बेलकोटगढी नगरपालिकाले २६ रोपनी जग्गा पायो
बाघखोर, नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले कार्यालय भवन बनाउन केन्द्रिय सरकारबाट करिव २६ रोपनी जग्गा प्राप्त गरेको छ ।
फागुन १४ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार बेलकोटगढी नगरपालिका वडा नम्बर–८ बाघखोरस्थित नेपाल सरकारको नाममा रहेको २५ रोपनी १२ आना १ दाम जग्गा नगरपालिकाको नाममा कायम गर्ने गरी निर्णय भएको छ । उक्त जग्गामा नगरपालिकाको कार्यालय प्रयोजनको लागि धेरैवटा भवन बनाउने तयारी भईरहेको नगर प्रमुख राजेन्द्ररमण खनालले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो । नगर प्रमुख खनालले केन्द्रिय सरकारबाट प्राप्त करिव २६ रोपनी जग्गामा नगरपालिकाको कार्यपालिका कार्यालय, सुरक्षा निकायको कार्यालय, कृषि कार्यालय, स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, वर्कशपलगायतका भवन बनाउने तयारी रहेको बताउनुभयो । यस परियोजनाको डिपीआर बनिरहेको र नगर प्रमुखको कार्यकालमा कम्तीमा ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्यका साथ कार्य अगाडी बढिरहेको समेत उहाँले बताउनु भयो ।
स्थानीयतहमा निर्वाचित जनप्रतिनिधीको कार्यकाल १५ महिना मात्र बाँकी रहेकोले यस अवधिमा डिपीआर तयार गर्ने, ठेक्का लगाउने र निर्माणको कार्य आधा–आधी सक्ने योजना रहेको प्रमुख खनालले बताउनुभयो । नगर प्रमुख खनालले कार्यालयको भवन निर्माणका लागि मन्त्रीपरिषद्को बैठकबाट जग्गा प्राप्तीको विषय सम्बोधन भएको भन्दै कृतज्ञता ब्यक्त गर्नुभएको छ । प्रमुख खनालले हस्ताक्षरित पत्रमा जग्गा प्राप्तीसँगै भवन निर्माणको प्रक्रिया यथाशिघ्र अगाडी बढाईने उल्लेख गरिएको छ । केन्द्रिय सरकार, प्रदेश सरकार र नगरपालिकाको आन्तरिक स्रोत गरी कुल २५ करोडमा भवन निर्माण गरिने नगरपालिकाका योजना रहेको छ ।