अर्किड जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा बट्टार डोजाङ प्रथम

बट्टार, नुवाकोट जिल्लास्तरीय अर्किड तेक्वान्दो प्रतियोगिता ०७७ आइतबार सम्पन्न भएको छ । उक्त प्रतियोगितामा चार स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जितेर बट्टार डोजाङ प्रथम भएको थियो ।

     प्रतियोगितामा जिल्लाका २४ टिमले भाग लिएका थिए । विभिन्न तौल समूहमा महिला र पुरुष गरी तीन सय खेलाडी सहभागी रहेको प्रतियोगितामा तीन स्वर्ण, तीन रजत र एक कांस्य पदक जितेर मंगलादेवी मावि टिम द्वित्तीय र दुई स्वर्ण र दुई रजत जितेर आयोजक टिम अर्किड एकेडेमी टिम बट्टार तृतीय भएको प्रतियोगिता संयोजक शर्मिला श्रेष्ठले जानकारी दिएकी छिन् । शनिबार सुरु भई आइतबार सम्पन्न उक्त प्रतियोगितामा जुनियर पुरुषमा उत्कृष्ट खेलाडी गणेश सूर्य विद्यालयका समीर नेपाली र उत्कृष्ट महिला खेलाडीमा एलिना श्रेष्ठ अर्किड एकेडेमी, सिनियर पुरुषतर्फ उत्कृष्ट खेलाडी मंगलादेवी माविका रविन तामाङ र महिलातर्फको उत्कृष्ट खेलाडी सुस्मिता तामाङ मंगलादेवी माविकै भएका थिए ।

     प्रतियोगितामा विजयी खेलाडीलाई विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले प्रमाणपत्र, पदक प्रदान गरेका थिए । आयोजक अर्किड एकेडेमीका प्रिन्सिपल रामहरि रिमालको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमका प्रमुख अतिथि मेयर पण्डितले खेल क्षेत्रको विकास र विस्तारमा विदुर नगरपालिकाले विशेष सहयोग गरिरहेको बताए । नगरका १३ वटै वडामा खेलमैदान बनाउने कार्य अगाडि बढिसकेको उनले जानकारी दिए । नुवाकोट तेक्वान्दो सङ्घको मातहतमा रहेको बहुउद्देश्यीय कभर्डहलमा साउन्ड सिस्टम जडान गर्न सहयोग गर्ने सो कार्यक्रममा उनले प्रतिबद्धता जनाएका छन् । जिल्लाबाट गत वर्ष सम्पन्न सार्क खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका नगरपालिकाभित्रका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान चैतभित्र गर्ने उनले बताए ।