्य पनि छ । जनताले हाँसीहाँसी पचाउँछन् । जनताको म्यान्डेटको सम्मान गर्न नेताले जान्नुपर्छ, यो गरे जनता खुसी हुन्छन् । पार्टी विधानतः फुटेको छैन । निर्वाचन आयोगले पनि यसलाई फुटेको मान्यता दिएको छैन । बरु पार्टी ठूलो भएकाले एकतालाई कायम राख्न युवालाई नेतृत्वमा ल्याउने गरी विकल्प खोज्न पनि नेताहरू लाग्नुपर्छ । नेपाली राजनीतिको यो एउटा नौलो प्रयोग नै हुनेछ । नेताका तिक्तता आफ्ना ठाउँमा होलान् । कार्यकर्ता र जनता एकताको पक्षमा छन् । यो कुराको समय छँदै बोध हुनु जरुरी छ । मानिसलाई पछुताउन पनि समय चाहिन्छ । समय छँदै सोच पुगोस् नेकपाका नेताको ।

     अर्को कुरा, ‘घर फुटे गवार लुटे’को स्थिति पैदा हुन नदिन नेताले सोच्नुपर्छ, सच्चिनुपर्छ । सायद सामान्य जनता र नेता हुनुमा चाहिने आवश्यक तात्विक अन्तर भनेको यही कुरा हो । यसको बोधले नेपाल, नेपाली, राष्ट्रियता र जनताका अपेक्षाको सम्बोधन हुन सक्छ । राजनीतिमा थकाइ पनि हुँदैन र दुस्मनी पनि । तर, अन्तिमपटक नेकपाका नेतामा मित्रता देखियोस् र अविराम देश र जनताका सेवामा नेकपा जुटोस्, यो जनताको जनादेशबाट अभिव्यक्त जनमत पनि हो । जनादेशअनुसार जुटेर अघि बढ्न नेतामा सद्बुद्धि पलाओस् । कम्युनिस्टका नेताबीच विगतमा पनि आत्मालोचना गरेर जुट्दै यो अवस्थामा आएको इतिहास साक्षी छ ।