दश करोडको लगानीमा बट्टारमा बिमार्ट सञ्चालन

विदुर, नुवाकोट जिल्लाको घनावस्ती र अति ब्यस्त बट्टारको बसपार्कमा बिमार्ट गत बिहीबार फागुन २० गतेदेखि सञ्चालन भएको छ । १० करोडको लगानीमा सञ्चालन भएको बिमार्टको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्षले गर्नुहुँदै जिल्लामा आवश्यक सामाग्री एउटै थलोबाट उपलब्ध हुँदा नगरबासीलाई समयको बचत भएको बताउनु भयो । बिमार्ट सञ्चालनले जिल्लाकै हैसियत बढाएको उहाँले बताउनु भयो ।

      बिमार्ट प्रा.लि.ले सञ्चालन गरेको मार्टमा डिजिटल भुक्तानी समेतको सुविधा ब्यवस्था गरिएको छ जसले गर्दा ग्राहकले डेबिट तथा भिसा कार्डमार्फत सामान भुक्तानीको बिल तिर्न सकिने बताईएको छ, प्रा.लि.का २७ जना मध्ये ७ जनाको सञ्चालक समिति रहेको छ । बिमार्ट सञ्चालनको लागि भिमबहादुर तामाङ अध्यक्ष रहेको सञ्चालक समिति बनेको छ । समितिको प्रबन्धक सञ्चालकमा विष्णुबहादुर तामाङ र सदस्यमा प्रेमलाल श्रेष्ठ, भिमसेन तामाङ, बाबर समशेर तामाङ, सुमन राउत, मानबहादुर गुरूङ, होमबहादुर तामाङ रहेका छन् । विदुर नगरपालिका वडा नं.४ को बट्टार बसपार्क नजिकै फागुन २० गतेदेखि बिमार्ट प्रा.लि.ले दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ । प्रा.लि.ले दुई वर्ष अगाडी विदुर नगरपालिका वडा नं.९ कोलनीको किम्ताङ टोलमा बिमार्टको पहिलो आउटलेट सञ्चालनमा ल्याएको थियो । बिहिबार बट्टारमा दोस्रो आउटलेट सञ्चालनमा आएको अवसरमा साँस्कृतिक कार्यक्रम समेत भएको छ । साँस्कृतिक कार्यक्रममा गायक प्रकाश सपुत, हास्य कलाकार गोपाल ढकाललगायतले सहभागीलाई भरपुर मनोरञ्जन गराएको थियो । उद्घाटनको अवसरमा सञ्चालक समितिका अध्यक्ष भीमबहादुर तामाङले १० करोडको लगानीमा बट्टारमा बिमार्ट सञ्चालन भएको बताउनु भयो । उद्घाटनको दिन २० लाखको सामान बिक्री भएको समेत उहाँले बताउनु भयो ।

      बिमार्टमा १२ हजार आईटमका सामान रहेको प्रबन्धक सञ्चालक विष्णुबहादुर तामाङले बताउनु भयो । स्वदेशी ४ हजार र विदेशी ८ हजार आईटमका खाद्यान्न, लत्ताकपडा, घरायसी उपभोगका सामाग्री, खेलकुद, स्टेशनरी, कस्मेटिक, लेडिज तथा जेन्सका विभिन्न ब्राण्डका तयारी पोषाक र फर्निचर फर्निसिङलगायतका सामान रहेको उहाँले बताउनु भयो । बिमार्टले उपभोक्ताको माग र रोजाईअनुसार वस्तु तथा उत्पादन बढाउँदै लैजाने समेत उहाँले बताउनु भयो । शुभारम्भको एक हप्तासम्म पाँच हजार भन्दा माथिका सामान खरिदमा एउटा विशेष कुपन प्राप्त गरी उक्त कुपनबाट भाग्यशाली ग्राहकले टिभीएसको स्कुटर पुरस्कार दिने जानकारी उद्घाटनको अवसरमा दिएको थियो । मार्टमा स्नुकर, पुल खेललगायत रेष्टुरेण्ट पनि छिट्टै सञ्चालनमा ल्याईने सञ्चालक समितिका सदस्य भिमसेन तामाङले जानकारी दिनुभएको छ । बजारकै मूल्यमा एकै छानामा सबै सामान पाउने भएकोले ग्राहकले छिटो समयमा आफुलाई आवश्यक सामान खरिद गर्न सक्ने छ । हरेक समानमा मूल्य टाँस भएकोले ग्राहकले आफ्नो बजेटअनुसार नै सामान खरिद गर्न सकिने उहाँले जानकारी दिनुभएको छ ।