रसुवागढी नाका सुचारू
टिमुरे, ल्होसारका कारण बन्द नेपाल–चीन ब्यापारिक नाका रसुवागढी सञ्चालनमा आएको छ ।
माघ २९ गतेदेखि बन्द नाका शुक्रबारबाट खुलेको रसुवा भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताउनुभएको छ । नेपाली ब्यवसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आएको भन्सार प्रमुख रेग्मीले जानकारी दिनुभएको छ । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीले गत बिहीबार नेपाल पक्षलाई गराएका थिए । भन्सार प्रशासन खुल्लै रहेपनि कामदार छुिट्टमा गएपछि २३ दिनदेखि नाकाको ब्यापार ठप्प बनेको थियो । नाका खुलाउनेबारे चिनियाँले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका ब्यापारी चिन्तित बनेका थिए ।
यो वर्ष कोभिड तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा धेरै पटक अवरोध भएको थियो । नेपाल र चीनबीच स्थलमार्ग भएर ब्यापार हुने दुईवटै नाका (रसुवागढी र तातोपानी) बाट अहिले पनि कोटा प्रणालीमा माल वस्तु आयात मात्रै हुने गरेको छ । चिनियाँ पक्षले दैनिक ४ कन्टेनर सामान नेपाली भन्सारमा पठाउने गरेका छन् ।