रसुवा र नुवाकोटको प्रजिअ सरुवा

विदुर, गृहमन्त्रीस्तरीय गत शुक्रबारको निर्णयले नुवाकोट र रसुवाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । नुवाकोटका प्रजिअ झंकनाथ ढकाल र रसुवाका प्रजिअ हरिप्रसाद पन्थ एक वर्ष नपुग्दै सरुवा भएका छन् ।

मन्त्रीस्तरीय निर्णयले नुवाकोट, रसुवा र धादिङसहित ३६ जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । गृह मन्त्रालयले सहसचिव, उपसचिव गरी ५२ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको थियो । गत असार २५ गतेदेखि नुवाकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका ढकालको काजमा अध्यागमन विभागको निर्देशकमा सरुवा भएको छ । नुवाकोटको प्रजिअको जिम्मेवारी समाल्न मन्त्रालयले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कार्यरत उपसचिव जीवनप्रसाद दुलाललाई सरुवा गरेको थियो । उपसचिव दुलालले बुधबार नै नुवाकोट आएर पदवहाली गरेका छन् ।  रसुवाको प्रजिअ हरिप्रसाद पन्थको नौ महिना पुगेकै दिन सरुवा भएको छ । प्रजिअ पन्थले गत असार १४ गतेदेखि रसुवाको प्रजिअको जिम्मेवारी सम्हालेका थिए । गृह मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद ढकाल रसुवाको प्रजिअमा सरुवा भएका थिए । उनले सोमबार नै रसुवाको प्रजिअमा पदवहाली गरेका छन् । रसुवाको प्रजिअ पन्थको गृह मन्त्रालयमा सरुवा भएको छ ।

      नुवाकोटको प्रजिअको जिम्मेवारी सम्हालेका ढकालले झन्डै आठ महिनाको अवधिमा जिल्लाको बेथिति–विसङ्गतिलाई सुधार गर्दै नागरिकको अधिकार स्थापित गराउन तथा नागरिकमैत्री प्रशासन सञ्चालन गराउन सफल भएका थिए । उनले गरेको कार्यले गर्दा जिल्लावासीको मन–मस्तिष्कमा बसिरहनेछन् । उनको जनमुखी र नागरिकमैत्री कार्य भुल्न नुवाकोटवासीले नसक्ने नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।
प्रजिअ रहँदा ढकालले सुरु गरेको कार्यलाई अब आउने सिडिओले काट्न र हटाउन नसक्ने नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटाले बताए । प्रजिअ ढकाललाई कर्मचारी मिलन केन्द्र, जिल्ला प्रशासन कार्यालय, त्रिशूली अस्पताल, नुवाकोट उद्योग वाणिज्य सङ्घलगायत जिल्लाका दुई दर्जनभन्दा बढी सरकारी–गैरसरकारी सङ्घसंस्थाले सम्मान र बिदाइ गरेका छन् । जिल्लामा प्रजिअ ढकाल मोडल र सफल प्रशासकको छवि बनाएर पबदा भएका छन् ।